विदेश
एजेन्सी । दोस्रो विश्वयुद्धपछि सबैभन्दा अस्थिर मानिएको समयमा युरोपेली युनियनबाट बेलायत बाहिर निस्कनु हुन्न भन्ने पक्षकी टरिजा मेले बुधबार प्रधानमन्त्री भएकी छिन् ।
युरोपेली युनियन (ईयु)बाट बेलायत बाहिर निस्कने कि ननिस्कने भन्ने विषयमा विभाजित बेलायतको अवस्था आर्थिकरूपमा पनि अनिश्चित रहेका बेला प्रधानमन्त्री भएकी मेले बेलायतको संकट कसरी टार्लिन भन्ने अनुमान समाचार एजेन्सीहरूले गर्न थालेका छन् । अहिले उनका सामु विश्वमा बेलायतको नयाँ स्थान पहिल्याउन चुनौती पनि छ ।
मे बेलायत ईयुमै रहनुपर्छ भन्ने पक्षकी भए पनि जनमतको सम्मान गर्दै उनले ‘ब्रेक्जिट’को अर्थ ब्रेक्जिटै हो भनेर बहिगर्मन पक्षधरलाई आश्वस्त तुल्याएकी छन् । प्रधानमन्त्री मेका सामुका चुनौतीको विश्लेषण गर्दै समाचार संस्था सीएनएनले लेखेको छ : उनको पहिलो काम सरकार गठन गर्नु हो भने त्यसपछि उनले तुरुन्त तीनवटा काम गर्नुपर्छ । नत्र, उनले संकटको जोखिम उठाउनु पर्नेछ ।
सीएनएनका अनुसार ती तीन काम हुन् :
१. बहिर्गमन योजनामा ईयुसँग सहमति
ईयुका अधिकारी र व्यावसायिक जगतले मेले बेलायतको सबैभन्दा ठूलो व्यापार साझेदार युरोपसँग सम्भव भएसम्म चाँडो छुट्टिने रणनीति सार्वजनिक गरुन् भन्ने इच्छा व्यक्त गरेका छन् ।
कम्पनीहरूलाई भावी योजना बनाउन समय लाग्छ । भविष्यमा युरोपेली बजारमा बेलायतकोे पहुँचको विषय धेरै समय अनिश्चित भए लगानी स्थगित हुन र रोजगार सिर्जना ढिलो हुनसक्छ । त्यसले कम्पनीहरूको कार्यालय र कर्मचारीलाई पनि बेलायतबाट अन्यत्र सार्नुपर्ने हुनसक्छ ।
सीएनएनका अनुसार प्रधानमन्त्री मेका सामु ३ वटा विकल्प छन् ।
बेलायत नर्वेजस्ता केही गैरसदस्यलाई ईयुको बजारमा पुहँच दिनेजस्तै सन्धी गरेर युरोपेली बजारमा आबद्ध हुनसक्छ । तर यो राजनीतिकरूपमा लाभ दायक नहुन सक्छ । किनभने यसले बेलायतलाई आफ्नो सीमामाथिे पूर्ण नियन्त्रण कायम गर्न दिदैन । धेरै ब्रेक्जिटका समर्थकको मूल माग यो पनि हो ।
बेलायतले क्यानडा र अमेरिकाले ईयुसँग स्वतन्त्र व्यापारका लागि गरिरहेको प्रयास द्विपक्षीय सम्झौताका लागि छलफल गर्न सक्छ । यसको नराम्रो पक्ष भने यस्तो छलफल अत्यन्त जटिल हुन र वर्षौसम्म लम्मिन पनि सक्छ ।
तेस्रो बेलायत विश्व व्यापार संगठनको नियमअनुसार सञ्चालित हुने गरी ईयुसँग सम्बन्ध राख्न सक्छ । ब्राजिलजस्ता मुलुकहरू युरोपसँगको व्यापारमा यसै आधारमा हुँदैआएका छन् । यो विकल्पले व्यापारमा ठूलो अवरोध उत्पन्न हुने जोखिम भएकाले बेलायती अर्थतन्त्रको क्षतिको कारण बन्न सक्छ ।
२ मन्दी रोक्नु
हालसम्म बेलायती अर्थतन्त्र सुदृढ अवस्थामै छ । रोजगारी सिर्जना भइरहेको छ र वाह्य लगानी पनि तानिरहेको छ । ब्रेक्जिटका पक्षमा निर्णय भएपछि भने नाटकीय परिवर्तन आएको छ । उपभोक्ताको मनोबल तहसनहस भएको छ । केही दशक यताकै यो खराब अवस्थामा छ । बजार अनुसन्धान फर्म जीएफकेले गरेको सर्भेले आगामी १२ महिनाको अवधिमा आर्थिक अवस्था खराब भएर जाने अनुमान ६० प्रतिशत सहभागीले गरेको देखाएको छ ।
