एजेन्सी । रुसपछि चीनले पनि सफलतापूर्वक हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी गरेको छ जसलाई हवाई प्रविधिमा अर्को ठूलो उपलब्धिका रुपमा लिइएको छ । तर चीनले प्राविधिक विकासमा विश्वलाई पछि पार्दै गर्दा यसले अमेरिकी सैन्य विभागमाथि भने थप दबाब पैदा गराएको सीएनएनले जनाएको छ ।
बेइजिङ स्थित ‘चाइना एकेडेमी अफ एरोस्पेस एरोडाइनामिक्स’, सीएएए र राष्ट्रिय चिनियाँ विज्ञान तथा प्रविधि विभागको सहकारितामा गत शुक्रबार पहिलो परीक्षण गरिएको थियो । हाइपरसोनिक साधन ध्वनिको गति भन्दा पाँच गुणा तीव्र यात्रा गर्न सक्षम हुन्छन् । जसको अर्थ सो मिसाइल केबल तीस मिनेटमै चीनबाट अमेरिका पुग्न सक्नेछ । सीएएएले सोमबार सार्वजानिक गरेको आधिकारिक बयानका अनुसार ध्वनिको भन्दा छ गुना बढी गतिमा, ४,५६३ माइल प्रति घण्टाको रफ्तारमा सो मिसाइल आकाशमा उडेको हो ।
त्यसकारण परीक्षणको तस्बिर चिनियाँ सामाजिक संजाल वीच्याटमा समेत सार्वजानिक गराउँदै सिएएएले सो परीक्षण पूर्ण रुपमा सफल रहेको दाबी गरेको हो । सो परीक्षण हालसम्मकै नौलो र आधुनिक हिसाबले पनि अत्यन्तै कठिन रहेको बताइन्छ । यस्तोमा अन्तराष्ट्रिय प्राविधिक चुनौतिका बावजुद परीक्षण सफल भएको बताइएको हो । तरपनि सिएएएले यसमा प्रयोग गरिएको नयाँ प्रविधिबारे भने कुनै संकेत दिएको छैन । उनीहरुले चिनियाँ हवाई क्षेत्रमा योगदान पुर्याउन आफ्ना प्रयासहरु भविष्यमा पनि जारी राख्ने आशा व्यक्त गरेका हुन् ।
विश्वका सबै ठूला देशहरु वर्षौँदेखि यस हाइपरसोनिक हतियार निर्माण गर्ने प्रतिस्पर्धामा जुट्दै आइरहेका छन् । यही वर्ष मात्र रुसले पनि सफलतापूर्वक यसको परीक्षण गरेको बताउँदै आधिकारिक भिडियो समेत सार्वजानिक गराएको थियो ।
हाइपरसोनिक मिसाइलहरु लन्च गरिसकेपछि अन्तरिक्षमा पुगेर फेरि त्यहाँबाट पृथ्वीकै भूमिमा अत्यन्तै तीव्र गतिमा झर्ने गर्छन् । यिनीहरु धेरै तलबाट लन्च गरिने हुँदा प्रतिरक्षात्मक उपकरण र स्याटलाइट तथा रेडर्सहरुलाई समेत पत्ता लगाउन कठिन हुने गरेको छ । यसै प्रविधि अन्र्तगत अहिले विश्वकै सबैभन्दा ठूलो विमान निर्माणकर्ता बोइङले यात्रुहरुलाई १२० मिनेटमै न्युयोर्कबाट लन्डन पुर्याउन सक्ने हाइपरसोनिक यात्रुबाहक विमान बनाउने तयारी गरिरहेका छन् । यसरी चिनियाँ हाइपरसोनिक विमानमा भने तेज गतिका साथै आधुनिक तापमान सुरक्षा प्रणाली पनि रहेको सिएएएले बताएको हो ।
उता अमेरिकाले पनि वर्षौँदेखि यसैमा काम गरिरहेको छ र २०१० र १३ को बीचमा सफलतापूर्वक लन्च गरेको खुलासा पनि गरिसकेको छ । तर चीनको यस्तो निर्माणपछि भने अमेरिकी सेना विभाग, पेन्टागन थप दबाबमा परेको छ । अमेरिकी जर्नेल जोन हेटेन भन्छन्, ‘चीनले आफ्नो हाइपरसोनिक क्षमता प्रदर्शन गरेको छ, रुसले पनि सफल परीक्षण गरिसक्यो र हामीले पनि पहिले नै यस कार्यमा सफलता हासिल गरिसकेका छौँ । यस्तोमा हामीले भविष्यमा आइलाग्ने जस्तोसुकै खतराका निम्ति नयाँ उपकरणको खोज गर्नुपर्ने हुन्छ ।’
गत जुनमा पनि रक्षा सचिव रोबर्ट वर्कले चीनले अमेरिकालाई सैन्य प्रविधिमा हराउने खतराबारे चेतावनी दिएका थिए । यस विषयमा पनि वर्कले बेइजिङले प्रतिरक्षात्मक उपकरणमा धेरै समय र लगानी खर्चिरहेको र विद्युतिय उपकरण, ठूला डाटा र हाइपरसोनिक हतियारमा समेत उल्लेखनीय प्रगति गरिरहेको बताए । तरपनि यस रेसमा अमेरिकाले नै जित हात पार्नुपर्ने उनको भनाइ छ ।