विशेष
नेपालका हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारको आज तेस्रो दिन । पहिलो दिन काग र दोस्रो दिन कुकुरको पूजा गरेपछि आज लक्ष्मीको पूजा गर्ने दिन । आज गाईको पनि पूजा गरिन्छ । भोलि गोबर्धनपूजा र पर्सी भाइपूजा गर्ने गरिन्छ । भाइपूजापछि तिहार समाप्त हुन्छ । यी पाँच दिनलाई यम पञ्चक पनि भन्ने गरिन्छ । तिहारका पाँचै दिन झिलीमिली बत्ती बालिने हुनाले तिहारलाई दीपावली वा ज्योतिको पर्व पनि भन्ने गरिन्छ । भाइटीकाकै दिन नेवार समुदायमा 'म्ह पूजा' गरिन्छ । अधिकांश दैनिक पत्रिका तिहारको अवसरमा दुईदेखि तीनचार दिन बन्द हुन्छन् । चार दिन बन्द हुने पत्रिका आजैदेखि बन्द भएका छन् भने अरू भोलिदेखि बन्द हुने सूचना दिएका छन् । दुई दिन बन्द हुने पत्रिका भोलि दिनसम्म प्रकाशित हुन्छन् ।
आजका दैनिक पत्रिकाको मुख्य समाचार संविधान संशोधनमा दलहरू अघि बढे भन्ने आशयको रहेको छ । नागरिक, नयाँ पत्रिका तथा अन्नपूर्ण पोस्टले यही समाचारलाई मुख्य समाचार बनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा मधेसी मोर्चाका प्रमुख नेतासँग भेटेपछि साँझ आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् । कान्तिपुरले यस समाचारलाई एक कोलममा सीमित गरेको छ भने गोरखापत्रले फोटोको मुनि दुई कोलममा राखेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध अघि बढेको महाभियोग प्रस्ताव र संविधान संशोधनको प्रस्ताव सँगसँगै अघि बढाउन कांग्रेस, नेकपा (एमाले) तथा माओवादी केन्द्रबीच सहमति भएसँगै संविधान संशोधनको प्रस्ताव पनि अघि बढेको हो । मधेसी, थारु, आदिवासी तथा जनजातिको प्रतिनिधित्व गर्ने राजनीतिक दलले नेपालको संविधानका केही विषयमा असन्तुष्टि जाहेर गरेर विगतमा आन्दोलनसमेत गरेका र अब उनीहरूको माग सम्बोधन नभए पुनः आन्दोलनमा जाने चेतावनी पनि दिइसकेका छन् ।
नयाँ पत्रिकाले कुन कुन विषयमा संशोधन हुन्छ भन्ने विषयलाई बक्समा उल्लेख गरेर बुझ्न सकिने बनाएको छ । संविधानमा मुख्यतः नागरिकता, सीमांकन, भाषा तथा राष्ट्रिय सभामा हुने प्रतिनिधित्वका चार विषय संशोधन हुँदैछन् । संविधानमा नागरिकताको विषयमा अन्तरिक संविधानमा जस्तो प्रावधान थियो त्यसैलाई पुनः संविधानमा सम्मिलित गर्ने एक प्रकारको सहमति भएको छ । सीमांकनको हकमा सीमांकन आयोग बनाउने र त्यसभन्दा अघि पाँच नंबर क्षेत्रमा रहेका पहाडी भूभागलाई चार नंबर वा अन्य क्षेत्रमा मिलाउने गरी संविधानमा संशोधन हुनसक्ने संभावना रहेको छ । भाषाको विषयमा भाषा आयोगको गठन प्रक्रिया अघि बढेको र आयोगको सुझावका आधारमा संविधानको अनुसूचीमा भाषा राख्ने विषयमा पछि सम्बोधन हुने मोटामोटी सहमति भएको छ । राष्ट्रिय सभामा हरेक क्षेत्रबाट आठ आठ जना प्रतिनिधित्व हुने विषयमा पनि परिवर्तन हुने भएको छ । अब तीनदेखि पाँच जना क्षेत्रगत हिसाबले र बाँकी जनसंख्याका आधारमा प्रतिनिधित्व हुनेगरी संशोधन हुने तयारी पनि दलहरूले गरेका छन् ।
सुरक्षाको नाममा निषेध गरिँदै देउसी–भैलो
आजको कमाण्डर पोष्टले सरकारले राति १० बजेपछि देउसी र भैलो खेल्न लगाएको प्रतिबन्धका विरुद्ध एन्कर समाचार प्रकाशित गरेको छ । विदेशी क्रिसमस, भ्यालेन्टाइन डे र नयाँ वर्षमा रातभर मदिरा खाएर हल्ला गर्न छुट दिने सरकारले नेपालीको चाडमा भने राति १० बजेपछि नै देउसी र भैलो खेल्न रोक लगाएर दुरुत्साहन गरेको उक्त समाचारको संकेत छ ।
भारतीय राष्ट्रपतिको भ्रमण कार्यक्रम तय
नयाँ पत्रिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको समाचारलाई चार कोलमको माथिल्लो समाचार बनाएको छ । उक्त समाचारमा मुखर्जीको भ्रमणमा सुरक्षा व्यवस्था कस्तो गरिएको छ भन्ने विषयमा विस्तारमा वर्णन गरिएको छ । राष्ट्रपति विद्या भण्डारीले मुखर्जीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा नै जाने र बिदाइ गर्न पनि जाने विषयलाई पनि नयाँ पत्रिकाले बक्स समाचार बनाएको छ । राष्ट्रपति मुखर्जीको भ्रमणका क्रममा जनकपुर र लुम्बिनी पनि जाने कार्यक्रम भएको र त्यसका लागि तीनवटा बुलेटप्रुफ बिएमडब्ल्यु पनि भारतबाटै आउनेसमेत नयाँ पत्रिकाले जनाएको छ ।
सम्पादकीय
आज कान्तिपुर, नागरिक तथा गोरखापत्रले तिहारको महत्त्वका विषयमा सम्पादकीय लेख्दै यस चाडको शुभकामना पनि व्यक्त गरेका छन् । कमाण्डर पोष्टले भने तिहार र नेपाल संवत् शीर्षकमा सम्पादकीय लेख्दै नेपाल संवतको उल्लेखसम्म गरेको छ ।
आजको नयाँ पत्रिकाले सीताराम कट्टेल र कुञ्जना अधिकारीको दम्पती (धुर्मुस र सुन्तलीको जोडी)ले सिन्धुपाल्चोक जिल्लाको गिरानचौर बस्तीमा ६५ घर निर्माण गरेको विषयलाई विशेष तारिफ गरेको छ । अन्नपूर्ण पोस्टले रगत अभाव देखिएको विषयमा विशेष चिन्ता प्रकट गर्दै रक्त संचारको व्यवस्थित र व्यापक संजाल हुनुपर्ने धारणा प्रकट गरेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७३ ०८:२०
प्रतिक्रिया दिनुहोस्