काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापक खोजी भइरहेका अभियुक्त एसएसपी श्याम खत्री बिहीबार मोरङ जिल्ला अदालतमा आफैँ उपस्थित भएका छन् । यसअघि प्रहरी प्रधान कार्यालयले एसएसपी श्याम खत्री, सुन लगानीकर्ता एमके अग्रवाल र गोरेका भाइ रमेश उप्रेतीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । सुन काण्डका मुख्य अभियुक्त बनाइएका चूडामणि उप्रेती ‘गोरे’ले मोरङ अदालतमा सुन तस्करीको सेटिङबारे एसएसपी श्याम खत्रीलाई जानकारी भएको बयान दिएका थिए ।
गोरेले प्रहरीका उच्च अधिकारी तथा राजनीतिक नेताको सुन तस्करीमा संलग्नताका बारेका पनि खत्रीलाई नै जानकारी भएको बताएका थिए । तर, खत्री फरार थिए । खत्री आफैं अदालतमा उपस्थित हुनुअघि मंगलबार सरकारी अनुसन्धान समितिको टोलीले काठमाडौंको एक स्थानमा खत्री भएको आशंकामा छापा हानेको थियो । तर उनी फेला परेनन् ।
समितिका एक सदस्यका अनुसार खत्री काठमाडौंमै लुकेर बसेका थिए ।
खत्रीको बयान बिहीबारबाटै सुरु भएको छ । खत्रीको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । खत्रीले थुनछेक बहसका लागि अधिवक्ता हेमराज पन्तलाई राखेका छन् ।
खत्रीले खोल्लान् सुन तस्करीको रहस्य ?
मुख्य अभियुक्त भनिएका गोरेले तस्करी सुनको सेटिङको सबै दोष एसएसपी खत्रीको टाउकोमा खन्याएका थिए । अब खत्री आफैं अदालतमा उपस्थित भएका छन् । यस्तो अवस्थामा खत्रीको बयानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । खत्रीले गोरेले लगाएका अभियोगलाई स्वीकार गर्लान् या नयाँ तथ्य ल्याउलान्, त्यो पनि चासोको विषय बनेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले गोरेको समूहले विभिन्न समयमा गरी ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
यसअघि पनि सुनकाण्डमा समातिएका थिए खत्री
साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा अभियुक्तमध्ये चर्चित नाम हो एसएसपी श्यामबहादुर खत्री । यो प्रकरणमा आफ्नो नाम जोडिएपछि उनी फरार थिए । खत्री यसपटकमात्रै सुन तस्करीमा जोडिएका भने होइनन् । खत्री यसअघि २०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बरामद गरेको सुन काण्डमा पनि पक्राउ परेका थिए । पछि उनको निलम्बन फुकुवा भएको थियो । त्यतिबेला पनि नेपाल आएको साढे ३३ किलो सुन गोरेकै भएको अनुसन्धानबाट खुलेको भए पनि उनको वास्तविक नाम र ठेगाना पत्ता लगाउन नसक्दा उनलाई फरार अभियुक्त तोकिएको थिएन ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी शैलेश थापाका अनुसार पछिल्लो पटक एसएसपी खत्रीले गत चैत १३ गतेदेखि वैशाख ११ गतेसम्मको बिदा लिएका थिए । खत्री वैशाख १२ गते हाजिर हुनुपर्ने हो । तर, बिदा लिएयता एसएसपी खत्री सम्र्पकविहीन भएका थिए । उनी गायब भएपछि उनको खोजी व्यापक बनाइएको थियो । खत्रीको खोजीका लागि प्रहरीको विशेष व्युरो र सिआइबीको टोली खटिएको थियो ।
ढाड सड्किएर अस्पतालमा हुनुहुन्थ्यो : श्रीमती गीता खत्री
एसएसपी खत्री उपस्थित भएपछि मोरङ जिल्ला अदालत परिसरमा उनकी श्रीमती गीता खत्री पनि भेटिइन् । उनले आफ्ना श्रीमान् लुकेर नबसेको दाबी गरिन् । उनले आफ्ना पति वैशाख ११ गते भारतमा साथीको छोरीको बिहेमा गएको र त्यही उनको ढाड सड्किएपछि उपचारमै रहेको बताइन् । एसएसपी खत्रीको सुन तस्करीमा कुनै संग्लनता नरहेको उनको दाबी छ । भारतबाट फर्किएपछि आफूहरु वकिलको सल्लाहमा अदालतमा उपस्थित भएको उनले बताइन् ।
खत्रीमाथि अनुसन्धान रोकिँदैन : अनुसन्धान समिति
आरोपी आफैं अदालतमा उपस्थित भएपछि प्रहरीले अनुसन्धान गर्न पाउँदैन भन्ने हिसाबले श्याम खत्री आफैं अदालतमा उपस्थित भएको सरकारी अनुसन्धान समितिले बताएको छ । समितिका एक सदस्यले खत्रीलगायत जोकोहीमाथि पनि अनुसन्धान गर्न सक्ने अधिकार समितिलाई रहेको बताए ।
“यो निकै संवेदनशील विषय हो, कोही अदालतमा उपस्थित हुँदैमा अनुसन्धान गर्न नपाउने भन्ने हुँदैन । पूर्पक्षका लागि थुनामा गएपछि अनुसन्धान गर्छौं,” ती सदस्यले भने । समितिले अन्य फरार अभियुक्त पनि अदालतमा आफैं उपस्थित भएर आत्मसर्मपण गर्ने सम्भावना रहेको बताएको छ ।
(विराटनगरबाट गोपाल पोखरेलकाे सहयाेगमा)