site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई दशकदेखि सरकारसँग हेलिकप्टर माग्दै प्रहरी, सेनाको प्रयोग गर्न झन्झटिलो !

काठमाडौं । ७५ हजार सदस्य भएको संगठन हो नेपाल प्रहरी । मुलुकका हरेक तहमा राज्यको पहिलो उपस्थिति पनि प्रहरीकै छ । आपतकालीन उद्धारदेखि सुरक्षालगायत कार्य प्रहरीकै पहिलो प्राथमिकतामा पर्छ । कुनै आपतकालीन घटना घट्यो भने सबैभन्दा पहिले नेपाल प्रहरी नै पुग्नुपर्छ । 

तर, त्यसका लागि स्रोतसाधन भने पर्याप्त नरहेको गुनासो नेपाल प्रहरीले गर्दै आएको छ । खासगरी आपतकालीन उद्धारका लागि आफ्नै हेलिकप्टर हुनुपर्ने प्रहरीको माग छ । आपतकालीन अवस्थाका लागि प्रहरीले हेलिकप्टर मागेको दुई दशक बितिसकेको छ । गृह मन्त्रालयले यसका लागि पटक–पटक अर्थ मन्त्रालयसँग बजेट पनि माग गरेको छ । तर, प्रगति शून्य छ । 

नेपाल प्रहरीका पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल प्रहरीले लामो समयदेखि कम्तीमा दुई हेलिकप्टरको माग गरेको सम्झिन्छन् । “दमकल, एम्बुलेन्स र प्रहरी आपतकालीन अवस्थाका लागि तयार रहने शक्ति हुन्, तर हेलिकप्टरको अभावमा नेपाल प्रहरीलाई कतिपय अवस्थामा निकै सकस भएको छ । भौगोलिक विकटता, नियन्त्रण, अनुसन्धान, विशिष्ट व्यक्तिको सुरक्षा आदिका लागि प्रहरीलाई हेलिकप्टर नभई हुँदैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हेलिकप्टर खरिदका लागि गृह हुँदै अर्थ मन्त्रालयमा पटक–पटक बजेटका लागि प्रस्ताव गएको प्रहरी प्रधान कार्यालय बताउँछ । तर, अर्थ मन्त्रालयले नेपाल प्रहरीको आवश्यकता र बाध्यतालाई बुझ्न नसकेको प्रहरी अधिकारीहरुको गुनासो छ ।

बामदेवले भनेका थिए– पाँच क्षेत्रमा पाँच हेलिकप्टर
 

०७१ असोज ३० मा तत्कालीन गृहमन्त्री बामदेव गौतम चीन भ्रमणमा गएका थिए । त्यसअघि उनले प्रहरीका उच्च अधिकारीसँग ब्रिफिङ लिने क्रममा तत्कालीन पाँच विकास क्षेत्रका लागि चीनसँग पाँच हेलिकप्टर माग्ने बताएका थिए । एक प्रहरी अधिकारी भन्छन्, “हामीले कम्तीमा दुइटा हेलिकप्टर माग्दै आएका छौं, सरकारले चाह्यो भने असम्भव पनि छैन ।” त्यसअघि र त्यसपछिका गृहमन्त्रीले पनि प्रहरीलाई हेलिकप्टर किनिदिने नभनेका होइनन् । तर, अहिलेसम्म पनि हेलिकप्टर खरिदको प्रक्रिया अघि बढेको छैन । 

बामदेव गौतमले चीन भ्रमणमा हेलिकप्टरको प्रस्ताव गरे पनि चीनले रुची नदेखाएको स्रोत बताउँछ ।

अर्थ मन्त्रालयले आर्थिक भार धान्न नसक्ने अवस्थाका कारण प्रहरीलाई हेलिकप्टर किन्न नसकिएको बताउँदै आएको गृहका अधिकारी बताउँछन् । नेपाल प्रहरीले ठूला हेलिकप्टर किन्न नसक्ने अवस्थामा साना हेलिकप्टर भए पनि किन्ने प्रस्ताव गरेको थियो । प्रहरीले प्रतिगोटा १५ करोड रुपैयाँ पर्ने तीनदेखि चारवटा हेलिकप्टर किन्नुपर्ने सुझाव दिएको थियो । पटक–पटक गृहले यो प्रस्ताव अघि बढाए पनि कहिल्यै योजनामा पर्न नसकेको गृह र प्रहरी अधिकारीको गुनासो छ । 

सेनाको हेलिकप्टर माग्न प्रक्रियागत झन्झट
 

नेपालका ४ वटा सुरक्षा निकायमध्ये नेपाली सेनासँग मात्रै हेलिकप्टर छ । सशस्त्र प्रहरी बलले पनि सरकारसँग सीमा अनुमगनलगायत कार्य गर्न हेलिकप्टर माग गर्दै आएको छ । 

विभिन्न समयमा आपतकालीन अवस्थामा नेपाल प्रहरीले भाडामा सेनाको हेलिकप्टर प्रयोग गर्दै आएको छ । प्रहरीका एक उच्च अधिकारी भन्छन्, “नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्न निकै प्रक्रियागत झमेला छ । आपतकालीन अवस्थामा हेलिकप्टर चाहिए पहिले गृहलाई पत्र लेख्नुपर्छ, गृहले रक्षा मन्त्रालयलाई लेख्छ । रक्षाले सेनालाई लेख्छ । कुनै बेला यो सबै प्रक्रियामै उद्धारलगायतको कार्य ढिलो भइसक्छ ।” आपतकालीन अवस्थामा हेलिकप्टर नहुँदा कैयौं अप्रिय घटना घटेको प्रहरी अधिकारीहरुको अनुभव छ । खासगरी दुर्घटना, दैवी प्रकोपलगायतका घटनामा प्रहरीले चाहेर पनि सकारात्मक उद्धार गर्न नसकेको प्रहरी अधिकारी बताउँछन् ।
 

प्रकाशित मिति: बुधबार, असार १३, २०७५  ०७:४५
प्रतिक्रिया दिनुहोस्