भविष्यको बारेमा व्यवसाय क्षेत्र पनि निराश छ । क्रेडिट स्वीसले गरेको कार्यकारीहरूबीच गरेको सर्भेमा आगामी ६ महिनामा ६६ प्रतिशत ठूला युरोपेली कम्पनीले लगानी ढिलो गर्ने वा कटौती गर्ने खुलासा भएको छ ।
यो वर्ष र आगामी वर्ष वृद्धिको प्रक्षेपण गरिएको छैन भने स्थिर अवस्था त निश्चितै छ र मन्दीको पनि सम्भावना छ ।
बैंक अफ इंग्ल्यान्डले यही साताभित्रै ब्याज दर कटौतीको निर्णय गर्ने सम्भावना छ र आगामी महिनामा थप प्रोत्साहन कार्यक्रम ल्याउन सक्छ । तर अत्यन्त सस्तो पैसा पनि गहन मन्दी रोक्न पर्याप्त होला जस्तो देखिँदैन ।
मेले सरकारले प्रोत्साहन कार्यक्रम ल्याउने सम्भावना व्यक्त गरेकी छन् । आगामी २०२० सम्म बचत हुने बजेट ल्याउने योजना त्यागेकी छन् । उनले केही खर्च कटौतीलाई पनि पर सार्न सक्नेछिन् र पूर्वाधार आयोजनामा लगानी गर्न थप कर्जा लिन सक्नेछिन् । तर यसका लागि उनलाई थोरै मात्र ठाउँ छ । बेलायत पहिले नै विकसित अर्थतन्त्रमध्ये ठूलो बजेट घाटा भएको मुलुक हो । औद्योगिक र विकसित अर्थतन्त्र भएका मुलुकमध्ये जापानको बजेट घाटामात्रै बेलायतको भन्दा बढी छ ।
३. लगानीकर्तालाई आश्वस्त पार्नु
मेले माथिका २ काम गर्न सकिन् भने तेस्रो कार्य सहज हुनेछ । बेलायत बजेट घाटालाई समेट्न र आयातमा गर्दै आएको कहाली लाग्दो खर्च पूरा गर्न आवश्यक कर्जाका लागि लगानीकर्तामा निर्भर रहँदै आएको छ । तर देशमा विदेशी पैसाको ओइरो लागि रहेको अवस्थामा यो समस्या होइन ।
ब्रेक्जिटको निर्णयपछि स्टर्लिङ पाउन्डको ठूलो अवमूल्यन भइसकेको छ । डलरको तुलनामा १२ प्रतिशतले अवमूल्यन भएको छ । यसले विदेशी लगानीकर्ताका लागि बेलायती सम्पत्ति सस्तो बनाएको छ र नगद भित्रिने प्रक्रियालाई सहयोग गरेको छ । यस्तो अवस्था आइसकेको प्रमाण पनि हामीसँग उपलव्ध छ । विदेशी खरिदकर्ताले यो साता मात्रै २ वटा विदेशी फर्म किनेका छन् ।
अझैपनि जोखिम टरेको छैन । लगानीकर्ता अझै बेलायती अर्थतन्त्रको भविष्यको बारेमा थप स्पष्ट खाका खोज्दैआएका छन् ।
विगत ६ वर्षसम्म बेलायतको ट्रेजरी चलाएका जर्ज ओसबर्न बेलायत व्यवसायका लागि अझै खुला भएको लगानीकर्तालाई आश्वस्त पार्न यसै साताा अमेरिका भ्रमण गएका छन् ।
वाल स्ट्रिट जर्नलमा उनले लेखेका छन्,“कर्पोरेट करलाई १५ प्रतिशतमा झार्ने तथा थप अन्तर्राष्ट्रिय व्यवसायलाई आकर्षित गर्न यसलाई कम गर्ने मेरो लक्ष्य छ ।” तर केही कम्पनीलाई उनीहरूको लगानीमा पुनर्विचार गर्न कर कटौतीमात्रै पर्याप्त हुनेछैन ।
ईयुको साझा बजारमा कामदारको स्वतन्त्र आवागमन र पहुँच प्रस्तावित न्यून करभन्दा बढी महत्वपूर्ण हुने क्रेडिट स्वीसका विश्लेषकले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७३ १९:५५
प्रतिक्रिया दिनुहोस्