विशेष
काठमाडौं । केही आर्थिक सूचकहरु कमजोर रहेपनि चालु आर्थिक वर्षमा समग्र देशको आर्थिक अवस्था सकारात्मक रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो दुई महिनाको आर्थिक परिदृश्य सार्वजनिक गर्दै शोधानान्तर वचत घाटा, मूल्य वृद्धिको चाप, व्यापार घाटामा उल्लेख्य वृद्धि, रेमिट्यान्स आप्रवाह वृद्धिमा कमी र विदेशी मुद्रा संचिती घट्नु जस्ता सूचक कमजोर देखिएको छ । कृषि उत्पादन बढ्ने, औद्योगिक उत्पादनमा विस्तार, पर्यटन क्षेत्रमा सकरात्मक प्रभाव र विकास खर्चमा आएको सामान्य सुधारले चालु आवको दुई महिनामा देशको आर्थिक अवस्था सकरात्मक छ ।
धेरैजसो भू–भागमा पर्याप्त वर्षा हुनुको साथै कृषिजन्य सामग्रीको वितरण सहज भएकाले वर्षे बालीहरुको उत्पादन गत वर्षको तुलनामा उल्लेख्य वृद्धि हुने राष्ट्र बैंकको अनुमान छ । उर्जा एवम अन्य कच्चा पदार्थको आपूर्ति गत वर्षको सोही अवधिको तुलनामा सुधार आएकोले उद्योगको क्षमता उपयोग विस्तार भएको राष्ट्र बैंकको भनाइ छ ।
यस्तै होटलको अकुपेन्सी दरमा सुधार आएकोले पर्यटन व्यवसायमा सकारात्मक प्रभाव देखिएको, विकास खर्चमा केही विस्तार आएको, औद्योगिक उत्पादनले गति लिन थालेको र कृषि क्षेत्रतर्फ वर्षे बालीहरुको उत्पादन उत्साहजनक हुने देखिएकोले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव देखिएको राष्ट्र बैंकको दाबी छ ।
यता केही सूचक चालु आवको दुई महिनाको अवधिमा व्यापार घाटा १ खर्ब ३५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । कुल व्यापारमा निकासी ८.१ र आयातको हिस्सा ९१.९ प्रतिशत छ । यस्तै चालु आवमा रेमिट्यान्स आप्रवाह वृद्धिदर साढे ६ प्रतिशतमा सिमित भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या घट्न थालेपछि रेमिट्यान्स आप्रवाहमा गिरावट आउन थालेको हो । यस्तै २ महिनामा १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ बराबरको आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको दुई महिनामा ३८ अर्ब ४८ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा व्यापार घाटा, विदेशी लगानीको लाभांश भुक्तानी उल्लेख्य रुपमा बढेको तथा वैदेशिक अनुदान घटेको कारण शोधनान्तर घाटामा छ । अघिल्लो वर्षको दुई महिनासम्ममा ३१ अर्ब ८८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ३ अर्ब ५० करोडले घाटामा छ ।
यस्तै विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको १० खर्ब ३९ अर्ब २१ करोड रुपैयाँबाट ०.६ प्रतिशतले कमी आई गत भदौ मसान्तमा १० खर्ब ३२ अर्ब ७० करोडमा सिमित भएको छ ।
समीक्षा अवधिमा बैंकको ऋण लगानी साढे १ प्रतिशत र कर्जा लगानी साढे ३ प्रतिशत वृद्धि भएको छ । निक्षेप परिचालनको तुलनामा कर्जा लगानी बढेपछि बजारमा लगानीयोग्य पुँजी (तरलता) कमी आएको छ । मूल्यवृद्धि दर ७.९ प्रतिशत रहेको छ ।
सरकारले चालु आवमा साढे ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने महत्वकांक्षी योजना लिएको छ । विकास साझेदारहरुले नेपालको आर्थिक वृद्धि दर औसत ५ प्रतिशत हाहारीमा हुने प्रक्षेपण गरेका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३ ०९:१४
प्रतिक्रिया दिनुहोस्