विशेष
यो खुला पत्र कोर्दै गर्दा काठमाडौंमाथिको आकाशमा एउटा जहाज उडिरहेछ । झट्ट हेर्दा त यो जहाज उडेको हो, तर हामी नेपालीहरूको परिपे्रक्ष्यमा हाम्रा सपनाहरू उडेका हुन् । हजार सपनाहरूको मायामा विरक्तिएका हजारौं युवाहरूको यो उडान अबिराम छ । थाहा छैन हाम्रो सपनाको सफल अवतरण कुन युगको कुन शताब्दिमा पुगेर हुन्छ । देश भनेको प्राण हो, मुटु हो, रक्तसञ्चार हो र आमा हो भन्थे कवि÷गीतकारहरू । तर दाजै ! आखिरीमा यो देश एक थान राहदानी रहेछ ।
विदेशबाट बाकसमा शव बनेर आउने सयौँ लाशहरूको प्रसंग म जोड्न चाहन्नँ यो खुला पत्रमा । अस्मितासँगै मानसिक सन्तुलन गुमाएर आफ्नो माटोमा मर्नमात्रै फर्किएका हाम्रा निर्दोष चेलीबेटीहरूको क्यान्सर भइसकेको घाउको दुखाइ अनि स्वाभिमान झुकाएका २१ औँ शताब्दीको नयाँ दासहरूको परिभाषा पनि समेट्न चाहेको छैन यो खुला पत्रमा ।
आफ्नै देशको संवेदनशिल स्थानमा ( विमानस्थलमा ) कुनै अपराधी र लुटेराहरू नभई कर्मचारीबाटै पीडित हुनुपरेका युवाहरूको रुन्चे अनुहारले हृदय हल्लाएका कारण यो बिचलित दिमागलाई शान्त तुल्याउन विमानस्थलका कर्मचारीहरूको नाममा खुला पत्र कोरेको हुँ ।
स्थायी सरकारका बलिया खम्बाहरूको रूपमा बुझिने कर्मचारीतन्त्रलाई चोर, ठग, भ्रष्टाचारीको उपमा दिएर सम्बोधन गरेको सुन्दा यो अपवादको रूपमा कहीँ कतै प्रयोग भएको होला भन्ने लाग्थ्यो । किनभने राज्यको बलियो खम्बा भनेर कर्मचारीतन्त्रलाई बुझ्ने गरिन्छ । राज्यलाई काँधमा बोक्नेहरू पक्कै पनि सम्मानित पात्र हुन्छन् । तर, म आज नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई ‘चोर’ भनेर सम्बोधन गर्दैछु । र, याे सम्बोधन चोर्ने, चोरहरूलार्इ संरक्षण गर्ने र त्यहाँ चोरिएको थाहा भएर पनि आँखा चिम्लनेका लागि मात्र हो ।
यो सम्बोधन तपाईंहरूको भद्दा मजाक र अपमान गर्नको लागि गरेको होइन, तपाईंहरूका कारण लुटिनुपरेकाहरूलाई न्याय दिनकै निम्ति भए पनि तपाईंहरू चोर ठहरिनुपर्छ । र, आफूले आफैंलाई स्वीकार गर्न हिम्मत राख्नुपर्छ, ‘हो, म सरकारी सेवा सुविधाले लगाउन खान परिवार पाल्न नपुगेको यो सहरको नामुद चोर हुँ’ भनेर ।
खुला पत्रमा अपमानजनक शब्द घुसाएको आरोपमा ‘मानहानि तथा गालिगलौज’ सम्बन्धी नेपालको संविधानको धारा, उपधाराले जे सजाय दिन्छ, त्यो म भोग्न तयार छु । तर, आजका मितिदेखि मेरो नजरमा तपाईंहरू राष्ट्र सेवक कर्मचारी हैन, ‘चोर’ हो । वर्षौंदेखि विमानस्थलका यात्रुहरूको मालसामान चोरी गरेको र देशको बदनाम गरेको आरोपमा तपाईंहरूले सजाय भोग्नुपर्छ भन्ने मेरो मान्यता हो । लाज भन्ने शब्द शब्दकोषमा छ भने मेरो मान्यतासँग सहमत हुनुहोला ।
अप्रिय चोर कर्मचारीहरू !
