विदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनकी कान्छी छोरी सासाले सामाजिक सञ्जाल ‘स्न्यापच्याट’मा एक पारिवारिक रात्रिभोजका क्रममा सामाजिक सञ्जालबारे भइरहेको कुराकानीलाई रेकर्ड गरी त्यसलाई आफ्ना साथीहरूसँग सुटुक्क सेयर गरेर आफूलाई गिज्याएको सार्वजानिक गरेका छन् ।
ओबामाले उक्त कुरा जिमी किमेल लाइभ शोमा सोमबार खुलासा गरेका हुन् । ओबामाका अनुसार उनकी १५ वर्षीय छोरीले गत जुलाईमा एक ट्वीट पनि गरेकी थिइन् । थुप्रै सञ्चारमाध्यमले उनको एकाउन्ट पत्ता लगाउन कोसिस गरेका भए पनि यो अहिलेसम्म रहस्यमै छ ।
स्न्यापच्याटका सन्देशहरू लामो नरहने भएकाले सासाको स्न्यापच्याट पोस्ट के थियो भन्नेचाहिँ सार्वजनिक भएको छैन ।
स्न्यापच्याट चलाउने तरिका सासाले आफूलाई सिकाउने गरेको भन्दै ओबामाले भने, “एक साँझ हामी डिनरका बेला गफ गरिरहेका थियौं । स्न्यापच्याट छोरीहरूको उमेर समूहमा खुबै चर्चित भइरहेको छ भन्ने कुरा मैले कतै पढेको थिएँ । त्यसैले मैले उनलाई त्यसबारे सोधेँे । जब म मिसेलसँग सामाजिक सञ्जालका असर र यसबारे कुरा गर्न थालें । त्यतिबेला सासाले हाम्रा कुरा रेकर्ड गरिरहेकी रहिछन् र ल हेर मेरा बुबाले सामाजिक सञ्जालबारे दिएको लेक्चर भनेर अन्त्यमा आफ्ना साथीहरूलाई पोस्ट गरिछन् ।”
ओबामाले पत्नी मिसेल र जेठी छोरी मालियाले पनि सासाको उक्त पोस्ट मन पराएको बताए । मिसेलले पनि गत जुनदेखि स्न्यापच्याट चलाउन थालेकी छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १०:१६
प्रतिक्रिया दिनुहोस्