site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सियाबाट प्रभावित, यी हुन् लक्षण

काठमाडौं । विश्व अल्जाइमर दिवस शनिबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकता : अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइएको हो ।

स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हीराकुमारी निरौलाले नेपालमा ६० वर्षभन्दा माथिका करिब सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सियाबाट प्रभावित रहेको बताइन् । अल्जाइमरको संख्या यकिन भए पनि डिमेन्सिया भएका ७० प्रतिशत मानिसलाई अल्जाइमरको लक्षण देखिने गरेको उनले उल्लेख गरिन् ।

जनचेतनाका कमीले अल्जाइमरको प्रकोप बढिरहेको र समयमा उपचार गर्न सके यो रोगलाई कम गर्न सकिने निर्देशक निरौलाको भनाइ छ । “समयमा नै रोग पहिचान गरेर कडा खालको बिर्सने रोगको लक्षणलाई अलि ढिला बनाउन सकिन्छ,” उनले भनिन्, “तर, बिरामीले उपचार नगर्दा कडा खालको लक्षण चाँडै देखिने गरेको छ ।”

Dabur Nepal
NIC Asia

नेपालमा विशेष गरी ६० वर्षमाथि उमेरका व्यक्तिमा यो रोगको समस्या देखिने गरेको छ । आजकाल ४० देखि ४५ वर्ष उमेर समूहमा समेत यो समस्या देखिने गरेको निर्देशक निरौलाले बताइन् ।

लक्षण
अल्जाइमर रोग डिमेन्सियाको एक प्रकार हो । यसमा स्मरण शक्तिमा ह्रास हुने, भर्खरै भएका कुरा सम्झिन समस्या र क्रमशः पुराना कुरा पनि बिर्संदै जाने हुन्छ । साथै, एउटै कुरालाई बारबार दोहोर्‍याउने, ध्यान केन्द्रित गर्न समस्या हुनेजस्ता लक्षण देखिने चिकित्सक बताउँछन् । पछि गएर उल्लिखित लक्षण क्रमशः कडा रूपमा बढ्दै गई दैनिक जीवनयापन नै कठिन हुन जान्छ ।

रोगको प्रमुख कारण बढ्दो उमेर भए पनि श्रवण शक्तिमा कमी, नसर्ने रोग (उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपन, मधुमेह), मस्तिष्कमा चोट, दृष्टिमा कमी, वायु प्रदूषण, पोषण तत्त्वको कमी, मदिरा र धूमपानको सेवन, डिप्रेसन, एक्लोपन, शारीरिक निष्क्रियताजस्ता कारणले पनि हुने गर्छ ।

महाशाखा प्रमुख निरौला रोग रोकथामको उपाय भनेको नै जोखिम कम गर्नु रहेको बताउँछिन् । उनका अनुसार, नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको जनसंख्या १० प्रतिशत छ । बुढ्यौली जनसंख्याको वृद्धिसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, हाल विश्वभर पाँच करोड ५० लाख मानिस डिमेन्सिया रोगबाट प्रभावित छन् । तीमध्ये अल्जाइमर रोगले सबैभन्दा बढीलाई प्रभावित गरेको छ । प्रत्येक वर्ष करिब एक करोड नयाँ डिमेन्सियाका बिरामी थपिन्छन् । यो संख्या सन् २०५० सम्म दोब्बर हुने अनुमान गरिएको छ ।

सरकारले विपन्न नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत अल्जाइमर रोगका निम्ति एक लाख रुपैयाँसम्म सुविधा प्रदान गर्दै आएको छ । यो रोगको उपचारका निम्ति देशभर १२ अस्पताल सूचीकृत छन् ।

राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ ले ज्येष्ठ नागरिक मानसिक स्वास्थ्यका निम्ति अल्जाइमर्स डिस अर्डरलगायत विस्मृति तथा अन्य मानसिक समस्याको शीघ्र पहिचान र व्यवस्थापन गरी सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गर्ने रणनीति लिएको महाशाखा प्रमुख निरौलाले जानकारी दिइन् ।

उनले अल्जाइमरसँगै डिमेन्सिया रोगको रोकथाम र जोखिम कम गर्न, उपचार र स्याहारकर्ता वा परिवारलाई सहयोग र सहजीकरण आवश्यक रहेको बताइन् ।

यी रोग भएका बिरामीलाई सामाजिक कार्यमा लगाउनुपर्ने, मस्तिष्कलाई क्रियाशील बनाउनुपर्ने र पर्याप्त मात्रामा फलफूल खुवाउनुपर्ने निरौला बताउँछिन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro