काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच हुन लागेको एकता प्रक्रियाका बारेमा शीर्ष नेताकै धारणा सुन्ने हो भने कुनै पनि विवादित विषय बाँकी छैनन्, तर एकता हुन सकेको छैन । एकता घोषणा हुने भनिएको दिन पनि टरिसक्यो, अब नभनिएको दिनमा एकता हुन्छ भनेर नेताहरुले कार्यकर्तालाई सम्झाउने काम जारी राखेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शब्दमा भन्ने हो भने एकताका लागि अब जुत्ता तयार भइसक्यो, खुट्टा ताछेर पनि मिलाएर जुत्ता लगाउनैपर्छ । अर्को विकल्प छैन । अब दुनियाँको ताकतले एकता प्रक्रिया रोकिँदैन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै शब्दमा भन्ने हो भने अब केपी ओली र प्रचण्डले नचाहे पनि एकता भएरै छाड्छ ।
दुवै शीर्ष नेताले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका दिन भएको कार्यक्रममा व्यक्त धारणा हुन् यी । यति भन्दैगर्दा एमाले र माओवादी केन्द्रबीच कतिसम्म विश्वासको संकट छ भन्ने कुरा सोही कार्यक्रमको सुरुवातमै देखियो ।
कार्यकर्ता पार्टी एकता ‘भए हुन्छ नभए हुँदैन’ भन्ने तहसम्मको व्यवहारमा उत्रिए । शीर्ष नेताले नै एकआपसमा कटाक्ष गरे । त्यसले अझै पनि मुल विषय भन्दा विश्वासकै संकट रहेको देखाउँछ ।
माओवादी केन्द्रकै एक नेताले पनि शीर्ष नेतामा विश्वास बन्ने हो भने सबै कुरा मिलिसकेको बताउँछन् ।
“उहाँहरुकै कुरा सुन्दा कुनै पनि विषय विवादित देखिँदैन,” उनले बाह्रखरीसँगको कुराकानीमा भने, “विश्वासको वातावरण नै भएन भने ती सबै विषय फेरि जस्ताको त्यस्तै हुन्छन् । सबै विवादित हुन्छन् ।”
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि शीर्ष नेताको मन माझिन बाँकी रहेकाले एकता प्रक्रिया अघि नबढेको बताउँछन् ।
“नेताहरुबीच मनमा केही माझिन बाँकी छ,” बाह्रखरीसँग कुरा गर्दै उनले भने, “अब छिट्टै एकता हुन्छ । विषय मिल्न बाँकी केही छैन मन मिल्न मात्र बाँकी छ ।”
के हो अविश्वासको जरो ?
अहिले देखिएको विवादको मुल जरो अर्को कार्यकालमा को अध्यक्ष ? भन्ने नै भएको दुवै पार्टीका नेताको तर्क छ ।
“माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टी एकताको लागि आफूलाई साढे दुईवर्ष प्रधानमन्त्री र महाधिवेशन पछाडि पार्टी अध्यक्षको ग्यारेन्टी गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माग गर्नुभएको छ, त्यो कुरा अहिले नै ग्यारेन्टी गर्न सकिँदैन,” एमालेका एक नेताले भने ।
तर एमालेमा पाँचवर्षसम्म कुनै पनि हालतमा प्रधानमन्त्री परिवर्तन गर्न नहुने र महाधिवेशनपछिको अहिले नै ग्यारेन्टी गर्न नसकिने समूहको वर्चश्व छ । उक्त प्रस्तावमा कोही पनि एमाले नेता तयार छैनन् । पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले नेता माधवकुमार नेपाललाई नजिक ल्याएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल झनै झस्किएको स्रोत बताउँछ ।
ओलीले पनि अहिले नै दाहाललाई महाधिवेशनपछि अध्यक्षको आश्वासन र लिखित रुपमा प्रतिवद्धता व्यक्त गर्न तयार देखिएका छैनन् ।
तर माओवादी केन्द्रका नेताहरु अहिले पनि पार्टी र सरकारमा ओली हाबी हुने र महाधिवेशनपछि पनि प्रचण्डको अस्तित्व नै समाप्त हुनेगरी मोर्चाबन्दी भएमा सधैं तल परिने अवस्थामा एकता गर्नुको कुनै औचित्य नरहने बताउँछन् ।
पार्टी एकतालाई दुवै दलका नेताहरुले शंकाको दृष्टिले हेरेका कारण पनि अघि बढ्न नसकेको माओवादी केन्द्रका अर्का नेता मणि थापा बताउँछन् ।
“विगतमा एमालेले माओवादी केन्द्रलाई दिएको चेक बाउन्स भयो । त्यसैले अब माओवादीले नगदमा खोजेको छ । विगतमा भएका सबै सहमति पूर्णरुपमा पालना भएको भए अहिले शंकाको दृष्टिले हेर्नुपर्दैनथ्यो,” थापाले भने, “माओवादी केन्द्रले पनि एमालेसँग भएको सहमति पालना गरेन होला । त्यसैले एकताको लागि अझै एकअर्कामा विश्वास नपुगेको देखिन्छ । म त भन्छु एकताको लागि सबैभन्दा ठूला कुरा विश्वास नै हो । लिखित सम्झौता पनि च्यातेर फालिदिए कसैको केही लाग्दैन ।”
लेनिन दिवसको कार्यक्रमले माओवादी झन दुःखी !
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र सचिव सरुवापछि माओवादी केन्द्रले एमालेलाई शंकाको दृष्टिले हेर्दै आएको छ । लेनिन दिवसमा गरिएको कार्यक्रममा एमालेको ‘हेपाहा’ प्रवृत्ति देखिएको माओवादी केन्द्रका नेता बताउँछन् ।
“राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिले गरेको कार्यक्रममा एमालेले मान्दै आएका नेताहरु मनमोहन, पुष्पलाल, मदन भण्डारीको मात्र फोटो राख्दा माओवादीले मान्दै आएका नेताहरुको फोटो नै राखिएन । लेनिनको जन्मदिनमा उनकै फोटो नहुनु महाभूल हो । केही नेताहरुलाई फकाएर कार्यकर्ताको मनोभावना नबुझी एकलौटी तरिकाले माओवादीलाई तल पारेर जान खोजियो । त्यसबाट झन कार्यकर्ताको मनमा चिसो पसेको छ,“ ती नेताले भने ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल पनि एकतापछि अर्को महाधिवेशनसम्म संक्रमणकाल हुने भएकाले धेरै विषयहरु अहिले नै छिनोफानो हुनुपर्ने बताउँछन् ।
“महाधिवेशन नहुँदासम्म संक्रमणकालको अवस्था रहन्छ । त्यसैले अहिले नै सबै कुरा स्पष्ट भएपछि मात्र एकता गर्नुपर्छ, “पौडेलले भने । तर नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिले विश्वासको संकट नरहेको तर्क गर्दै सबैलाई मिलाएर लैजाने प्रयास भइरहेको बताउँछन् ।
“पार्टी एकताबाट अब फर्किने कुनै त्यस्तो ठाउँ छैन,” नेम्वाङले थपे, “दुई अध्यक्षले सबैलाई मिलाएर लैजान खोज्दै हुनुहुन्छ । त्यसैले समय लम्बिएको हो । एकता नहोला कि भनेर कसैले पनि शंका गर्नुपर्दैन । मैले त बारम्बार भन्दै आएको छु जनताद्वारा हाम्रो एकता अनुमोदित भइसक्यो । अब घोषणा हुनमात्रै बाँकी छ ।“
फाइल तस्बिर