काठमाडौं । सिंहदरबार परिसर प्रमुख प्रशासकीय केन्द्रमात्रै रहेन । यो लोपोन्मुख जडिबुटीको उद्यानसमेत बनेको छ । ढकमक्क फुलेका किसिम किसिमका फूलसँगै विश्वमै दुर्लभ मानिएका जटिवुटीका प्रजातिले समेत सिंहदरबार परिसरमा हाँगा हाल्न थालेका छन् ।
केही वर्षअघिसम्म फोहोर थुपार्ने ठाउँ बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअघिल्तिरको खाली जमिनलाई वनस्पती विभागले चिटिक्कसँग सजाएर जटिवुटी पार्कमा रूपान्तरण गरेको हो । मुलुकको उच्च प्रशासकीय केन्द्रमा आउजाउ गर्नेहरूलाई पहाडी तथा उच्च हिमाली भेग पाइने निकै दुर्लभ र बहुमूल्य जटिवुटी र वुट्यानहरूले स्वागत गर्न थालेका छन् ।
१४ सय मिटर उचाइमा रहेको काठमाडौँको सिंहदरबार परिसरमा तीन हजार मिटर उचाइमा पाइने लोपोन्मुख जडिवुटीका प्रजातिले विशेष आकर्षण पैदा गरेका छन् ।
कपुरदेखि पाखनवेदसम्म
विभागले सिंहदरबार परिसरमा १ सय मिटरदेखि २१ सय मिटरसम्म पाइने पुदिना र १२ सयमिटरदेखि २४ सय मिटरसम्मको उचाइमा पाइने टिमुरसम्म रोपेको छ । तीन वर्षअघि रोपिएको टिमुरमा यसपालिदेखि फल लाग्न थालेको छ ।
औषधीय गुणले भरिपूर्ण टिमुर विशेषगरी दाँत दुख्ने, पेटसम्बन्धि रोग र पाचन प्रक्रिया नियमित तुल्याउनसमेत उपयोगी हुने बताइन्छ । स्वास्थ्यको लागि पुदिनाको महत्त्व पनि त्यस्तै छ । शक्तिवद्र्धक, पिसाव बढाउन र रक्तबहाव रोक्न गर्न पुदिना अतिउपयोगी मानिन्छ । एक सय पचासदेखि करिब २ हजार मिटरको उचाइमा पाइने असुरोले क्षयरोग निको पार्ने विश्वास गरिन्छ भने २१ सय मिटरको उचाइमा पाइने पाखनवेदले पायल्स, मुटुको व्यथा र फोक्सोको रोगसमेतलाई उपयोगी हुने चिकित्सक बताउँछन् । यी सबै उद्यानको सम्पत्ति बनेका छन् ।
त्यस्तै उद्यानमा जमानेमान्द्रो पनि संरक्षित छ । चुत्रोको प्रजातिझैँ लाग्ने जमानेमान्द्रोको फल, बोक्रा औषधीय गुणका हुन्छन् । यो पनि उच्च पहाडी भेगमा पाइन्छ । उद्यानको अर्को आकर्षण हो– आँक । एक सयदेखि १२ सय मिटरको उचाइसम्ममा पाइने आँकको बोटलाई ‘सौतेनी ग्रह’ कटाउने बोट वृक्षको रूपमासमेत लिने गरेको उद्यानका कामदार बताउँछन् ।
“पोहोर सिंहदरबार परिसरमा काम गर्ने सेनाका जवान आँकको रूखसँग बिहे गर्ने भन्दै आएका थिए,” त्यहीँ वाटिकामा काम गर्ने शारदामाया बस्नेतले बाह्रखरीसँग भनिन्, “पहाडको कुनाकाप्चामा आँकको रूख खोज्दै हिँड्नुपथ्र्यो, अहिले त सिंहदरबार परिसरमै रोपिएको छ ।”
उद्यानमा चारवटा आँकको रूख रोपिएको उनको भनाइ थियो ।
सीमसारमा पाइने वनस्पती सिंहदरबारमा
उद्यानमा करिब २१ सय मिटर उचाइ तथा सीमसार क्षेत्रमा पाइने बोझो पनि लहलहाइएको छ । खकार सफा गर्न र जुका नाशक गुण भएको विरुवाको रुवमा चिनिने बोझोले छातीमा देखिने समस्यासमेत निदान गर्ने विभागका कर्मचारी बताउँछन् । त्यस्तै पहाडी क्षेत्रमा पाइने अमला, सुगन्धसुवाल, सुगन्धकोकिल, वनकुरिलो, कपुर, तेजपत्तालगायतका वनस्पती उद्यानको विशेष आकर्षण बनेका छन् । र, यी सबै जडिवुटी हेटौँडादेखि उच्च हिमाली क्षेत्रसम्म पुगेर संकलन गरिएको वाटिका गोडमेल गर्ने पञ्चमाया महर्जनले जानकारी दिइन् ।
हुर्कंदैछ वोधिचित्त
६ सय मिटर उचाइदेखि १७ सय मिटरसम्मको उचाइमा हुर्कने बहुउपयोगी रुद्राक्ष पछिल्लो समय सहरी भेगमा झाँगिन थालेको छ । सिंहदरबारको वाटिकामा त सजिने भइहाल्यो । त्यसका अतिरिक्त उद्यानमा काभ्रेको तिमाल क्षेत्रमा मात्रै पाइने वोधिचित्तसमेत रोपिएको छ । यसको फल खान योग्य मानिन्छ । त्यस्तै दानालाई वोधिचित्त मालाको रूपमा महँगोमा खरिद–विक्री हुने गर्दछ । पछिल्लो समय यसको अवैध चोरी, पैठारी बढेको भन्दै विभागले संरक्षणमा तदारूकता देखाएको हो ।
त्यस्तै वाटिकामा उच्च पहाडी क्षेत्रमा पाइने लौठ सल्ला र चिराइतो समेत संरक्षण गरिएको छ । यद्यपि हावापानी अनुकूल नहुँदा चिराइँतो भने हुर्कन सकेको छैन ।
लोपोन्मुख प्रजातिका विरुवाको संरक्षण
लोपोन्मुख प्रजातिको विरुवा संरक्षण सम्बन्धि अभिसन्धी (कन्भेन्सन अफ इन्डेन्जर्ड स्पेसिज– सीआटीइस) अनुरूप नेपालमा लोप हुन लागेका प्रजातिको विरुवा वाटिका बनाएर संरक्षण गरिएको उद्यान अधिकृत धर्मराज कोइराला बताउँछन् ।
उनका अनुसार वाटिकामा काठमाडौँको हावापानीमा हुर्कनसक्ने २० भन्दा बढी प्रजातिका दुर्लभ वनस्पती, वोटविरुवा संरक्षण गरिएको छ ।
“पछिल्लो समय दुर्लभ वनस्पतहरूको अवैध चोरी निकासी बढेको छ । विश्वव्यापी जलवायुमा आएको परिवर्तनसँगै हिमाली भेगमा पाइने वनस्पतीसमेत लोप हुने खतरा बढेको छ । यसर्थ संरक्षणका लागि उद्यान खडा गरेका हौँ,” उनले भने ।
उनले सीआटीइसले सूचीवद्ध गरेका सबै विरुवा जलवायुका कारण संरक्षण गर्न नसकिए पनि यहाँको वातावरणमा हुर्कन सक्ने विरुवालाई सरंक्षण गरिएको । र, उद्यान सिंहदरवार परिसरको प्रमुख आकर्षण बनेको उनी बताउँछन् ।