site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘व्यंग्य होइन, गाली नियन्त्रण गर’

काठमाडौं । हास्य विधा नेपालमा साहित्य लेखनबाट शुरु भयो । केशवराज पिँडाली, भैरव आर्याललगायत साहित्यकारहरुले यसलाई संस्थागत गरे । त्यसो त तीन दशकअघिसम्म कमिक्सका पुस्तक रत्नपार्क र बागबजारका पुस्तक पसल र सडकमा बाक्लै बेच्न राखिन्थे । लेखनबाट विस्तारै हास्य व्यंग्य प्रहसनमा रुपान्तरण हुँदै गयो । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मह जोडीको गाईजात्रा प्रहशनले यसलाई थप उचाइ दियो । 

प्रज्ञा प्रतिष्ठानको हलमा प्रत्येक वर्ष आयोजना हुने यस्तो गाईजात्रा विस्तारै लोकप्रिय हुँदै गयो । यस्तै खालका कार्यक्रम टेलिभिजनमा हास्य टेलिश्रृंखलाका रुपमा प्रस्तुत हुन थाले । तिनको लोकप्रियताबाट हौसिएका हास्य कलाकारहरुले सहकार्य गरेरै हरेक वर्ष भदौमा हप्तौंसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठान, नाचघर, सभागृहजस्ता ठूलो दर्शक क्षमता भएका हलहरुमा टिकट बेचेर देखाउन थाले, जुन अहिले पनि जारी छ । 

हास्यव्यंग्य समाजमा भैरहेका विकृति तथा विसंगतिविरुद्धको चोटिलो प्रहार हो, जुन कलात्मक हुन्छ । हास्य व्यंग्य कलात्मक भएन भने त्यो गाली हुन्छ । घुमाउरो शैलीमा विकृति तथा विसंगतिविरुद्धको खरो प्रहार नेपालमा सधंै हुँदै आयो, चाहे निर्दलीय पञ्चायती शासन व्यवस्थामा होस् या राजा ज्ञानेन्द्रको हुकुमी शासनमा वा त्योभन्दा अगाडि राणा शासन कालमै किन नहोस् । ठट्यौली पारामा राज्य सत्तामा रहेकाहरुलाई व्यंग्य गर्दै आफ्नो जिम्मेवारी र कर्तव्यमा रहिरहन सचेत गराउने यो परम्परालाई कतै यही भदौ १ गतेबाट लागु भएको मुलुकी संहिताले लगाम लगाउने त हैन ? धेरैको चिन्ता, चासो र सरोकार छ । 

पञ्चायतकालदेखि नै हास्यव्यंग्य गर्दै आएका किरण केसी (राता मकै) वाक स्वतन्त्रता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका पक्षमा हास्य कलाकार लडेको सम्झिँदै भन्छन्, “वाक स्वतन्त्रताका नाममा अरुलाई नाङ्गै हुने गरी बोल्न पाइँदैन । व्यक्तिगत रिसइवीका आधारमा कसैको चरित्र हत्या गर्नेगरी हास्य व्यंग्य गर्नु हुँदैन ।”

०४२ सालदेखि गाईजात्रा देखाउँदै आएका उनी कपोकल्पित रुपमा आरोप लगाउन कसैले पनि नपाउने तर्क गर्दै गलत कामका लागि खबरदारी गरेकै आधारमा कारबाही गरिनु र अंकुश लगाउन भने नपाइने बताउँछन् । उनी भन्छन्, “व्यंग्य कला हो, यो घुमाउरो हुन्छ । व्यंग्य कसलाई गरिएको हो भनेर सबैले बुझ्छ तर जसको व्यंग्य गरिएको हो, उसको अपमान भने हुनु हुँदैन, वास्तवमा यही नै हास्य व्यंग्य हो ।”

अहिले आएका केही हास्य कलाकारमा हास्य व्यंग्ग्यको भलीभाँती मर्मबारे जानकारी नभएको भन्दै सिधै गाली गलौजमा उत्रिने परम्परा रहेकाले पनि केही आलोचनाको सिकार हुनुपरेको हास्य कलाकार जितु नेपाल बताउँछन् । “धेरै व्यंग्य गर्न पाइँदैन भनेर भन्न पाइँदैन तर अपशब्द प्रयोग पनि गर्न पाइँदैन । अरुको मानमर्दन पनि गर्न पाइँदैन,” जितु भन्छन्, “व्यंग्य ट्रयाकमा हुनुपर्छ । कार्टुनिष्टले बनाएको कार्टुनले सबैलाई सभ्य हिसाबले व्यंग्य गर्छ भने त्यसको विरोध गर्नुको औचित्य छैन ।” नियमन जरुरी रहेको तर नियन्त्रण भने आवश्यकता नरहेको उनी बताउँछन् । 

