खेल
काठमाडौं । काठमाडौं गोल्फुटारमा रहेको नेपालकै पहिलो इन्डोर क्रिकेट हल रोयल इन्डोर क्रिकेट र ललितपुर सानेपामा रहेको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) मर्ज भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमकाबीच रोयल र केसीटीसीले मर्ज भएको घोषणा गरेका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको केसीटीसी र रोयल मर्ज भएपछि अब दुईको नाम ‘रोयल केसीटीसी’ रहने छ । सम्झौता पत्रमा केसीटीसीका मल्ल र रोयलका सञ्चालक सान्तोस संग्रौलाले हस्तक्षर गरेका थिए ।
क्रिकेट एकेडमी र इन्डोर क्रिकेट विकासको लागि मर्ज भएको रोयल केसीटीसीले जनाएको छ । सम्झौता पत्रमा अनुसार केसीटीसीले म्यानेजमेन्ट र टेक्निकल पार्ट हेर्ने छ भने रोयलले हल लगायतका सुबिधा उपलब्ध गराउने छ । त्यस्तै सम्झौता अनुसार रोयलको ६० प्रतिशत र ४० प्रतिशत केसीटीसीको हिस्सा हुनेछ ।
सम्झौताअघि रोयल केसीटीसी कै हलमा नेपाल खेलकुद पत्रकार मञ्च र आयोजकबीच रोयल केसीटीसी कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिता भएको थियो । उक्त खेलमा आयोजक रोयल केसीटीसीले पत्रकार मञ्चलाई ५९ रनले पराजित गर्यो । आयोजकले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको मञ्च ६१ रनमा अलआउट भयो । खेलपछि नेपाल क्रिकेट संघ क्यानको कार्यकारी सञ्चालक छुम्बी लामाले विजयी टोलीलाई ट्रफी प्रदान गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १७:४५
प्रतिक्रिया दिनुहोस्