site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रनवेको कालोपत्रे उक्किँदा नेपालको बदनाम भयोः विमानस्थल कार्यालय, प्राधिकरण भन्छः हाम्रो वशमा छैन

काठमाडौं । साउन १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग उक्किएपछि बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकियो । जहाज अवतरण गर्ने कोटेश्वरतर्फको जिरो–टु धावनमार्गकोे कालोपत्रे उक्किएपछि करिब २० मिनेट आकाशकै विमानहरु होल्ड भए ।  

त्यसको केही दिनअगाडि  नेपालगञ्जबाट काठमाडौँ आएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल सवार विमानसमेत धावनमार्ग उक्किएका कारण ४५ मिनेट आकाशमै होल्ड भएको थियो । कतार एयरवेज, विमान बंगलादेश, जेट एयर, नेपाल एयरलाइन्सलगायत जहाज अवतरण गर्न नसकेपछि आकाशमै होल्ड भएका थिए भने आन्तरिक उडानमा रहेका बुद्ध एयर र यति एयरलाइन्सका जहाज उडान भरेकै विमानस्थलतर्फ फर्किएका थिए । 

हरेक वर्ष मनसुन शुरु हुनेबित्तिकै यो समस्या पटकपटक देखिन्छ । केही मिनेटमै उक्किएको धावनमार्ग टालिन्छ । तत्काल कालोपत्रे सुकाउने मेसिन छ, सुकाइन्छ र एयर ट्राफिकले अवतरणका लागि होल्ड भएका विमानलाई अनुमति दिन्छन् । विमानस्थल पुनः सुचारु हुन्छ । विमानस्थल सुचारु त हुन्छ तर, फेरि कुन बेला पुनः त्यही समस्या देखिन्छ भर हुँदैन । विमानस्थल कार्यालय यो समस्याबाट हैरान भैसकेको छ । 

‘इच्छाशक्ति भएन’
धावनमार्गको कालोपत्रे पटक पटक उक्किए पनि पुनः उक्त समस्या दोहोरिन नदिन सरोकारवाला निकायले गम्भिरता भने देखाएका छैनन् । एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको एउटैमात्र धावनमार्ग विमानस्थल सञ्चालनमै रहेका बेला पटकपटक उक्किँदा पनि मर्मतसम्हारको जिम्मेवारी पाएको सरोकारवाला निकायले त्यसको दिगो व्यवस्थापनमा चासो नदेखाएको हो ।

विमानस्थल बिग्रिए अथवा भत्किए मर्मतसम्हारको जिम्मा नागरिक उड्डयन प्राधिकरणको हो । तर, प्राधिकरणले यसलाई गम्भीरतापूर्वक नलिएको विमानस्थल कार्यालयले गुनासो गरेको छ । 

‘मेजर मेन्टिनेन्स’ नभएका कारण यस्तो समस्या पटकपटक दोहोरिएको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुर बताउँछन् । “माथिमाथि लेप लगाउने काममात्रै भैरहेको छ । विमानस्थल सञ्चालनमा नआएको रातिको समयमा मेन्टिनेन्स गर्दा राम्रोसँग बनाउन सकिन्छ,” प्रवक्ता ठाकुर भन्छन्, “पहिला–पहिला रातिको समयमा मेजर मेन्टिनेन्सको काम हुन्थ्यो, त्यो अहिले भैरहेको छैन । हामीले प्राधिकरणलाई पटक पटक आग्रह गर्दै आइरहेका छौं ।”

विमानस्थलकै एक उच्च अधिकारी प्राधिकरण सञ्चालक समितिले पर्याप्त बजेट छुट्याए पनि काम भने नभएको बताउँछन् । “हामी भन्दा–भन्दा थाकिसक्यौं, किन काम भएको छैन, उहाँहरुलाई नै थाहा होला । पटक–पटक यसरी विमान आकाशमै होल्ड हुँदा अन्तर्राष्ट्रिय जगतमा नेपालको बदनाम भयो,” ती अधिकारीले गुनासो गरे ।  

विमानस्थल प्रवक्ता ठाकुरले सबै काम छोडेर यो समस्या समाधानमा लाग्नुपरे पनि त्यस्तो नभएको बताए । “विदेशतिर भएको भए पूरै राज्य लाग्थ्यो यसमा, एउटामात्रै अन्तर्राष्ट्रिय विमानस्थल हो यो, यसैले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रलाई कनेक्ट गरेको छ,” उनले भने । उनका अनुसार एउटा विमान आकाशमा होल्ड हुनेबित्तिकै त्यसको असर एयर ट्राफिकमा घण्टौंसम्म पर्छ भने हवाई कम्पनीले लाखौं रुपैयाँ घाटा बेहोर्नुपर्ने हुन्छ । 

बजेट छ, काम भएन 
विमानस्थल मर्मतका लागि तीन अर्ब रुपैयाँ बजेट भए पनि टेन्डर प्रक्रियाका कारण ढिलो भएको प्राधिकरणले बताएको छ । “टेन्डरका लागि सबै डकुमेन्ट रेडी भइसकेको छ । मेरो जानकारीमा आएसम्म सर्ट लिष्टिङ गर्ने काम भैसकेको छ,” प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भने, “सम्भवत मार्चबाट धावनमार्गको मेन्टिनेन्सको काम सुरु हुन्छ ।”

अन्तर्राष्ट्रिय विमान कम्पनीका विमान आकाशमै होल्ड हुँदा अन्तर्राष्ट्रिय जगतमा नराम्रो सन्देश गैरहेको स्वीकार गर्दै प्रवक्ता श्रेष्ठ भन्छन्, “पक्कै पनि यसरी विमान आकाशमै होल्ड हुँदा नराम्रो म्यासेज गैरहेको होला, तर यसलाई हाम्रो काबु बाहिरको परिस्थिति भन्नुपर्छ ।”

होल्ड हुँदा कति हुन्छ घाटा ? 
श्री एयरलायन्सका प्रबन्धक अनिल मानन्नधरका अनुसार एउटा एटीआर विमानले प्रतिघण्टा करिब १५ सय लिटर इन्धन खपत गर्छ । यसको औसत मूल्य डेढ लाख पुग्छ । वाइडबडीमा यो लागत झनै चर्को हुन आउँछ । 

नेपाल एयरलाइन्सले भर्खरै खरिद गरेको वाइडबडी अन्नपूर्ण र मकालुले प्रतिघण्टा ६ हजार ५ सय लिटर इन्धन खपत गर्छन् । एउटा वाइडबडी आकाशमा एक घण्टा होल्ड हुने हो भने एयरलाइन्सलाई साढे ६ लाख रुपैयाँ घाटा लाग्ने नेपाल एयरलाइन्सका प्रवक्ता रवीन्द्र श्रेष्ठ बताउँछन् । 

एटीआर विमान आधा घण्टा होल्ड हुँदा उसले करिब ७५ हजार रुपैयाँ गुमाउँछ । आधा घण्टा होल्ड हुनेबित्तिकै उक्त दिन एयरलायन्स घाटामा जाने गरेको विमान कम्पनीहरु बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro