काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्ष २०७४–०७५ मा ४५ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । सरकारी अनुदानबाहेक कोषले विभिन्न स्रोतबाट यो आम्दानी गरेको हो । कोषले भेटीबाट मात्रै ५ करोड ७९ लाख कमाइ गरेको छ ।
कोषका निर्देशक भरत मरासिनीका अनुसार सबैभन्दा धेरै भेटी चढाउनेमा भारतीय र नेपाली दर्शनार्थी पर्छन् । “पशुपति दर्शनका लागि आउनेमा सबैभन्दा धेरै भेटी चढाउने भारतीय र नेपाली दर्शनार्थी नै हुन्छन्,” मरासिनी भन्छन्, “अरु देशका दर्शनार्थीको संख्या पनि उच्च रहे पनि गैरहिन्दू भएकाले भेटी चढाउने कम हुन्छन् र चढाए पनि कम चढाउँछन् ।”
कोषले ७ करोड ७८ लाख विशेष पूजाबाट आम्दानी भएको जनाएको छ । विशेष पूजा उद्योगी–व्यवसायी, ठूला राजनीतिज्ञ तथा विदेशी विशेष पाहुनाहरुले गर्ने गरेका छन् । केही महिनाअगाडि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेका थिए । विशेष पूजाका लागि कोषले ११ सय र २१ सय रकम तोकेको छ ।
यस्तै कार्यालय तर्फबाट ३१ करोड ६७ लाख आम्दानी भएको कोषले जनाएको छ । कोषलाई सरकारले २२ करोड ९० लाख अनुदान दिएको थियो । यो रकम भने कोषको आम्दानीमा समावेश छैन ।
४५ करोड २१ लाख आम्दानी गरेको कोषले सोहीबराबरको खर्च पनि भएको जनाएको छ । निर्देशक मरासिनीका अनुसार गत आर्थिक वर्षमा ४५ करोड ७७ लाख खर्च भएको छ । आम्दानी र खर्च हेर्ने हो भने कोष २४ लाख घाटामा देखिन्छ । तर, सरकारले दिएको अनुदान रकमका कारण कोष ऋणमा भने देखिएको छैन ।
कसरी २४ लाख घाटा ?
कोषका सदस्यसचिव डा. प्रदीप ढकाल भने यसलाई घाटा भन्न नकिल्ने बताउँछन् । आन्तरिक स्रोतबाट आएको रकमबाट भूकम्पले क्षति पुर्याएका संरचना पुनर्निर्माण गरिएकाले खर्च धेरै देखिएको उनको भनाइ छ । “रकम बचत गरेर भत्किएका संरचना पुनर्निर्माण नगरी बस्नुभन्दा रकम खर्च गरेर निर्माण गर्नु नै राम्रो हो जस्तो लाग्छ,” ढकालले भने । ४६ वटा संरचना निर्माण गर्ने लक्ष्य राखेको कोषले १० वटा संरचना निर्माण सम्पन्न गरेको छ भने १८ वटाको पुनर्निर्माण भैरहेको र बाँकी निर्माणकै पाइपलाइनमा रहेको उनले जानकारी दिए ।
गत वर्ष भने कोष बचतमा थियो । “एक करोडसम्मको घाटालाई हामी सामान्य रुपमा लिन्छौं, गत वर्षको बचतका कारण यो वर्षको घाटालाई हामी परिपूर्ति गर्छौं,” निर्देशक मरासिनी भन्छन्, “परिस्थितिअनुसार कहिले केही रकम कम हुन्छ, कहिले बचत हुन्छ । स्वच्छाले दिने चन्दाबाट ठूलो रकम आउने भएकाले कुनै वर्ष कम कुनै वर्ष बढी हुन्छ ।”
कोषले भट्ट, भण्डारी तथा कर्मचारीको तलबभत्ता तथा अन्य मन्दिर सेवा शीर्षकमा मात्रै ५ करोड ११ लाख खर्च गरेको छ । कोषले सबैभन्दा धेरै २२ करोड ८१ लाख प्रशासनिक काममा खर्चिएको देखिएको छ । यस्तै विशेष पूजामा ३ करोड ५२ लाख खर्चिनु परेको मरासिनीले जानकारी दिए ।
‘पारदर्शितामा शंका नगरौं’
पशुपति क्षेत्र विकास कोषलाई पारदर्शी हुन नसकेको आरोप लाग्ने गरेको छ । यद्यपि कोषले भने यसको बचाउ गर्दै आएको छ । दैनिक साँझ सबैका अगाडि पैसा खन्याएर गन्ने गरिएका कारण कोष पारदर्शी भएन भनेर आरोप लगाउनुको कुनै कारण नरहेको मरासिनी बताउँछन् ।
यद्यपी उनले आम्दानीको स्रोत भने बढाउँदै जानुपर्ने आवश्यकता रहेको बताए । पत्रिकामा कोषको आम्दानी र खर्च विवरण सार्वजनिक गरिरहेको मरासिनीले जानकारी दिए ।
यस्तो छ आम्दानी बढाउने योजना
यो वर्ष पर्यटकको संख्या बढ्ने देखिएको भन्दै डा. ढकालले त्यसबाट करिब ४ देखि ५ करोड रुपैयाँ आम्दानी बढ्ने विश्वास व्यक्त गरे । सन् २०१८ मा हवाई मार्गबाट आएका १ लाख २४ हजार पर्यटकले पशुपति क्षेत्रको भ्रमण गरेका थिए ।
प्रवद्र्धनात्मक कार्यक्रम गर्ने योजना बनाएको सुनाउँदै उनले यसबाट १५ करोड रुपैयाँ उठ्ने गरेकोमा यस वर्ष २० करोड पुर्याउने बताए । घरबहाल समायानुकूल परिमार्जन गर्ने, विशेष पूजाको दर बढाउने कोषको योजना छ ।