site stats
बाह्रखरी :: Baahrakhari
देश
कहिले समातिन्छन् सुन तस्करीका ‘ठूला माछा’ ? बाजेको सेकुवाको ब्रान्ड परिवर्तन गर्न निर्देशन 

काठमाडौं । आफ्नो कार्यकालको एक सय दिन पुगेको अवसर जेठ २३ गते  गृहमन्त्री रामबहादुर थापाले भनेका थिए, “सुन तस्करीमा अहिले मझौला र साना माछा पक्राउ परेका छन् । अब ठुला माछा पनि पक्राउ पर्छन्, उनीहरुमा छट्पटि भइसकेको छ ।”

तर गृहमन्त्रीले भनेका ‘ठूला माछा’ को हुन् उनले खुलाएनन् । गृहमन्त्री थापाले ठुला माछा समात्ने भनेको ३ साता बितिसकेको छ । तर सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान गर्ने टोलीले अनुसन्धान जारी राखेको छ । टोलीको म्याद थपेर असार मसान्तसम्मको समयसीमा तोकिएको छ ।

गृहमन्त्री थापाले ठुला माछाको चर्चा गरेपछि अनुसन्धान राजनीतिक नेतृत्वतर्फ सोझिएको अनुमान थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर सुन तस्करीको अनुसन्धान गरिरहेको विशेष टोली तस्करीमा भुजुङ गुरुङबाहेक अन्य नेताहरुको संग्लनताको आधार नभेटिएको बताउँदै आएको छ । पूर्पक्षका लागि जेलमा रहेका गुरुङ रापप्रा प्रजातान्त्रिकका नेता हुन । अनुसन्धान टोलीले एमके अग्रवाल, गोरे, छिरिङ, भुजुङ नै सुन तस्करीका ‘ठूला माछा’ भएको बताउँदै आएको छ । 

अनुसन्धान समितिले सनमको हत्याको रहस्य पछ्याउँदै जाँदा चुडामणि उप्रेती ‘गोरे’, एमके भन्ने मोहनकुमार अग्रवाल लगायतको समुहले विभिन्न समयमा गरेर ३८ क्वीन्टल सुन तस्करी गरेको दाबी गरेको थियो ।
तर गत माघमा आएको भनिएको हराएको साढे ३३ किलो सुन भने भेटिएको छैन । 

हराएको साढे ३३ किलो सुन खोज्ने क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । 

अहिले गोरेसहित ३० जनाबढी पूर्पक्षका लागि थुनामा छन् । तर अझै २९ जना फरार छन् । टोलीले अहिले ३८ क्वीन्टल सुन तस्करीमा सबैभन्दा ठुला लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, गोरेका भाई रमेश उप्रेती लगायतको खोजी जारी राखेको छ ।
एमकेमाथि ‘डिफ्युजन नोटिस’ नै जारी गरिएको छ ।

बाजेको सेकुवाको शिलबन्दीपछि के गर्दैछ समिति ?
 

गत शुक्रबार अनुसन्धान टोलीले काठमाडौंमा चेतन भण्डारीले सञ्चालन गरेका बाजेको सेकुवामा शिलबन्दी ग¥र्यो । टोलीले ६ वटामा शिलबन्दी गरेको बताए पनि अन्त्यमा सामाखुसीमा भण्डारीका सालाले सञ्चालन गरेको सेकुवा पसल सञ्चालन गर्न अनुमति दिएको थियो । अनुसन्धान टोलीका एक सदस्यले भने, “हामीले अदालतको आदेशमा फरार प्रतिवादीको पूर्ण स्वामित्वमा रहेका सबै चल÷अचल सम्पति रोकेका हौं, अन्यलाई सञ्चालन गर्न दिएका छौं ।”

टोलीका अनुसार देशभर बाजेको सकुवाका १३ वटा शाखा छन् । जसमध्ये ५ भण्डारीकै पूर्ण स्वामित्व र बाँकी ८ वटाले ‘ब्रान्ड’ लिएका थिए ।

संगठित अपराध निवारण ऐन, २०७० को दफा १५ र १६ मा ‘संगठित अपराध गरेको आरोप लागेका व्याक्तिहरुले त्यस्तो अपराधबाट प्राप्त गरेको सम्पत्ति कसैलाई हस्तान्तरण वा बिक्री वितरण गर्न लुकाउन वा परिर्वतन गर्न सक्छन्’ भन्ने दफामै टेकेर अदालतले सम्पति रोक्का, शिलबन्दी गर्ने आदेश दिएको ती सदस्यले बताए । 

बाजेको सेकुवाको ब्रान्ड परिवर्तन गर्न निर्देशन 
 

अनुसन्धान टोलीले बाजेको सेकुवाका ब्रान्ड साझेदारलाई ब्रान्ड परिवर्तन गरि अर्को नाममा सञ्चालन गर्न निर्देशन दिएको छ । टोलीका एक सदस्यले आफुले अरुलाई बन्द नगर्न तर नाम परिवर्तन गर्न निर्देशन दिएको बताए । 

ब्रान्ड साझेदारलाई गृह मन्त्रालयमै बोलाएर बाजेको सेकुवाको लोगो, बोर्ड र मेनु हटाउन लगाइएको उनले बताए । बाजेको सेकुवामा कार्यरत कर्मचारीले आउटलेट र ब्रान्ड साझेदार व्यक्ति फरक फरक भएकाले सिलबन्दी गर्नु नहुने बताउँदै आएका छन् । यसअघि उनीहरुले पत्रकार सम्मेलन नै गरेर व्यक्तिगत मुद्दाका कारण डेढ सय बढी परिवारको रोजिरोटी खोसिएको भन्दै सञ्चालक चेतन भण्डारी र बाजेको सेकुवालाई फरक प्रकारले हेर्न र आफ्नो रोजगारीको ग्यारेन्टि गर्न माग गरेका थिए । 

अनुसन्धान टोलीका चार काम
 

अनुसन्धान टोली अहिले मुलतः ४ वटा काममा लागेको टोलीका एक सदस्य बताउँछन् । उनका अनुसार टोलीले फरार अभियुक्तको खोजी, सम्पत्ति रोक्का, सुन खोजी र उनीहरुको लगानी खोजिरहेको छ । अबको १५ दिनपछि सरकारलाई बुझाउन प्रतिवेदन लेख्ने उनले बताए ।

अनुसन्धान टोलीले सुन तस्करीको जालो र सनम शाक्यको हत्यासँग जोडिएका सबैजसो तथ्य आफुहरुले प्राप्त गरिसकेको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १३:४६
प्रतिक्रिया दिनुहोस्