तपाईंहरूको नैतिक पतनको खबर सारा विश्वले सुन्ने गरी पुगोस् भनेर लेख्न मन लागेको छ, ‘हाम्रो नेपालको विमानस्थलमा कुख्यात चोरहरू नोकरी गर्छन्, राष्ट्र सेवक कर्मचारीको हैसियतमा । त्यसैले महत्वपूर्ण सामान लगेजमा (झोलामा ) हैन, खल्तिमा राख्नुहोला, अन्यथा चोरी हुन सक्छ । च्यातिन्छन् तपाईंको लगेज र झिकिन्छन् तपाईंका महँगा मोबाइल, ल्यापटप, टिभी, गरगहना र नयाँ कपडाहरू । यतिसम्म कि खजुर र क्रिमवाला बिस्कुट नि सबै, सबै निकालिन्छन् ।’
डोरीले बाँधेको त्यो सपनाको लगेज च्यातेर चोरी नै गर्नुपर्ने त्यस्तो महान चिज के होला र ? तिनले रेगिस्तानबाट पसिनासँग केवल आफ्नो बालबच्चा र चेलीबेटीहरूको लागि स–साना खुसीहरू साटेर आएका हुन्छन् । महिनौं काम गरेको श्रमको मूल्य जम्मा गरेर एक थान मोबाइल किनेका हुन्छन्, घडी किनेका हुन्छन्, कम्बल किनेका हुन्छन् र किनेका हुन्छन् केही जोर जुत्ताहरू, मिल्ने साथीभाइका लागि उपहार, सम्झनाको चिनो किनेका हुन्छन् । त्यही त होला त्यो सपनाको झोलामा ।
तर, तपाईंहरू आफूलाई बडो राष्ट्रसेवक कर्मचारी ठान्नुहुन्छ अनि सानो–सानो कुरामा लोभ गर्नुहुन्छ । अरुको सामान देख्दा आफ्नो मनलाई बाँध्न नसकेर इमानको फस्नर फुस्काउनुहुन्छ । र, फुस्काउनुहुन्छ मजबुर भएर मजदुर भएको निमुखाको सुटकेसको डोरी । जतन गरी जोडेका खुसीहरू खोसिनु, चोरिनु, च्यातिनु, हराउनु... योभन्दा अप्रिय काम अरु के हुन सक्ला र जिन्दगिमा !
चित्त साँघुरो भयो भने हर्कत लोभी पापीको हुन्छ । अलिकति नैतिकता भएको मनुष्यले सरकारको नुन त खान्छ तर नूर गिराउने कुकर्मचाहिँ गर्न सक्दैन । खै किन हो किन, मलाई संसारको सबैभन्दा भावुक ठाउँ नेपालको विमानस्थल लाग्छ । तर पनि तपाईंहरूको मन कहिल्यै पग्लिएन । झन् यही हो मौका भनेर आफ्नै दाजुभाइको मालसामान ‘चोरी’ गर्नुहुन्छ । यसको मतलब विदेशि नागरिकको चोरी गरे केही हुन्नँ भन्न खोजेको होइन । विदेशी यात्रुको त झन् चोर्नुहुन्छ, थाहा छ ।
अप्रिय चोर कर्मचारीहरू !
