विशेष
काठमाडौं । धेरै मान्छेमा युवा अवस्थादेखि नै कोलस्टेरोल बढ्ने समस्या देखिन्छ । चिकित्सकले कुल कोलेस्टेरोलको मात्रा घटाउन वा एलडीएल (खराब कोलेस्टेरोल)को मात्रा घटाउन विभिन्न औषधिहरू प्रयोग गर्ने गर्छन् । तर, कतिपय मानिसहरूले आफ्नो खानामा साधारण फेरबदल गरे भने पनि कोलेस्टेरोलको समस्याबाट मुक्ति पाउँछन् । कोलेस्टेरोल बढेर गयो भनेचाहिँ मुटुको समस्या देखिने सम्भावना बढेर जान्छ ।
कतिपय व्यक्ति खसीको वा राँगाको मासु अत्यन्त धेरै मात्रामा खान्छन् । कतिपय कुखुरा, बँदेलसहित सबैथोक त्यत्तिकै धेरै खान रुचाउँछन् । यस्ता मानिसमा कोलेस्टेरोलको मात्रा बढेर जाने र पछि मुटुको रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ । खानामा खाइने मासुको मात्रा घटाएर त्यसको ठाउँमा सागपात, फलफूल तथा सग्लो अन्न (होल ग्रेन) खाने गरेमा कोलेस्टरोलको मात्रा २५ प्रतिशतसम्म आफैं घट्छ । त्यस्तै, बोसो नभएको मासु र वनस्पति घ्यू नभएको खानेकुरा खाने हो भने पनि पाँचदेखि १० प्रतिशतसम्म कोलेस्टेरोल घटाउन सकिन्छ ।
अमेरिकाको हार्वर्ड मेडिकल स्कुलले खानाबाट कसरी कोलेस्टेरोल घटाउन सकिन्छ भनेर यी ४ उपाय सुझाएको छ ।
१) अनस्याचुरेटेड चिल्लो खानुस्, स्याचुरेटेड छाड्नुस् :
साधारणतया सबैजसो वनस्पतिबाट प्राप्त चिल्लो पदार्थ अनस्याचुरेटेड फ्याट (चिल्लो पदार्थ) हुन् । अलिभ (जैतुन), रायो, बदाम, गेडागुडी, अभोकाडो आदिको चिल्लोमा अनस्याचुरेटेड फ्याट हुन्छ । स्याचुरेटेड चिल्लो जस्तो मासु, चिज, बटर आदि कम गर्नुपर्छ । त्यस्तै ट्रान्स फ्याट जस्तो, वनस्पति घ्यू (जुन एक प्रकारको तेललाई कारखानामा हाइड्रोजन मिसाएर बनाइन्छ) बाट टाढै रहनुपर्छ ।
२) घुलनशील फाइबर खाने बानी गरौं :
फलफूल तथा जौजस्ता रेशादार खानेकुरा खानु लाभदायक हुन्छ । सबै खानेकुरामा पाइने फाइबर अथवा रेशा घुलनशील हुन्नन्, त्यस्तोले भन्दा फलफूल तथा जौले कोलेस्टेरोल घटाउनमा नै सहयोग गर्छन् ।
३) वनस्पतिमा हुने स्टरोल तथा स्टानोल :
उल्लेखित दुई पदार्थ वनस्पतिमा तथा बिरुवामा पाइन्छ । यो पदार्थ भएको वनस्पति खाएको अवस्थामा तिनले शरीरले अन्य खानेकुरा सोसेर लिने कोलेस्टेरोल घटाइदिन्छन् अर्थात् शरीरलाई ती पदार्थ सोस्न रोक्छन् । यसको कारण के पनि हो भने यी पदार्थको बनावट पनि ठ्याक्कै कोलेस्टेरोलजस्तै हुन्छ । फलफूलको ताजा जुस तथा दहीमा यो पदार्थ पाइन्छ । कतिपय प्याक दहीमा यस्तो पदार्थ थप हालेर (फोर्टिफाइड) पनि तयार गरिएको हुन्छ ।
४. आफूलाई सुहाउने खाना खाऔं :
जसरी सबै मानिस एकथरीका हुँदैनन्, त्यसैगरी कुनै एउटा खानेकुराले सबैमा एकैप्रकारको असर देखाउँदैनन् । कसैलाई फलफूल खाएर कोलेस्टेरोल एकदम कम होला, कसैलाई दही वा जुस । त्यसैले मानिसले आफूलाई कस्तो खानेकुरा खाँदा बढी असर गर्छ, त्यो पनि ध्यान दिनुपर्छ ।
माथि भनिएका उपाय धेरै मान्छेमा प्रभावकारी देखिए पनि कतिपयलाई खासै प्रभाव नपार्न पनि सक्छ । तर, माथिका उपाय अपनाउने हो भने कोलेस्टेरोल धेरै नघटे पनि औषधि खानैपर्ने अवस्था नआउन यसले सहयोग गर्छ । खानामा परिवर्तन गरेको अवस्थामा धेरै फाइदा नभए पनि शरिरलाई बचावट भने भइरहेको हुन्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १४:०२
प्रतिक्रिया दिनुहोस्