काठमाडौं । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धान टुंग्याउने तयारी सरकारी समितिले गरेको छ । गठन भएयता दुईपटक म्याद थपेर तस्करी र हत्याको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले कार्यावधि सकिनुअघि नै अनुसन्धान टुंग्याउने तयारी गरेको हो ।
गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन हराएपछि तस्करको समूहले सुन लुकाएको आशंकामा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेका थिए । त्यही हत्याको अनुसन्धान गर्दै जाँदा ठूलो परिमाणमा सुन तस्करीको रहस्य बाहिरिएको थियो । सनम हत्याका अभियुक्त जोगाउन, सुन तस्करीको तथ्य लुकाउन र तस्करीमा संग्लन रहेको आरोपमा नेपाल प्रहरीका वहालवाला एसएसपीसहित पूर्व डीआईजी पनि पूर्पक्षका लागि थुनामा छन् । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान समितिले सनम हत्या र सुन तस्करीको अनुसन्धान गरिरहेको छ ।
यही असार मसान्तमा समितिको म्याद सकिँदैछ । समिति निकट स्रोतका अनुसार अहिले प्रतिवेदन लेखनको काम सुरु भएको छ । “अब टोलीले सरकारलाई प्रतिवेदन बुझाउँछ । कुनै अप्रत्याशित नतिजा नआए टोलीको म्याद अब थपिने सम्भावना छैन ।” अनुसन्धान टोलीले गोरे, एमके अग्रवाललगायतको समूहले विभिन्न समयमा ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
‘ठूला माछा’को चर्चामात्रै
आफ्नो कार्यकालको एक सय दिन पुगेको अवसरमा जेठ २३ गते गृहमन्त्री रामबहादुर थापाले भनेका थिए, “सुन तस्करीमा अहिले मझौला र साना माछा पक्राउ परेका छन् । अब ठूला माछा पनि पक्राउ पर्छन्, उनीहरुमा छटपटी भइसकेको छ ।” गृहमन्त्रीले भनेका ठूला माछा उच्च राजनीतिक नेतृत्व हुन् कि भन्ने आशंका धेरैको थियो । तर, अनुसन्धान टोलीले भने उच्च तहको राजनीतिक संलग्नता नभेटिएको बताउँदै आएको छ । भुजुङ गुरुङ, गोरे, एमके अग्रवाल नै ठूला माछा भएको उसको निष्कर्ष छ ।
टोलीले सर्वाधिक खोजिरहेका व्यक्ति पनि एमके नै हुन् । फरार एमकेलाई खोज्न प्रहरीको एक टोली भारत पनि पुगेको थियो ।
अनुसन्धान टोलीले हराएको भनिएको साढे ३३ किलो सुन कहाँ गयो भन्ने कुरा भने पत्ता लगाउन सकेन । गत वैशाख २० गते जिल्ला प्रहरी कार्यालय मोरङले २९ जनालाई पक्राउ गरी ३४ जनालाई फरार अभियुक्त बनाएर ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा थप १२ जनाको संलग्नता टोलीले भेट्टाएको थियो ।
यसअघि नै २ जना छुटिसकेका थिए भने ३ जनालाई अदालतले सोमबार धरौटीमा छाडेको छ । फरार रहेका सुनका मुख्य लगानीकर्ता भनिएका धरान घर भएका एमके भनिने मोहन अग्रवाल, गोरेका भाइ रमेश उप्रेती, काभ्रे बेथानचोक घर भएका हरिशरण खड्का र इटहरीका बेनु श्रेष्ठविरुद्ध रेड नोटिस जारी गरिएको छ ।
अनुसन्धान टोलीले पटक–पटक प्रधानमन्त्री र गृहमन्त्रीलाई भएका कामको उपलब्धीबारे जानकारी गराइसकेको छ । हाल मोरङ जिल्ला अदालतमा पक्राउ परेकाविरुद्धको मुद्दा जारी छ । १६ जनाले बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने भन्दै उच्च अदालत विराटगरमा निवदेन दिएका छन् ।
फाइल तस्बिर