देश
मुस्ताङ, १५ कात्तिक । भूकम्पले जीर्ण बनेको मुस्ताङको लोमान्थाङ दरबारको पुनःनिर्माण गरिएको छ ।
भूकम्पका कारण दरबारको पूर्वतर्फको भाग चिरा परेको थियो । तलदेखि नै चिरा परेको दरबारलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रभावितको सूचीमा राखेर पुनःनिर्माणका लागि पुरातत्व विभागमा सिफारिस गरे पनि बजेट आउन ढिलाइ भएका कारण स्थानीयवासीकै अग्रसरतामा पुनःनिर्माण गरिएको हो ।
१५ औँ शताब्दीतिर माटोको प्रयोगले विशेष प्रकारले निर्माण गरिएको दरबारको चिरा परेको भागबाट नजिकै रहेको घर र गुम्बा समेत जोखिममा परेपछि स्थानीयबासिन्दाले पुनःनिर्माण गरेको लोमान्थाङका इन्द्रधारा विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, दरबारको जीर्ण भागलाई भत्काएर काठ र माटो प्रयोग गरी तत्काललाई जोखिम टार्ने काम गरिएको छ । उपल्लो मुस्ताङको धरोहर र पर्यटकीय गन्तव्यको रुपमा परिचित लोमान्थाङ दरबार अहिलेसम्म पूर्व मुस्ताङी राजा जिग्मे परवल विष्टकै नाममा छ ।
देशको ऐतिहासिक सम्पदा भए पनि व्यक्तिको नाममा रहेको दरबारको पुनःनिर्माणका विषयमा सरकारी अधिकारीबीच नै विभेद उत्पन्न हुने गरेको छ । दरबार पुनःनिर्माण गर्न लोमान्थाङका एक दर्जनभन्दा बढी युवा एक हप्तासम्म खटेको लामो समयदेखि दरबार निकट रहेर काम गरेका विष्टले जानकारी दिए । “सरकारले बजेट दिन ढिला ग¥यो, जोखिम पनि बढ्दै गयो, त्यसैले हामीले नै यसको मर्मत गरेका हौँ” विष्टले भने “यसमा व्यक्तिगत रुपमा जर्मनी साथीले पनि केही रकम सहयोग गरेका छन्”
दरबार भत्किने अवस्थामा पुगेपछि स्थानीयवासीले पूर्व राजपरिवारलाई तत्काल दरबार मर्मत गर्न माग गरेका थिए । पूर्वराजा जिग्मे भने दम र सुगरबाट पीडित बनेपछि अहिले परिवारसहित राजधानीमा बस्दै आएका छन् । माटोले निर्मित दरबारसँगै अन्य गुम्बा पनि जीर्ण बन्दै गएपछि सरकारले सबै क्षेत्रको अध्ययन गरेर पुनःनिर्माणको योजना बनाएको बताइएको छ । रासस
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७३ ०८:५४
प्रतिक्रिया दिनुहोस्