नुवाकोट । तीन वर्षका लागि भनेर अस्थायी रूपमा फोहोर फाल्न थालिएको ककनी गाउँपालिका–२ को सिसडोल ल्यान्डफिल साइट १३ वर्षपछि पूर्णरूपमा भरिएको छ । फोहोर फाल्न वैकल्पिक स्थानको खोजी नगरिए र ल्यान्डफिल साइट तयार नभए ६ महिनापछि काठमाडौँ उपत्यकालगायत छिमेकी जिल्लाको फोहोर उठ्नसमेत ठप्प हुने महानगरपालिकाले जानकारी दिएको हो ।
काठमाडौँमा जनघनत्व बढेसँगै फोहोर विसर्जन गर्ने ठाउँको अभाव भएपछि १३ वर्षअघि ०६२ भदौ २२ गतेदेखि महानगरपालिकाले सिसडोललाई अस्थायी ल्यान्डफिल साइट बनाइ फोहोर फाल्न थालिएको थियो ।
एकदशक वित्दा पनि महानगरले वैकल्पिक स्थान तय गर्न नसक्दा काठमाडौँबासीले फेरि फोहोरको समस्या झेल्न बाध्य भएका हुन् ।
काठमाडौँ महानगरपालिका वातावरण व्यस्थापन विभाग प्रमुख हरि कुँवर सरकारले फोहोर फाल्ने वैकल्पिक स्थान तय नगरिदिए ६ महिनापछि फोहोर उठाउन नसकिने बताउँछन् ।
त्यसैले महानगरले सरकारसँग फोहोर व्यवस्थापन हुन सक्ने ल्यान्डफिल साइट, प्रभावित क्षेत्रका स्थानीयबासीहरूको शिक्षा, स्वास्थ्य, कृषि, सडक र अन्य विकास निर्माणका लागि चाहिने आवश्यक बजेट विनियोजन गर्नसमेत माग गरेको छ । त्यस्तै क्षतिपूर्ति, घर भाडाका लागि चाहिने बजेट व्यवस्थापन गर्नसमेत उसले अनुरोध गरेको छ ।
कहाँ पुग्यो बञ्चरे डाँडोमा ल्यान्डफिल बनाउने योजना ?
महानगरपालिकाले सहरको फोहोर जेनतेन उठाइरहेको छ । तर, उसले व्यवस्थापन गर्न सकेको छैन । फोहोर फाल्दै आएको सिसडोलक्षेत्रको बाटो हिलाम्य छ ।
फोहोरको थुप्रोमा माटो हालेर बनाएको बाटो दिनहुँ दुई–चार फिट भाँसिदै गएको महानगर बताउँछ । अहिले सिसडोल क्षेत्रमा फोहोरका गाडीको लावालस्कर लागेको छ । टाढा–टाढासम्म दुर्गन्ध फैलिएकाले महामारीको भय उस्तै छ ।
महानगरले यो समस्या झेलेको पहिलोपटक होइन । सिसडोलमा फोहोर फाल्न पटक–पटक स्थानीयबासीले अवरोध गर्न थालेपछि संघीय मामिला तथा स्थानीय विकासमन्त्रालय मातहतको फोहोर मैला प्राविधिक सहयोग केन्द्रमार्फत सिसडोलभन्दा दुई किलोमिटर पश्चिमको बञ्चरे डाँडोमा स्थायी ल्यान्डफिल साइट बनाउने गरी तयारी थालेको थियो ।
कच्ची बाटो पुर्याउने, कोल्पु खोलामा पुल हाल्ने, खोला डाइभर्सन गर्नेबाहेक अन्य पूर्वाधारका कामसमेत भए । वन क्षेत्र नभएको र गहिरो र भिरालो पाखो सम्याउँदै फोहोर विर्सजन गर्न पाए वर्षौं ढुक्क हुने महानगरको सपना थियो ।
तर, संघीयता लागु भएको अवस्थामा स्थानीय निकायले पनि केन्द्र सरकारकै मुख ताक्न नहुने भन्दै दुई वर्षदेखि रकम निकासा हुन ठप्प भएपछि बञ्चरे डाँडामा ल्यान्डफिल साइट निर्माण गर्ने योजना अलपत्र परेको छ ।
