काठमाडौं । प्रायः मिडियाकर्मीमाझ प्रस्तुत हुन नरुचाउने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कार्यभार सम्हालेको मंगलबार सयदिन पूरा भयो । एक सय दिन पुगेको अवसरमा गृहमन्त्री थापाले बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरे । कार्यक्रममा आफ्नो १ सय दिनलाई ‘हनिमुन’ अवधि भनेर विषय प्रवेश गरेका गृहमन्त्री थापाले विकास र सम्मृद्धिका लागि सुशासन भन्दै मुलुकका विभिन्न क्षेत्रको चर्चा र खुलासा गरे ।
विप्लव, सिके राउत र गोइत सुरक्षामा ठूलो चूनौती
गृहमन्त्री थापाले मुलुक विकासको बाटोमा अघि बढेको बताउँदै विकासविरोधी र मुलुकमा विखण्डन निम्त्याउने विभिन्न समूह सक्रिय भएको बताए । उनले नामै किटेर नेत्रविक्रम चन्द विप्लवको अतिवादी सोच पनि विकासको गतिको बाधक भएको औंल्याए ।
आन्तरिक र बाह्य सुरक्षाका खतराहरु को–को हुन् त भन्ने प्रश्नमा गृहमन्त्री थापाले भने, “‘संविधान नमान्ने विप्लवको अतिवादी सोच, क्षेत्र र जातका नाममा विखण्डनको नारा लगाउने सिके राउत, गोइत, ज्वाला सिंह, कश्यप विखण्डनका नाइके हुन् । उनीहरुले संविधान र कानुनविरोधी हर्कत गरिरहेका छन् ।”
‘सन् २०२५ सम्म सबै मन्दिर भत्काउने रे’
गृहमन्त्री थापाले धार्मिक रुपमा पनि मुलुकलाई अस्तव्यस्त बनाउने अभियानमा हिन्दूवादी समूह लागेको बताए । उनले भने, “धर्मको नाममा द्वन्द्व निम्त्याउन केही समूहले सन् २०२५ सम्म सबै मन्दिर भत्काएर चर्च बनाइन्छ रे भन्ने प्रोपोगाण्डा गरिरहेका छन् ।” मुलुकमा अस्थिरता निम्त्याउने कुनै पनि व्यक्ति वा समूहमाथि कानुनी उपचार खोजिने गृहमन्त्रीको चेतावनी छ ।
गुण्डाराज र तस्करीविरुद्ध धावा
गृहमन्त्री थापाले मुलुकमा अझै गुण्डाराज कायम रहेको बताउँदै गुण्डाराजको अन्त्य गर्न उनीहरुको पहिचान भइरहेको पनि खुलाए । गुण्डाराजको अन्त्य गर्न गृहले विषेश अपरेसनको तयारी गरेको उनले बताए । गृहमन्त्री थापाले विभिन्न नाममा हुने तस्करी नियन्त्रण गर्न पनि मन्त्रालय लागेको बताए । उनले भने, “‘अहिले सीमामा हुने अवैध गतिविधी र तस्करी नियन्त्रणमा आएको छ, विस्तारै मुलुकमा सुशासनको पूर्ण प्रत्याभूति हुन्छ ।”
समृद्धिका लागि ठूलो जोखिम मोल्यौं
गृहमन्त्री थापाले मुलुकमा सुशासन र समृद्धिका लागि ठूलो जोखिम मोलेको दाबी गरे । उनले भने, “खासगरी तस्करी नियन्त्रण गर्न सानोतिनो कमद चालिएको होइन, यो ठूलो रिश्क हो ।” उनले सरकारले समस्याको पहिचान गर्दै निदान खोजिरहेको बताए । विभिन्न क्षेत्र अस्तव्यस्त रहेको बताउँदै उनले सरकार लागुऔषध पूर्णरुपमा निशेध, सीमा सुरक्षामा कडाई, हुण्डीवाल, तस्करीलगायतका आपराधिक र भ्रष्टाचार नियन्त्रण गर्न विशेष रुपमा लागेको बताए ।
सुन तस्करीका ठूला माछा पक्राउ पर्छन्
गृहमन्त्री थापाले सुन तस्करीका बारेमा अनुसन्धान जारी रहेको बताउँदै त्यसमा संलग्न ठूला माछा पनि पक्राउ पर्न सक्ने बताए । “सुन तस्करीमा ठूला माछाको कुरा पनि आएको छ,” गृहमन्त्री थापाले भने, “माछा मार्ने काम जारी छ । भुरा माछा परेका छन् । अनुसन्धान जारी छ । ठूला माछा पनि समातिन सक्छन् । उनले गृहले थालेको सुन तस्करीको अनुसन्धानले ठूला माछामा छट्पटी भएको बताए । सुनकाण्डको अनुसन्धान हचुवाको भरमा नभइरहेको बताउँदै थापाले पूर्व प्रहरी अधिकारीले अनुसन्धानप्रति गरेको टिप्प्णीमा आपत्ति जनाए ।
काम नगर्ने ठेकेदारमाथी कारबाही
गृहमन्त्री थापाले समयमा काम सम्पन्न नगर्ने ठेकेदार जो भए पनि कारवाहीको दायरामा ल्याइने बताए । समयमा काम नगर्ने ठेकेदारमध्ये प्रचण्डका घरभेटी पनि छन्, उनलाई कारवाही हुन्छ त ? भन्ने पत्रकारको प्रश्नमा गृह मन्त्री थापाको जवाफ थियो, “सबै ठेकेदार घरधनी नै हुन् । सांसद पनि ठेकेदार होलान् । तर त्यसो भनेर उम्कन पाइँदैन । यो राज्यको अभियान हो । जसले समयमा काम पूरा गर्दैन, राज्यको कानुनको उल्लंघन गर्छन् भने राज्यले त्यसलाई अपराध मान्छ । त्यसलाई कारबाही गर्नुपर्छ । सभासद या कसैको घरधनी भए पनि काम नगरे कारबाही हुन्छ । निमय उल्लंघन गर्ने जो कोही पनि कारवाहीमा पर्छन् ।”