विशेष
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली प्रमाणपत्रधारी डाक्टरलाई पक्राउ गरेर मुद्दा चलाइरहेका बेला प्रहरीकै अस्पतालमा काम गर्ने डाक्टर पनि नक्कलीको कारबाहीमा परेका छन् । प्रहरीले आफ्ना अफिसरलाई सिधै कारबाही नगरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती डाक्टरलाई पक्राउ गरेर कारबाही सुरु गरेको छ ।
नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी डा. महेशमान प्रधान नक्कली शैक्षिक योग्यताका आधारमा डाक्टर बनेको भन्दै अख्तियारले प्रधानविरुद्ध मुद्दा दायर गरेको छ । प्रधान आईएससीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएर डाक्टर पढ्न गएको तथ्य खुलेको छ ।
प्रधानले आईएससी र बीएससीको शैक्षिक प्रमाणपत्रमा जन्म मितिलगायत विवरण सच्याएर जागिर खाएको भन्दै यसअघि पनि प्रहरी वृत्तमा विरोध हुने गरेको स्रोतले बताएको छ ।
प्रधानलाई सीआईबीले कारबाही गर्दा असहज हुने भएका कारण अख्तियारलाई अनुसन्धान गर्न फाइल बुझाइएको नेपाल प्रहरीका एक डीआईजीले बताए । प्रधान २०५९ साल जेठ २० गते डीएसपीबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
प्रहरी प्रवक्ता डीआईजी माधव जोशीका अनुसार अख्तियारले मुद्दा दायर गरेलगतै प्रहरी प्रधान कार्यालयले एसएसपी प्रधानलाई निलम्बन गरेकोे छ । मेडिकल काउन्सिल स्रोतका अनुसार प्रधानमाथि अनुसन्धान गर्न काउन्सिलले नै सीआईबीलाई प्रस्ताव गरेको थियो । सीआईबीले भने प्रधानलाई कारबाही नगरी फाइल अख्तियारको जिम्मा लगाएको थियो ।
सीआईबी प्रमुख डीआईजी नवराज सिलवालले भने महेश प्रधानको फाइल सीआईबीले नै अनुसन्धान गरेको बताए । “सीआईबीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी डाक्टर बनेकाहरूको अनुसन्धान गरिरहेको छ । कसैलाई पनि छाडिँदैन,” सिलवालले भने ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७३ १२:४९
प्रतिक्रिया दिनुहोस्