site stats
बाह्रखरी :: Baahrakhari
देश
आरके ज्वेलर्सबाट ३५ प्रकारका गरगहना जफत, सम्पत्तिको वैधता पुष्टि नभए राष्ट्रियकरण

काठमाडौं । गृह मन्त्रालयको विशेष छानबिन टोलीले राजेन्द्रकुमार शाक्यले राजधानीका तीन स्थानमा सञ्चालन गरेको आरके ज्वेलर्समा छापा मारेर त्यहाँ भएका सबै सुनचाँदी लगायतका धातु जफत गरेको छ । टोलीका एक सदस्यका अनुसार ३५ प्रकारका गरगहना भेटिएको छ । तीनवटा पसलमा गरी झण्डै ३० करोड बढी मूल्य बराबरको सामान हुनसक्ने टोलीले अनुमान गरेको छ । ती सबै सामान समितिले जफत गरेको छ ।

४९ वर्षीय राजेन्द्रकुमार शाक्य ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्यको हत्यासम्बन्धी मुद्दामा मोरङ कारागारमा पूर्पक्षका लागि थुनामा छन् । गोरेको समुहसँग मिलेर शाक्यले सुन तस्करीमा लगानी गरेको अनुसन्धान टोलीको दाबी छ । शाक्य यसअघि पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ पुसमा पक्राउ गरेको साढे ३३ किलो सुनकाण्डमा पनि मुछिएका व्यक्ति हुन । उनी काठमाडौं जिल्ला अदालतबाट १ लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।

विशेष अनुसन्धान टोलीले संगठित अपराध ऐनअनुसार अभियुक्तको सम्पत्ति पनि जफत गर्नुपर्ने भएकाले शाक्यसँगै अरुको सम्पत्ति पनि रोक्का गरिएको बताएको छ ।  अनुसन्धान टोलीका एक सदस्यले बाह्रखरीसँगको कुराकानी भने, “शाक्यले सुन तस्करीमा करोडौं लगानी गर्नेमात्र होइन, आफ्नो ज्वेलर्सबाट पनि तस्करीको सुन बेच्ने गरेको पाइएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि नै शाक्यको नाममा रहेका बैंक खाता तथा घरजग्गा रोक्का भइसकेको थियो । शाक्यको ज्वेलर्सबाट जफत गरिएको सुन, गहना लगायतका सबै धातुजन्य वस्तु मोरङ जिल्ला अदालतमा पेश गरिने टोलीले जनाएको छ ।

सम्पत्तिको वैधता पुष्टि नभए राष्ट्रियकरण हुने
 

यसअघि नै पक्राउ परेका र फरार रहेका सबैको बैंक खाता, घरजग्गा लगातयका सबै सम्पत्ति रोक्का भइसकेका छन् । अदालतको आदेशपछि जफत भएका सबै प्रतिवादीको सम्पत्तिको सबै तथ्य र स्रोत उनीहरुले खुलाउनुपर्ने हुन्छ । टोलीका एक सदस्य भन्छन्, “उनीहरुको सबै तथ्य अदालतले हेर्छ । आयस्रोतको वैध आधार खोजिन्छ प्रमाणित नभएको अवस्थामा जफत गरिएको सबै सम्पत्ति राष्ट्रियकरण हुन्छ । नेपालमा रहेका सबै सम्पत्ति रोक्का भइसकेका छन् । कतिपयको विदेशमा पनि देखिएको छ । उनीहरुको सम्पत्ति कसरी नेपाल ल्याउने भन्नेबारे कानुनी बाटो खोजिरहेको छौं ।”

यस्तै ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ तथा सुन तस्करीका अन्य दुई अभियुक्त राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गरुङ र छिरिङ वाङ्देल गुरुङमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिँदैछ । सोमबार विराटनगरबाट काठमाडौं ल्याइएका उनीहरुमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गर्न लागेको हो । उनीहरुले अवैध सुन तस्करीबाट आर्जन गरेको अवैध सम्पत्तिको मात्र अनुसन्धान गरिने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका निर्देशक विनोद लामिछानेले बताए ।

अनुसन्धानबाट प्रमाण खुलेमा उनीहरुमाथि विशेष अदालतमा मुद्दा दर्ता हुनेछ । विभागका अनुसार पहिलो चरणमा तीनजनाको अनुसन्धान भएको र दोस्रो चरणमा अन्य प्रतिवादीको सम्पत्तिमाथि  अनुसन्धान हुनेछ । अवैध कारोबारबाट कमाएको सम्पत्ति प्रमाणित भएमा त्यो सम्पत्ति राज्यले जफत गर्न पाउने कानुनी व्यवस्था छ । उनीहरुमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दोस्रो संशोधन २०७० अनुसार अनुुसन्धान प्रक्रिया अगाडि बढ्नेछ ।

सुन तस्करी र सनम शाक्यको हत्या अनुसन्धान गरिरहेको सरकारी समितिले गोरेको समूहले १७ अर्बभन्दा बढी रकमको सुन अवैध तस्करी गरेको निष्कर्ष निकालेको छ । काठमाडौं ल्याइएका तीनैजनासँग गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले समेत थप बयान लिने तयारी गरेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  ०८:४८
प्रतिक्रिया दिनुहोस्