त्यससँगै काठमाडौँको फोहोर निजी क्षेत्रलाई दिने महानगरको तयारी पनि छ । नौ वर्षको अन्तरालमा गैर सरकारी संस्था नेपोस्टसँग विस्तृत परियोजन प्रतिवेदन (पीडीए) सम्झौता भइसकेको कुँवर बताउँछन् । त्यसमा लगानी बोर्डले काम पनि गरिरहेको छ ।
तर, पछिल्लो समय फोहोर निजी क्षेत्रलाई दिन काठमाडौँ महानगरपालिका आफैँ तयार नभएको गुनासो बढ्न थालेको छ । यसमा कुँवर भन्छन्, “ल्यान्डफिल साइट तयार नभएकाले यसमा काम गर्न स्वयम् संस्था तयार छैन । हामीले सरकारलाई भनेका पनि यही हौँ कि, पहिलो बञ्चरे डाँडामा ल्यान्डफिल साइट निर्माण गरौँ ।”
फोहोर व्यवस्थापनको जिम्मा लिने सस्थालाई ल्यान्डफिल साइट सरकारले नै व्यवस्था गर्ने भन्ने सम्झौता भएकाले बञ्चरे डाँडोमा आवश्यक रकम विनियोजन गर्नुपर्ने र पूर्वाधार निर्माणको काम युद्धस्तरमा हुनुपर्ने महानगरको धारणा छ ।
महानगरको आफ्नै तयारी के छ ?
सिसडोल पनि भरिने, बञ्चरे डाँडो पनि नबन्ने हुँदा काठमाडौँ महानगरपालिका कानमा तेल हालेर नबसेको वातावरण व्यवस्थापन विभाग बताउँछ ।
यसबीचमा उसले सिसडोल, बञ्चरे डाँडा आसपासमै १७८१ रोपनी जग्गा अधिकरण गरेको छ र पूर्वाधार निर्माणको काम शुरू पनि गरेको छ । तर तीन वर्षभित्र सडक, पहुँच मार्ग, लिचेड व्यवस्थापनआदिमा काम नसकिने हुँदा फेरि पनि फोहोर विसर्जनमा समस्या हुने महानगर बताउँछ ।
फोहोर १९ नगरपालिकाको, व्यवस्थापन गर्ने जिम्मा महानगर एक्लैको !
अहिले सिसडोल क्षेत्रमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकासहित झन्डै १९ वटा नगरपालिकाको दैनिक १ हजार टन फोहोर पुग्ने गर्छ । पछिल्लो समय ककनी गाउँपालिकाका अतिरिक्त धादिङ, काभ्रेको बनेपा नगरपालिकासम्मको फोहोर फाल्ने सामुहिक थलो बनेको छ ।
तर, समस्या काठमाडौँ महानगरपालिकाकोमात्रै थाप्लोमा परेको उसको गुनासो छ ।
“महानगरपालिकाले अगुवाइ गरेकाले हाम्रो बढी जिम्मेवारी होला,”कुँवर भन्छन्, “काठमाडौँ उपत्यकाकै फोहोर आउने हुँदा सबैले उत्तरदायित्व निभाउनुपर्छ ।” सिंहदरबार, बालुवाटार, संसद् भवन, शीतल निवास, प्रधानमन्त्री कार्यालयसमेतको फोहोर महानगरले उठाउने गरेको भन्दै ल्यान्डफिल साइट खोज्ने, बनाउने जिम्मा महानगर एक्लैको नरहेको र सबैले त्यसमा सघाउनुपर्ने विभागको भनाइ छ ।
लाचार नेतृत्व निरीह प्रशासन
१३ वर्षको अन्तरालमा काठमाडौँ महानगरपालिकाको नेतृत्व एकदमै निरीह, लाचार रहेको स्थानीयबासी बताउँछन् । उनीहरूले नेतृत्वको ‘निकम्मापन’को आफूहरू साक्षी बसेको बताउँदै महानगरपालिकाले स्थानीयबासीको सहनशीलताको फाइदा उठाएको बताउँछन् ।
