विशेष
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा आर्थिक सहायताको नाममा राज्यको ढुकुटीबाट विभिन्न व्यक्ति तथा संस्थालाई करोडौं रुपैयाँ बाँडेको छ ।
उपचारका लागि भन्दै सरकारले विभिन्न व्यक्तिका लागि साउन, भदौ र असोजमा गरी ५ करोड ५६ लाख रुपैयाँ बढी रकम बाँडेको हो । गत साउनदेखि औषधि उपचारलगायत विभिन्न शीर्षकमा सरकारले मन्त्रिपरिषद्बाट पारित गरी रकम बाँडेको हो । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनमा सरकारले १ करोड ६१ लाख २३ हजार रुपैयाँ, भदौमा १ करोड ३२ लाख १८ हजार र असोजमा २ करोड ६३ लाख रुपैयाँ बाँडेको छ । यस अवधिमा सरकारले २ करोड ४० लाख २३ हजार रुपैयाँदेखि न्यूनतम १० हजार रुपैयाँसम्म बाँडेको छ ।
सिराहाका घाइते बद्रीरामलाई उपचारका लागि भन्दै गृह मन्त्रालयबाट ७३ हजार, चिकित्सकको शिफारिशका आधारमा गोविन्द भट्टराईलगायत ७८ जनालाई १ करोड ३१ लाख ५० हजार रुपैयाँ गृहमार्फत उपचार खर्च उपलब्ध गराइको छ । यस्तै सञ्जय पण्डित फाउन्डेसन नेपाललाई ५ लाख रुपैयाँ र वैतडीका मनोजकुमार चन्दलाई ३ लाख रुपैयाँ संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमार्फत उपलब्ध गराइको छ ।
विशेश्वरा दाहाल, रीता आचार्य, चर्तुभुज आत्रेय, दीलिप लाभा, रुद्रबहादुर कुरुङवाङ, किर्ती सिंह, सिर्जना गोले, मीना परियार र गणेश सापकेटालाई गृहमार्फत १४ लाख रुपैयाँ उपलब्ध गराइएको छ । पत्रकार चक्रपाण्ी नेपाललाई २ लाख रुपैयाँ उपचार र सञ्चार खर्च मन्त्रालयमार्फत उपलब्ध गराइएको छ । प्रा.डा. रत्नकमल वैद्यलाई उपचारका लागि भन्दै स्वास्थ्य मन्त्रालयबाट १ लाख रुपैयाँ उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै भदौमा घनेन्द्र बस्नेत, सिद्धराज जोशी, गणेश मैनाली, गंगालक्ष्मी श्रेष्ट मधुकर पोखरेल, बैकुण्ठ थापा, निशा धामी र रविन्द्र शाहीलाई समेत गरी कुल १३ लाख रुपैयाँ उपलब्ध गराइएको छ । यस्तै आर्थिक सहायता पाउनेमा अन्य धेरै व्यक्ति तथा संस्था रहेका छन् । सबै आर्थिक सहयोग मन्त्रिपरिषदबाट पारित गरेर उपलब्ध गराईको पाइएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३ १९:४४
प्रतिक्रिया दिनुहोस्