हास्य व्यंग्य प्रहशन गाईजात्रासँग जोडिएर आएको छ । कठोर पञ्चायती व्यवस्थामा पनि हास्यव्यंग्यलाई राज्यले छुट दिएको थियो । त्यसैले यसलाई कसैले पनि रोक्न नसक्ने हास्य व्यंग्य कलाकार दीपकराज गिरी बताउँछन् । यद्यपि व्यक्तिका नाममा भने व्यंग्य गर्न नहुने उनी बताउँछन् । 

“लोकतन्त्रमा व्यंग्य गर्न पाइन्छ तर देउवा र ओलीले ....यसो गरे भन्दै हिँड्न पाइँदैन । यसो गरियो भने त्यो व्यंग्य होइन, गाली हुन्छ,” दीपकराज भन्छन्, “हामीले करप्रसाद ओली भनेर भन्न पाइन्छ । घुमाएर भन्न पाइन्छ, संसारभर हास्य व्यंग्यकर्मीलाई रोक्न गाह्रो हुन्छ ।”

हास्य व्यंग्यकर्मी पनि आफ्नै मर्यादामा बस्नुपर्ने भन्दै उनी सरकारले हास्य व्यंग्यलाई नियन्त्रण गर्न नसक्ने बताउँछन् । कलात्मक हुनुपर्नेमा जोड दिँदै दीपकराज भन्छन्, “मह जोडीले पञ्चायतकालमा पनि पूर्णविराम दिनुभएन र अफ्ठ्यारो पनि भएन,” दीपकराज भन्छन्, “हामीले राजाको कठोर शासन व्यवस्थामा पनि व्यंग्य गरेरै आयौं । त्यसैले मलाई लाग्छ, सुनियोजित ढङ्गले कसैले हास्यव्यंग्य गर्छ भने त्यसलाई नियन्त्रण हुन्छ तर कलात्मक तरिकारले विद्यमान विकृती र विसंगतिविरुद्ध प्रहार गर्नलाई कुनै पनि शासन व्यवस्थाले छेक्दैन । 
हास्य व्यंग्य स्वभावतः सरकारको सधै प्रतिपक्ष हुन्छ । त्यसैले यसप्रति राज्य अनुदार हुनु नौलो हैन तर स्वस्थ आलोचना र व्यंग्यप्रति नै राज्यको बक्रदृष्टि पर्नुचाहिँ गलत हुने अर्का हास्य कलाकार तथा कमेडियन एक्टिभिस्ट मनोज गजुरेल बताउँछन् । 

“प्रतिपक्षीको धर्म राज्य जतिसुकै आक्रामक भए पनि त्यसको रचनात्मक विरोध गर्दै सचेत तुल्याउनु हो,” मनोज भन्छन्, “आलोचना र विरोध गरेका कारण एक–दुई जना पक्राउ परेकै कारण राज्य अनुदार भयो भनेर भन्न त मिल्दैन तर सत्ता हास्य व्यंग्यप्रति अनुदार हुने सम्भावना पनि छ ।”

किन भन्ने जिज्ञासामा उनको जवाफ छ, “भोलि कुनै मन्त्री वा सरकारमा बसेको व्यक्तिलाई मानमर्दन भयो भने त्यस्तो अवस्थामा त्यो आक्रोश हास्यव्यंग्यमा खनिने सम्भावना छ । तर त्यो खतरालाई हामीले सचेत भएर नियाल्नुपर्छ तर अहिले नै यो खतरा आइहालेको भने छैन ।” राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव र जातीय एकताका कुरामा सधै कलाकारले सेल्फ सेन्सरसिप गर्नुपर्नेमा जोड दिँदै मनोज राज्यका विकृति र विसंगतिविरुद्ध व्यंग्य गर्न सेन्सरसिप जरुरी नरहेको सन्देश दिन्छन् । 

व्यंग्य सिध्याउन हैन, सुधारका लागि हो भन्ने तथ्य राज्य र हास्यव्यंग्यकर्मी दुवैले बुझ्नुपर्नेमा जोड दिँदै उनी भन्छन्, “अराजकता नियन्त्रण हुनुपर्छ । व्यंग्य र गाली के हो परिभाषित हुनुपर्छ । समाजको शान्ति गिजोल्ने कुन हो र सुधारका लागि राम्रो बनाउन खोज्ने को हो कानुनले नै पहिचान गर्नुपर्छ तर हास्य व्यंग्यलाई नियन्त्रण भने गरिनु हुँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०७५  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro