
माेगादिसु । सोमाली सुरक्षा फौजले आइतबार साँझ राजधानी मोगादिसुमा लडाकुहरूले नियन्त्रणमा लिएको होटेलमाथि आफ्नो पूर्ण नियन्त्रण कायम गर्न २० घण्टाभन्दा लामो संघर्ष गरेको छ ।
उक्त दोहोरो भिडन्तमा आठजना सर्वसाधारणलगायत कम्तीमा १५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस आक्रमणको जिम्मेवारी अल–शवाव लडाकु समूहले लिएको छ । ती लडाकुहरूलाई भिल्ला रेज होटेलको एउटा कोठामा राखिएको छ । प्रत्यक्षदर्शीहरूले आफूहरूले होटेलमा विस्फोट र गोली चलेको आवाज सुनेको बीबीसीलाई बताएका छन् ।
प्रहरीले राष्ट्रपति भवन नजिकै रहेको यस होटेलबाट ६० जनालाई उद्धार गरिएको जनाएको छ । यस घटनामा मारिनेमा एक सैनिक र छ जना अल–शवाव लडाकु पनि रहेका छन् ।

‘भिल्ला रोज’को नामले पनि चिनिने यो होटेल सरकारी अधिकारीहरूमाझ लोकप्रिय छ ।
उद्धार गरिनेमा थुप्रै मन्त्रीहरू समेत रहेको बताइएको छ ।
कार्यकाल सम्हालेको तीन महिनापछि गत अगस्टमा राष्ट्रपति हसन शेख मोहमुदले इस्लामिक लडाकुविरुद्ध ‘पूर्ण युद्ध’को घोषणा गरेका थिए । मोगादिसुकै अर्को होटेलमा २० जनाभन्दा बढी मानिसको ज्यान जानेगरी लडाकुहरूले हमला गरेपछि सो घोषणा भएको हो । बीबीसीबाट