site stats
बाह्रखरी :: Baahrakhari
देश
‘विप्लवभन्दा सिके राउत खतरनाक’

काठमाडौं । माओवादी विद्रोहको पुनरुत्थान गर्ने आव्हान गर्दै हिंडेका नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल विखण्डनको आगो लगाउँदै हिंडने सिके राउतको समूह अहिले सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको नेपाल प्रहरील बताएको छ । देशभर चन्दा आतंक मच्चाउने, धम्क्याउने, अपहरण गर्ने, बम विष्फोट गराउने आदिमा नेकपाका कार्यकर्ताको संलग्नता देखिएको छ । तर, विप्लव भन्दा पनि सुरक्षाका दृष्टिकोणले सिके राउतलाई प्रहरीले बढी खतरनाक तत्वको रुपमा पहिचान गरेको छ । राउतका गतिविधि निस्तेज नपारे देशमा विखण्डनवादी शक्ति बढेर जाने खतरा रहेको पनि प्रहरीले जनाएको छ । नेपाल प्रहरीले विप्लव नेतृत्वको नेकपालाई अतिवादी समूहमा राखेको छ ।

प्रहरी स्रोतका अनुसार सबैजसो सुरक्षा निकायले आन्तरिक सुरक्षामा विप्लव नेतृत्वको पार्टी र विखण्डनकारी नारा बोकेका सिके राउतलाई प्रमुख चुनौतीको रुपमा औंल्याएका छन् ।

भोजपुर जिल्ला अदालतले बम विष्फोट प्रकरणमा विप्लवलाई पक्राउ गरेर अदालत उपस्थित गराउन आदेश दिएपछि विप्लव कहाँ छन् भन्नेबारे प्रहरी बेखबर छ । नेपाल प्रहरीले देशभर ‘सर्कुलर’ जारी गर्दै विप्लवलाई जहाँ देख्यो, त्यही समात्न आदेश जारी गरेको छ । 
गत वर्ष वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि ‘विप्लव’ कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनले बोक्ने गरेको टेलिफोन नम्बर पनि अफ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा अदालतको आदेश र उनको पार्टीका गैरराजनीतिक गतिविधिका कारण पत्ता लाग्ने वित्तिकै उनलाई समाउने बताउँछन् । “राज्यका नीतिनियम नमान्ने, कानुन उल्लङ्घन गर्ने जोकोहीलाई पनि प्रहरीले पक्राउ गरेर कानुनी सजायको हकदार बनाउँछ,” एसएसपी थापाले बाह्रखरीसँग भने । 

तत्कालीन नेकपा माओवादीका नेतासमेत रहेका विप्लव नेतृत्वको पार्टीले मध्यपश्चिमका रुकुम, रोल्पा, जाजरकोट, सल्यान, प्युठान र पूर्वको इलामका गोप्य स्थानबाट गतिविधि र तालिम गरिरहेको प्रहरी स्रोत बताउँछ ।

“विप्लवको नेकपासँग हतियार पनि छन् । कतिपय स्थानमा उनीहरुले केही हतियारसहित तालिम गरेको सूचना छ । तर, कति हतियार छ त्यो खोल्न मिल्दैन,” प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने । 

प्रहरी स्रोतका अनुसार विप्लव माओवादी मूलतः राजनीतिक एजेण्डामै छ । तर, उसका गतिविधि हिंसात्मक राजनीतितर्फ उन्मुख देखिन्छन् । देशभर चन्दा आतंक मच्चाउने, धम्क्याउने, अपहरण गर्ने, बम विष्फोट गराउने आदिमा नेकपाका कार्यकर्ताको संलग्नता देखिएको छ ।

अहिले नै राज्यलाई चुनौती दिने उनीहरुसँग शक्ति नभए पनि मुलुकमा अस्थिरता फैलाउने गतिविधि नेकपाले बढाउँदै लगेको प्रहरीको निष्कर्ष छ । ग्रामीण इलाकामा उनीहरुको आतंक बढ्नसक्ने प्रहरीको अनुमान छ । नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले आन्तरिक सुरक्षामा विप्लव चुनौतीबारे सरकारलाई जानकारी गराइसकेका छन् । 

विप्लवभन्दा सिके राउत खतरनाक
 

सुरक्षा निकायले विप्लवभन्दा खतरनाक चुनौतीको रुपमा सिके राउतलाई लिएको छ । नेपाल प्रहरीले राउत र उसका विखण्डनकारी गतिविधि निस्तेज नपारे मुलुकमा ठूलो दुर्घटना निम्तिन सक्नेतर्फ सरकारलाई सचेत गराइसकेको बताएको छ । प्रहरी मुख्यालय स्रोत भन्छ, “सिके राउतको योजना लामो छ । देश नै टुक्र्याउने मिसनमा लागेका राउतलाई देशभित्र र बाहिरका विखण्डनकारी तत्वले सहयोग गरिरहेको देखिएको छ ।’ खासगरी मधेसी समुदायको बाहुल्य रहेको क्षेत्रमा राउतले आफ्नो प्रभाव बढाउँदै लगेको सुरक्षा निकायको निष्कर्ष छ ।

सिके राउतका कतिपय अभियानमा विभिन्न आइएनजीओको पनि आर्थिक सहयोग रहेको प्रहरीको दाबी छ । राउतले विभिन्न जिल्लामा निःशस्त्र सैन्य अभ्यास चलाउने प्रयास गरेपनि सफल हुन नसकेको प्रहरीले बताएको छ ।

प्रहरीको उच्च स्रोत भन्छ, “राउतले सैन्य अभ्यासपूर्वको तयारी गरिरहेका छन् । उनको टोली विभिन्न दस्तावेज लेखन तथा तालिमको लागि क्षेत्र छनोटमा लागेको सूचना पाएका छौं ।” राउतलाई पटक–पटक प्रहरीले पक्राउ गरेर राज्य विप्लवको मुद्दा चलाए पनि उनी साधारण तारेखमा रिहा हुँदै आएका छन् ।

राउतको तस्बिर फेसबुकबाट 
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०७५  १३:२४
प्रतिक्रिया दिनुहोस्