काठमाडौं । गायब सुन र सनम शाक्यको हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’को बयान अधिकांश झुठ र आंशिकमात्रै सत्य भएको सरकारी अनुसन्धान समितिले बताएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिका एक सदस्य गोरेको बयान अधिकांश आरोपीलाई बचाउने नियतले आएको बताउँछन् । गोरेको बयान कतिपय स्थानमा आफैंमा बाझिएको ती सदस्यको तर्क छ ।
गत बुधबारबाट सुरु भएको गोरेको बयान आइतबार सकिएको थियो । गोरेको बयानले नयाँ तरंग ल्याउने र केही प्रहरीका उच्च अधिकारी तथा राजनीतिक नेताहरुको नाम पनि बाहिर आउने धेरैको आँकलन थियो । तर त्यसो भएन ।
पक्राउ परेका अधिकांश अभियुक्तलाई गोरेले चिन्दिन भनेका छन् । गोरेले बयानमा क्रममा आफूलाई पनि सामान्य सुन भरियाको रुपमा प्रस्तुत गरेका छन् । गोरेले आफ्नो बयानमा पक्राउ परेका प्रहरी अधिकारीको पनि बचाउ गरेका छन् । उनले ठूला नेताहरुलाई समाते सबै कुरा खुल्ने बताए तर ठूला नेताहरु को हुन् भनेर खुलाएनन् । गोरेले बयानमा एसएसपी श्याम खत्रीको नाम धेरैपल्ट लिएका छन् । एसएसपी खत्री र व्यापारी एमके अग्रवाल अहिले प्रहरीको सर्वाधिक खोजीमा छन् । गोरेले बयानमा भुजुङ गुरुङलाई पनि राम्रोसँग नचिनेको तर सामान्य भेटघाट भएको बताएका छन् ।
को हुन् भुजुङ गुरुङ ?
साढे ३३ किलो सुन प्रकरणमा पक्राउ परेका एक पात्र हुन् भुजुङ गुरुङ । उनी राप्रपा प्रजातान्त्रिकका नेता पनि हुन् । सुन तस्करीमा भुजुङ र गोरेको बलियो साँठगाँठ रहेको सरकारी समितिले औंल्याएको थियो । सुन तस्करीबारे गोरे र भुजुङलाई सबैभन्दा बढी जानकारी भएको पनि समितिको दाबी थियो । अनुसन्धान समितिसँग भुजुङले दिएको बयानमा ०४०–०४५ सालबाटै आफूलगायत केहीले सुनको कारोबार गरेको बताएका छन् । भुजुङले गोरेलाई २०६९ सालमा चिनेको बताएका छन् ।
त्यसपछि गोरेलगायतको समूहसँग मिलेर लगातार सुन तस्करी गर्ने गरेको भुजुङले बताएका छन् । भुजुङले सुन कसरी ल्याइन्थ्यो, त्यसमा को–को संलग्न थिए भनेर धेरै कुरा खोले पनि गोरेले भने मोरङ अदालतमा भुजुङलाई खासै नचिन्ने बताएका छन् । बयानमा गोरेले भनेका छन्– “लगभग डेढ वर्षअघि एउटा होटलमा खाजा खाँदा भेट भएकोसम्म हो । भुजुङले सुनको कारोबार गर्छन या गर्दैनन् मलाई थाहा छैन ।”
को हुन् गोरेले भनेका ठूला नेता ?
