साहित्य
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले परिवर्तनको आन्दोलनमा नेपाली साहित्यको महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलद्वारा लिखित ‘झुल्कदो घाम’ कथा संग्रहको शनिबार संवाद डबलीमा विमोचन गर्दै अध्यक्ष वैद्यले नेपाली साहित्य क्षेत्रले राणा शासनकाल देखि नै परिवर्तन र रुपान्तरणको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले नेता सीपी गजुरेलद्वारा लिखित ‘झुल्कदो घाम’ ले प्रगतिशील रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
देशमा अहिले राष्ट्रिय स्वाधिनता र जनजीविका सवाल जटिल बन्दै गइरहेको उल्लेख गर्दै उनले भूकम्प पीडितका लागि सरकारले कुनै काम नगरिरहेका बेला कलाकार धुर्मुस–सुन्तलीले बस्ती निर्माण गर्नु सरकारमाथि गतिलो व्यंग्य भएको बताए ।
नेता गजुरेल र आफू करिब ३०÷३१ सालदेखि सँगै राजनीतिमा क्रियाशील रहँदै आएको र त्यसबीचमा भारतीय जेलमा पनि एउटै समयमा बिताएको स्मरण गर्दै उनले भारतीय जेलमा रहँदा भोगेका पीडालाई गजुरेलले कलात्मक ढंगले कथामा संग्रहित गरेको बताए ।
नेपालका पञ्चायती कालकाभन्दा पनि तल्लो स्तरका लोकतान्त्रिक देश भारतका जेलको स्मरण गर्दै उनले यसले लोकतन्त्रमाथि झनै घृणा पैदा गरेको बताए ।
उनले भने, “गजुरेल जी र म लगभग सँगसँगै जेलमा पर्यौं, उहाँ चेन्नइमा जेल पर्नुभयो, म पश्चिम बंगालमा जेलमा परे । हिरासतमा रहँदा त साह्रै कष्ट हुने अब जेलमा लैजाने भो भनेपछि त खुसी लाग्यो । एक त लोकतान्त्रिक देशको जेल त्यसमाथि पनि म त कम्युनिष्ट पार्टीको सरकार भएको ठाउँमा जेल परेकाले खुसी नै थिए, तर त्यहाँको अवस्था हेर्दा त बिचल्ली रहेछ ।”
झुल्कदो घाम कथा संग्रहका लेखक तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले नेपाली समाज रुपान्तरणका लागि सिर्जना आवश्यक रहेको र मेरो सिर्जनाले मेरा उद्देश्यको सेवा गर्छ कि गर्दैन भन्ने चिन्ता आफूमा रहेको बताए । उनले आफूले राजनीतिक काममा व्यस्त रहँदा रहँदै २५ दिनमा नै यो कथा संग्रहमा प्रकाशित १० वटा कथा तयार पारेको उल्लेख गरे ।
कथाकारका रुपमा गजुरेलको यो दोस्रो कृति हो । यसअघि वि.सं. २०६० उनको प्रतिरोध कथासंग्रह प्रकाशित भएको थियो भने २०३८ सालमा मधु खण्डकाव्य प्रकाशित भएको थियो ।
राजनीतिक क्षेत्रमा भने उनका ‘ऐतिहासिक भौतिकवाद के हो ?’, ‘तीन महापुरुषको जीवनी (माक्र्स, लेनिन र माओ)’, ‘पेरु क्रान्तिबारे’, ‘नेपाली क्रान्तिका राजनीतिक पहलहरु’, ‘क्रान्ति र प्रतिक्रान्तिका शृंखला’, पोलिटिकल प्रेस्पेक्टिभ अफ दि नेप्लीज रिभोलुसन’ लगायतका कृति प्रकाशित छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३ १६:२१
प्रतिक्रिया दिनुहोस्