तपाईंहरूलाई त के दुःख छ र ? भुँडी हल्लाउँदै अफिस पुग्नुहुन्छ । चिया पिउनुहुन्छ । एकछिन सहकर्मीहरूसँग हँसिमजाक गरेपछि हाजिर गर्नुहुन्छ । अनि कुन जग्गामा गएपछि चार रुपैयाँ झर्छ, सामान झिक्न पाइन्छ, बिदामा आएको परदेशीलाई धम्क्याउन पाइन्छ, उतैतिर कुद्नुहुन्छ । दुःख छ– हत्केला र पाइँतलामा घाउ पाकेर क्यान्सर हुँदासम्म काम गर्नेहरूलाई । दुःख छ आफ्नो देशको विमानस्थलमा आइपुग्दा पशुसमानको व्यवहार सहनुपर्नेहरूलाई । दुःख छ च्यातिएको झोला प्रहरीलाई देखाउँदा उल्टै गाली खानुपर्नेहरूलाई ।
रहरले कोही विदेश गएको हुँदैन । नेपाली युवाहरू किन विदेशिएका छन् र विदेशमा कुन पीडा सहेर काम गरिरहेका छन्, त्यो सबैलाई थाहा नै छ । तर, आफ्नो देश फर्किंदा कम्तिमा सुरक्षित महसुस गर्न पाउनुपर्छ । विमानस्थल, जहाँ देशको मुहार झल्किन्छ, विविध कारण अनपढ, बेरोजगार र शक्तिहिन भए पनि आजको नेपाली युवाले संसार देखेको छ, बुझेको छ । विमानस्थलमा अवतरण गरेपछि नेपालमा भविष्य नै नदेख्नेहरू कैयौं छन्, किनभने तपाईंहरूजस्ता चोर कर्मचारीहरूको भविष्य चम्किने रहेछ यहाँ ।
विमानस्थलमा यात्रुको सामान सुनियोजित रूपमा चोरिने कुरालाई अन्य देशमा गम्भीर रूपमा लिइन्छ । अझ कर्मचारीमार्फत नै चोरिन्छ भने त यो धेरै गम्भीर र जघन्य अपराध हुन्छ । तर, हामीकहाँ फलानो जगामा यस्तो भयो रे भन्ने हुन्छ, केहीबेर खैलाबैला र हल्ला हुन्छ अनि सबैको कानमा तेल पुग्छ । सबै चुपचाप, सबै मौन । देखेर पनि नदेखेजस्तो, सुनेर पनि नसुनेजस्तो, बुझेर पनि नबुझेजस्तो । एकदमै निकम्मा र ‘हेल्पलेस’ नेपाल । कैयौं विदेशी यात्रुहरूले समेत सामाजिक सञ्जालमा हाम्रो विमानस्थलबारे लेखिसकेका छन् । तर, सरोकारवाला निकायहरू पाखन्डी र पातकी तर्क गरेर कोठाभित्रै बसिरहेका छन् ।
०७३ असोज २९ गते शनिबार बेलुकी ५ बजे । अन्तर्राष्ट्रिय विमानस्थलको ‘अराइभल’को पारिपट्टि केही युवा धर्ना बसिरहेका थिए, जसमध्ये मेरा एकजना पुराना मित्र पनि रहेछन् । उनले मलाई फोन गरेर भने– ‘म त धर्नामा छु यार ।’ न्यायको लागि हो भने म पनि धर्ना बस्न आउँछु तर भएको चाहिँ के हो भनेर म जिस्किएँ । तर, ती मित्रले रुन्चे लवजमा भने– ‘हाम्रै विमानस्थलमा छु म, मेरा झोलाहरू च्यातिएका छन्, सामानहरू लथालिंग छन् । लगेजलाई अचम्मलाग्दो तरिकाले प्वाल पारिएको छ । राम्रा–राम्रा सामानहरू चोरिएका छन् । यस्तो लाग्छ कि विमानस्थलमा त प्रोफेसलन चोरहरू नै कर्मचारी रहेछन् ।’
अप्रिय चोर कर्मचारीहरू !
