खेल
काठमाडौं । रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बिहीबार भएका खेलमा बानेश्वर रिक्रियसन फुटसल सेन्टरले विजय हासिल गरेको छ । बानेश्वर रिक्रियसन सेन्टरको होम ग्राउन्डमा भएको खेलमा बानेश्वरले अवे टिम इम्पेरियल फुटसललाई ७– गोल अन्तरले पराजित गर्यो ।
बानेश्वर रिक्रियसनका कप्तान मानसाजन राजभण्डारीको प्रेरणामा बानेश्वर इम्पेरियलमाथि हावी भयो । बानेश्वरका लागि सञ्जय श्रेष्ठले ह्याट्रिक गरे भने दिपु लामाले २ र मानसाजन राजभण्डारी र कफ्र्यु रसाइलीले एक/एक गोल गरे ।
इम्पेरियलका सन्देश सिलवालले २ गोल गरे भने किसन अधिकारी र निरज गैरेले एक÷एक गोल गरे पनि टोलीलाई हारबाट बचाउन सकेनन् । यस खेलको म्यान अफ द म्याच इम्पेरियल फुटसलका किसन अधिकारी भए ।
लिगमा ४ खेल खेलेको बानेश्वर ७ अंकका साथ समूह एको अंक तालिकामा तेस्रो स्थानमा छ । ४ खेल खेलेको किकअफ फुटसल १२ अंकसहित शीर्ष स्थानमा रहँदा ४ खेलबाट ७ अंक नै जोडेको ह्वाइट हर्स फुटसल गोल भिन्नतामा बानेश्वरभन्दा अगाडि छ । त्यसैगरी ४ खेल खेलेको इम्पेरियल ३ अंकका साथ समूहको सातौं स्थानमा छ । अन्तिम स्थानको आदर्श फुटसलले अहिलेसम्म एक अंक मात्र जोडेको छ ।
त्यस्तै लिग अन्तर्गत बिहीबार कीर्तिपुर र कुमारी फुटसलले बराबरी खेलेका छन् । कुमारी फुटसल पकनाजोलमा भएको समूह बीको खेलमा कुमारीले कीर्तिपुर फुटसलसँग ३–३ गोलको बराबरी खेलेको छ । खेलमा कीर्तिपुरका लागि यमन महर्जनले २ गोल गरे भने जोन महर्जनले एक गोल गरे । त्यसैगरी कुमारी फुटसलका आशिष तामाङले २ र राजिव लोप्साङले एक गोल गरे । यस खेलको म्यान अफ द म्याच कुमारी फुटसलका आशिष तामाङ भए ।
यो बराबरीसँगै कुमारी फुटसलले ४ खेलबाट ७ अंक जोड्दै समूह बीको तेस्रो स्थानमा छ भने ४ खेल नै खेलेको कीर्तिपुर ४ अंक जोड्दै सातौं स्थानमा छ । यस समूहमा ताहाचल फुटसल ९ अंकसहित शीर्ष स्थानमा छ ।
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १८:१४
प्रतिक्रिया दिनुहोस्