विशेष
काठमाडौं । सामाजिक सञ्जाल तथा खासगरी पाकिस्तानी सञ्चारमाध्यममा अहिले एक व्यक्तिको निकै चर्चा छ । ती व्यक्ति कुनै कलाकार, राजनीतिज्ञ, क्रिकेटर वा कुनै सभ्रान्त वर्गका होइनन् । उनको दैनिकी भनेको पाकिस्तानको राजधानी इस्लामावादको सन्डे चोक (पेशावर चोक)मा चिया बेच्नु हो । १७ भाइबहिनीका दाजु रहेका उनले खासै पढेलेखेका पनि छैनन् । तैपनि उनको चर्चा केही समयदेखि पाकिस्तानमात्र नभएर अन्तर्राष्ट्रिय मिडियासम्म भइरहेको छ । कारण हो, आकर्षक जिउडाल । र, त्यसमा पनि उनका निलो रंगको आँखा । उनी अहिले इन्टरनेट दुनियाँमा ‘पाकिस्तानी चायवाला’ को नामले चर्चित छन् ।
उनको वास्तविक नाम अरशद खान हो । २५ वर्षदेखि इस्लामावादमै बस्दै आएका ती चायवालाको काम भनेको चिया पकाउनु र ग्राहकलाई खुवाउनु हो । उनको चर्चा त्यतिबेला सुरु भयो, जब पाकिस्तानका एक स्थानीय फोटोग्राफर जिया अलीले उनको तस्बिर सामाजिक सञ्जालमा अपलोड गरे । उनले १४ अक्टोबरमा इन्स्टाग्राममा सो तस्बिर पोस्ट गरेका थिए । जियाले पोस्ट गरेको तस्बिर कसैले सेयर गरे । त्यसपछि यो तस्बिर भाइरल बन्न पुग्यो । ट्वीटरमा गत सोमबार ‘ह्यासट्याग चायवाला’ ट्रेन्डिङ एक नम्बर बन्न पुगेको थियो ।
यो फाटोको यति धेरै चर्चा हुनुमा अरशदको सुन्दरता नै महत्वपूर्ण कारण हो । त्यसमा पनि अरशद खानको सुन्दरताप्रति पाकिस्तानी युवतीहरू त ‘पागल’ नै भएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएको यो तस्बिरको कमेन्टमा युवतीहरूले उनलाई आफ्नो ‘आमाको ज्वाइँ’सम्म भन्न भ्याइसकेका छन् ।
उनको यति धेरै चर्चा छ कि पाकिस्तानीहरूले उनको तुलना बलिउड हस्तीहरूसँग पनि गरेका छन् । कसैले बलिउडका स्टारभन्दा पनि बढी उनी सेक्सी भएको बताएका छन् । कसैले बलिउडका पाकिस्तानी कलाकार फवाद खानसँग उनलाई तुलना गरेका छन् । कसैले भने उनलाई मोडलिङमा जान सुझाएका छन् । ट्वीटरमा उनको चर्चा चुलिँदो छ ।
ट्वीटरमा केहीले उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गर्दै उनी पाकिस्तानका चियावाला भन्दै भारतीयप्रति घोचपेच पनि गरेका छन् ।
न्युज एजेन्सी तथा टिभी च्यानलहरुले उनको बारेमा रिपोर्टिङ गरिरहेका छन् । उनका बारेको समाचार अमेरिकी लोकप्रिय वेबसाइट बजफिडलगायत धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेटेका थिए ।
सामाजिक सञ्जालमार्फत यत्रो चर्चा हासिल गरेको भए पनि उनलाई फेसबुक तथा ट्वीटर भनेको के हो भन्ने थाहा छैन । तर, रातारात पाएको लोकप्रियताप्रति भने औधी खुसी छन् । उनीसँग तस्बिर खिचाउन आउने मानिसहरूको भीडले दैनिक काम असर परेको उनको गुनासो छ ।
अब सामाजिक सञ्जालमा उनको लोकप्रियताको असर देखिन थालेको छ । ट्वीटरमा ट्रेन्डिङ बनेपछि उनको जीवनशैली बदलिएको छ । अरशदले इस्लामावादको एक अनलाइन रिटेलरबाट मोडलिङ कन्ट्रयाक्ट पनि प्राप्त गरिसके । रिटेल साइट ‘फिटइन डट पीके’ले अरशद खानसँग राम्रै राशिमा मोडलको रूपमा अनुबन्ध गरेको बताइएको छ । उसले आफ्नो वेबसाइटमा अरशद खानको तस्बिर राखिसकेको छ । उनी अब चायवाला होइन, फेशनवाला भएका छन् ।
अरशदको यो रूपान्तरणमा सामाजिक सञ्जालको योगदान रहेकोमा कुनै शंका नै भएन । परम्परागत मिडियाबाट ओझेलमा रहेको व्यक्ति तथा विषयलाई बाहिर ल्याउन सामाजिक सञ्जाल वा अल्टरनेटिभ मिडियाले अझ दमदार रूपमा काम गर्न सक्छन् भन्ने प्रमाणित भएको छ ।
–एजेन्सीको सहयोगमा
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३ १९:३५
प्रतिक्रिया दिनुहोस्