के यो इमानदारी काम भयो ? के यस्तो हर्कतले देशको गौरव बढाउँछ ? सोही मितिमै साउदी अरबबाट आएका १८ जना नेपालीहरू विमानस्थलमै लुटिएका थिए । र, ती १८ जना नै साउदी अरबको जेलबाट बल्लतल्त निस्केर नेपाल आएका रहेछन् । उनीहरू रमझम गर्दै बिहेको भोजभतेर गर्न आएका थिएनन् । खुला आकाश हेर्न, खुला संसारमा बाँच्न आफ्नो देश सम्झेर फर्केका थिए । तर, तपाईंहरूले मानौं कि तिनले साहुको ऋण चुक्ता गर्न नसकेपछि कारबाहीस्वरूप सामान चोर्नुभयो ।
नेपालका ‘मेनपावर’ कम्पनीहरूले विदेश जाँदा नै कामदारहरू ठगेका हुन्छन् । नेपालमा जे आश्वासन दिएर विदेश पठाएका हुन्छन्, त्यो पूरा हँुदैन । विदेशमा आत्महत्याको खबरहरू सुन्नुपर्नुको सहायक कारण यिनै हुन् । दलालसँग आफ्नो दुःख पोखेमा मार्ने धम्की दिन्छन् । ‘के गर्न सक्छस् गर्’ भन्छन् । मासिक तलब कम हुने भएकाले बढी कमउने आशामा कामदारहरू तोकिएको कम्पनी छाडेर भाग्छन् । भाग्यो भने पछि आफूलाई त्यो देशको कानुनले समात्छ भन्ने ती बिर्सन्छन् ।
अवैधानिक रूपमा काम गरिरहेका यी १८ जना युवाहरूले पनि साउदी प्रहरीसामु आत्मसमर्पण गरे । एक महिना जेल बसे । अनुसन्धानमा निर्दोष सावित भएपछि शुक्रबार राति ‘फ्लाइ दुबई’को उडानबाट स्वदेश फर्किएका थिए । शुक्रबार साँझ ‘फ्लाइ दुबईको उडानबाट सप्तरीका दिनेश शाह ३ वर्षपछि साउदीबाट आफ्नो देश आउँदै थिए । शुक्रबार राति करिब ९ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्दा खुसीले गद्गद् भएको उनको मन साउदीमा पोका पारेका ‘खुसी’हरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोसिएको जब थाहा पाए, उनले आँशु रोक्न सकेनन् ।
आफ्नो समान हराएको उजुरी दिन खोज्नेहरूलाई प्रहरीले हप्कायो रे । छानबिन समितिमा हवाई सुरक्षा महाशाखाका प्रमुख प्रकाशचन्द्र ढकाल, एरोड्रम सेफ्टी अफिसका प्रमुख छविलाल खनाल, प्रशासन महाशाखाका वरिष्ठ अधिकृतलगायत छन् । आफ्नै देशमा लुटिएर विमानस्थलमै रुँदासमेत उल्टै हप्काएर प्रहरीरूले ‘धेरै नाटक नगर’ भनेछन् । प्रहरी सरहरूलाई यही प्रश्न छ– तपाईंहरू देशको सामान्य नागरिकको पहरेदार कि कर्मचारीहरूको साथीभाइ ?
आफ्नो गाउँघर, बुढेशकालका बाबाआमा, बालबच्चा छोडेर विदेशिनु नेपालीको साझा व्यथा हो । पढेलेखेका देखि अनपढहरू सबैले विदेशको यात्रा तय गरेका छन् । देशमा नोकरी छैन, नागरिकका चाहनाहरू बढेका छन् । विदेशमा काम गर्न त्यति सजिलो छैन, किनभने प्राविधिक रूपमा नेपालले दक्ष जनशक्ति उत्पादन गरेको नै छैन । सामान्य हैसियतमा नोकरी गरेर, अनेक दुःखहरू सहेर बल्लतल्ल नेपाल आइपुगेका नेपाली विमानस्थलमै दैनिक लुटिइरहेका छन्, त्यो पनि विमानस्थलका कर्मचारीहरूबाट नै । आखिर कहिलेसम्म यस्तो नियति भोग्नुपर्ने हो ?
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १३:३६
प्रतिक्रिया दिनुहोस्