“महानगरपालिकाले सम्झौता गरेअनुसार केही पनि गरेको छैन । न फोहोर व्यवस्थापना सही ढंगले गरेको छ । न लिचेड व्यवस्थापन वातावरणअनुकूल छ । खाली फोहोरमात्रै मिल्काएको छ,” स्थानीय अञ्जु सेढाइँले बाह्रखरीसँग गुनासो गरिन् ।
उनले हिँउदभरि कानमा तेल हालेर बसेकाले वर्षामा समस्या निम्तिएको बताउँदै सिसडोल क्षेत्रमाजस्तै लापरवाही गरे बञ्चरे डाँडामा फोहोर फाल्न नदिइने बताइन् । उनले काठमाडौँको फोहोरले ओखरपौवाबासीको आयु नै घटाएको, पशुचौपायाका मारेको भन्दै यसको क्षतिपूर्ति मूल्यमा असुल नहुने बताइन् । “ओखरपौवाबासी केटाकेटी जन्मँदै रोगी जन्मन्छन् । स्थानीयहरू अल्पायुमै मर्न बाध्य छन्,”उनले भनिन्, “वयोवृद्धमामात्र नभइ युवाकै स्वास्थ्यमा समस्या देखिन थालेको छ । यस्ता दुर्गन्ध सहेर फोहोर फाल्न दिएका छौँ । तै पनि महानगरले व्यवस्थापन गर्न सक्दैन ।”
उनले महानगरले फोहोर फाल्ने ठाउँमा गाडीको व्यवस्थापन गर्न ट्राफिकसमेत राख्न नसकेको बताउँदै, महानगरलाई जनप्रतिनिधिले पंगु बनाएको आक्रोश पोखिन् ।
चालक भन्छन्– दुई दिनमा भात खान्छौँ, फोहोरमै सुत्छौं !
काठमाडौँ उपत्यकाको फोहोरको प्रताडना बेहोर्ने ओखरपौवाबासीमात्रै होइनन्, सिसडोलसम्म फोहोर पुर्याउने चालकको नियति पनि उस्तै छ । मंगलबारको अविरल वर्षाले बाटो हिलाम्य बनाइदिएपछि मंगलबार दिउँसोदेखि नै सिसडोलमा फोहोर खस्न सकेन । बुधबार दिनभरि भोकभोकै चालकहरूले सडकमै गाडी कुरेर भोकभोकै बसे । बिहीबार दिउँसो घाम लागेकाले फोहोर खसाल्न पाइन्छ कि भन्ने आश बढे पनि घर फर्कन पाइने, नपाइने अन्योलै थियो ।
सिन्धुपाल्चोकका कृष्ण कार्की भन्दै थिए, “सिसडोलमा फोहोर फाल्न आउने चालक दुई दिनमा भात खान्छन् र फोहोरको डंगुरमा सुत्छन् ।”
उनले महानगरकै लापरवाहीका कारण सबै समस्यामा परेको बताउँदै जनप्रतिनिधिसँग फोहोरको व्यवस्थापन गर्ने ढंग नभएको आक्रोश पोखे । “अघिपछि वास्ता गर्दैनौँ, पानी परेपछि बाटोको चिन्ता हुन्छ । बनाउन थाल्छौँ, समस्याको कारण यही हो,” उनले भने । उनले गाडी सडकमा छाडे स्थानीयले तोडफोड, ढुंगामुढा गर्ने गरेको बताउँदै चालकको सुरक्षामा ध्यानदिन महानगरलाई आग्रह गरे ।
“रातसाँझ नभनी फोहोर बोकेर हिँड्नुपर्छ । फोहोरले स्वास्थ्यमासमेत गम्भीर असर पु¥याएको हुन्छ,”उनले भने, “यसविषयमा महानगरले विचार पुर्याओस् ।” पानी परेर गाडी रोकिनेबित्तिकै स्थानीयसँग पौँठेजोरी खेल्नुपर्ने भन्दै काठमाडौँ उपत्यकाको फोहोरले सबैलाई दुःख दिएको बताए ।