गोरेले बयानका क्रममा राजनीतिक दलका ठूला नेतालाई समाते तस्करीबारे सबै कुरा बाहिर आउने बताएका छन् । त्यसको बारेमा एसएसपी श्याम खत्रीलाई थाहा भएको उनले बताएका छन् । “तर गोरेले भनेका ठूला नेता को हुन् ? उनले नाम किन लिन सकेनन् ? गोरेले श्याम खत्रीलाई थाहा भएको कुराचाहिँ कसरी थाहा पाए त ?” समितिका एक सदस्य प्रतिप्रश्न गर्छन्, “गोरेले धेरै कुरा लुकाएर बोलिरहेका छन् । बयानमा घटनालाई विषयान्तर गर्न खोजेको पनि देखिन्छ । नेताहरुको संग्लनताको आधार हामी खोजिरहेकै छौं तर कसैको नाम आएको छैन ।” नेताहरु पनि छन् भनेर गोरेले आफूलाई सामान्य रुपमा प्रस्तुत गर्न खोजेको अनुसन्धान समितको बुझाइ छ ।
अधिकांश प्रहरीको संग्लनता अस्वीकार
गोरेले बयानका क्रममा पूर्पक्षका लागि थुनामा रहेका अधिकांश प्रहरी अधिकारीको संग्लनता अस्वीकार गरेका छन् । उनले बयानमा क्रममा बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, पूर्वडिआइजी गोविन्द निरौलाको सुन तस्करीमा कुनै भूमिका नभएको बयान दिएका छन् । तर डिएसपी प्रतिज केसी र सइ बालकृष्ण सञ्जेलको बारेमा भने शंकास्पद बयान दिएका छन् । डिएसपी केसीले शव व्यवस्थापन गर्न पैसाको डिल गरेको तर आफूलाई उनीहरुको नियतमा शंका लागेर भारततर्फ लागेको उनले बताएका छन् ।
‘जोखिम मोल्न चाहेनन् गोरेले’
गोरेले सुन तस्करीमा धेरैलाई चिन्दिन, मलाई थाहा छैन जस्तो कुरा गरे आफूमाथि लागेको आरोप कम हुन्छ कि भन्ने ठानेको अनुसन्धान समितिका एक सदस्य बताउँछन् । “सबैकुरा एसएसपी श्याम खत्री र एमके अग्रवालतिर सोझ्याएर आफू पानीमाथिको ओभानो बन्न खोजेको देखिन्छ । आफू त फसियो, अरु धेरैलाई किन फसाउने भनेर गोरेको धेरैलाई चिन्दिन भनेको हुनसक्छ तर गोेरेको त्यो बयान धेरै ठाउँमा आफैंमा बाझिएको देखिन्छ,” ती सदस्यले भने । आफ्नो परिवार र भोलि आफैंमाथि जोखिम हुनसक्छ भनेर गोरेले धेरैको संग्लनता अस्वीकार गरेको उनको दाबी छ ।
सबैको भिडियो बनाएका छौं : अनुसन्धान समिति
सरकारी अनुसन्धान समितिले सुन प्रकरणमा पक्राउ परेका सबै अभियुक्तहरुको भिडियो बयान लिएको बताइएको छ । पछि अदालतमा अरु कुरा बोलेको अवस्थामा भिडियो नै देखाउने भनेर तयार पारिएको एक सदस्यले बताए । ती सदस्यका अनुसार गोरेले अनुसन्धान समितिको भिडियोमा बोलेका धेरै कुरा अदालतमा बोलेको देखिएन । त्यसो त कानुनी रुपमा अभियुक्तले अदालतमा दिएको बयानलाई नै अन्तिम आधारका रुपमा लिइन्छ ।
गोरे र भुजुङलाई सँगै राखेर बयान लिने तयारी
गोरेसहित भुजुङ गुरुङलगायत २९ जना अहिले पूर्पक्षका लागि थुनामा छन् । एसएसपी श्याम खत्री र एमके अग्रवालसहित ३३ जना फरार सूचीमा छन् । यस्तो अवस्थामा अब कसरी अनुसन्धान अगाडि बढ्छ त ? अनुसन्धान समितिका सदस्य भन्छन्– “गोरे र भुजुङको बयान आपसमा बाझियो, उनीहरु दुवैलाई राखेर अनुसन्धान गर्छौं, धेरै कुरा त्यसपछि आउला ।” गोरे र भुजुङलाई काठमाडौं ल्याउने गृहकार्य समितिले गरिरहेको छ । “हामी कानुनी रुपमा के हुन्छ, महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरिरहेका छौं । काठमाडौं ल्याउन नमिल्ने अवस्था भए मोरङमै गएर अनुसन्धान गर्छौं,” ती सदस्यले भने ।