काठमाडौं । ललितपुर– हस्तकला, ताम्रकला, पित्तलकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र काष्ठकलाको आदिम संग्रहालय ।
वास्तु– कौशलका हिसाबले प्रख्यातै ठाउँ हो, ललितपुर ।
ललितपुरको मुखैमा कुपन्डोल । त्यसैको छेवैमा छ– ढुकुटी ।
ढुकुटी– गैह्र नाफामूलक संस्था हस्तकला उत्पादक संघको भण्डारण र बिक्री वितरण कक्ष हो । परम्परागत तवरले हातैले बनेका, पछिल्लो समय मेसिनको प्रयोगद्वारासमेत निर्मित नेपाली हस्तकलाका अनुपम र अद्वितीय नमुना त्यहाँ देख्न सकिन्छ ।
कलात्मक एवम् बानादार बुट्टा । बान्गी मिलेका बस्तु तथा सरसजावटका सामग्री त्यहाँ विशेषता बनेका छन् भनौँ ।
तर, यहाँ अझै विशेष बनेको छ ताम्रकला ।
वैदेशिक रोजगारी, अर्थउपार्जनका विविध आयामले मानिसको क्रयशक्तिमा बढोत्तरी आएको छ । र त, पछिल्लो समय हस्तकलाका सामग्रीको खरिद र खोजी दुवै हुन थालेको छ ।
केही समयअघिसम्म त्यस्ता सौन्दर्यदायक सामग्रीहरूको बजार विदेशी बस्तुले ओगटेको थियो । पछिल्लोसमयम भने नेपालमै उत्पादित बस्तु तथा सामग्रीहरूले मनग्गे बजार पाउन थालेका छन् । र, त्यसमा विदेशीको आकर्षण पनि उस्तै बढेको छ ।
ताम्रकला किन बढी खपत हुन्छ ?
कुनै समय तामाका पाना–पाथी बस्तु विनिमय तथा नापतौलका मानक थिए । माना–पाथी भएका घर समुन्नतिको प्रतीक थियो । त्यसो त विवाहमा दाइजो दिँदा–लिँदा कसले कत्रो खड्कौलो हाल्यो भनेर पनि उसको आर्थिक हैसियतको तुलना हुन्थ्यो, कुनैबेला ।
दक्षिण एसिया ताम्रकलाको उद्गम थलो भन्दा पनि हुन्छ । त्यसमा पनि नेपाल । यहाँ विश्वकर्मालगायत केही जाति–समूहहरू अझै पनि परम्परागत ताम्रकलाका काम गर्छन् । आरनमा तामाका गाग्री, घ्याम्पा, खड्कुँला, थालीलगायत भाँडावर्तन बनाएर गुजारा चलाउँछन् । त्यसैले पनि तामाबाट बनेका सामग्रीसँग यहाँको जीवनपद्दति गाँसिएको छ ।
यही परम्परागत ताम्र–उपयोगको संस्कारलाई जीवन्त तुल्याउँदै स्तरोन्नती गर्न लागि परेको छ– हस्तकला उत्पादक संघ ।
पछिल्लो समय तामाबाट बनेका हस्तकला तथा सरसजावटका सामग्रीको उत्पादन तथा बिक्री–वितरण बढेको बताउँदै ढुकुटीका इन्चार्ज राजेन्द्रप्रसाद चौलागाईं ।
“हामीकहाँ आदिकालदेखि नै तामाबाट बनेका सामग्रीहरूको प्रयोग हुन्थ्यो । धातुकलामा ताम्रकला नै उत्कृष्ट मानिन्थ्यो,” उनी थप्छन्, “त्यही परम्परालाई जोगाउँदै व्यवसायिक रूप दिन ताम्रकलामा विविधता थपेका हौँ ।”
तामाबाटै बनेका गमला, कमलको फूल आकारका सजावट–सामग्री, मैन बत्ती अड्याउनेमात्र नभइ गरहनासमेत ढुकुटीबाट बिक्री–वितरण हुने गर्दछन् ।
विश्वकर्माहरूको स्तरअभिवृद्धि
नेपालमा विश्वकर्माहरूले परापूर्वककालदेखि नै फलाम–तामाको काम गर्दै आइरहेका छन् । उनीहरूलाई नै उपयोग गरेर लाभको हिस्सेदारसमेत बनाउनेगरी हस्तकला उत्पादक संघले तामाको सजावटका सामग्री तयार पारिरहेका छ ।
चौलागाईं थप्छन्, “विश्वकर्माहरूको पुस्तैनी पेसा पनि त्यही भएकाले सरसजावटका सामग्री बनाउन सजिलो भएको छ । कतिपयलाई नमुनामात्रै दिए पुग्छ, कतिपयलाई भने थोरै ज्ञानसीप दिनेबित्तिकै दुरुस्तै सामाग्री तयार पार्नुहुन्छ ।”
पाल्पाका विश्वकर्माहरूले हस्तकला उत्पादक संघका लागि तामाका सामग्रीहरू तयार पार्छन् ।
पाल्पाको खालीवन, गल्धा, हुुमिन, देवीनगर, झडेवा, रुप्से, कसेनी, यम्घा, चापपानी बगनास, खस्यौली, छहरालगायतका ठाउँहरू तामाका भाँडा बनाउन प्रशिद्ध छन् । तर, संघले भने तानसेन नजिकैका गाउँका विश्वकर्माका परिवारहरूलाई संघमा आवद्ध गराएको छ र उत्पादनको साझेदार बनाएको छ । ५० बढी विश्वकर्मा परिवार लाभान्वित छन् त्यसबाट ।
“हामीले भाँडावर्तन र सरसजावटका सामग्री बनाएवापत उहाँहरूलाई ज्याला दिन्छौँ । त्यसबाहेक उहाँहरूका बालबच्चाको पढाइखर्च वापत प्रतिपरिवार उपलब्ध गराउँछौँ,” चौलागाईं प्रष्ट्याउँछन् ।
त्यसबाहेक संघले आफूआवद्ध उत्पादक र तिनका परिवारलाई स्वास्थ्योपचार र कामको प्रस्तुतिअनुसार पारितोषिकको प्रवन्धसमेत मिलाएको छ ।
कामदारै पाइन छाडे
परम्परागत प्रविधिको उत्खनन् र आधुनिकीकरणमार्फत बस्तु उत्पादन गर्न प्रेरित गरिहेका छ संघले । तर, वैदेशिक रोजगारी र शहरउन्मुख प्रवृत्तिले कामदार पाइन छाडेको अनुभव गर्छन् इन्चार्ज चौलागाईं । “तामाका भाँडावर्तन तथा सजावटजन्य सामग्री बनाउन हामीले आरनकै उपयोग गर्छौं । परम्परागत धातुकौशलको जगेर्ना नै हाम्रो अभिष्ट हो । तर, बढ्दो वैदेशिक रोजगारी र काम खोज्न शहरपस्ने प्रवृत्तिले मागअनुसारको आपूर्ति धान्न हम्मेहम्मे परिरहेको छ,” अन्तिममा उनी भन्छन् ।
तस्बिर : सरिता खड्का