काठमाडौं । काठमाडौंमा प्रहरीले प्रतिबन्धित ५० लाख भारतीय रुपैयाँ पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार यो रकम ठमेल क्षेत्रबाट समातिएको हो । भारतमा ५ सय र एक हजार दरका पुराना नोटमा प्रतिबन्ध लागेपछि उक्त रकम काठमाडौं भित्रिएको आशंका गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
भारतमा ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लागेपछि नेपालमा रहेका नोट सटहीबारे पनि अन्योलता बढेको थियो । प्रहरी स्रोतका अनुसार करिब ५ करोड भारतीय रुपैयाँ रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । तर ५० लाख मात्रै बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार अवैध रुपमा नेपालमा रहेका त्यस्तो पैसा वैध बनाउन गिरोह नै सक्रिय भएको थियो । त्यो गिरोहले नेपालका केही राजनीतिक दलका उच्च नेता, सुरक्षा निकायका उच्च अधिकारी र राष्ट्र बैंकका केही अधिकारीसँग छलफलसमेत चलाएको थियो ।
पक्राउ परेका गिरोहलाई आजै दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
सच्याइएको : यसअघिको समचारमा ५० लाख हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।