काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक र बाह्य राजनीतिबारे चारवटा प्रमुख सुरक्षा चुनौतिको खुलासा गरेका छन् । गृहप्रशासनको सुधार योजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले यस्तो खुलासा गरेका हुन । गृहमन्त्री थापाले औंल्याएका ४ सुरक्षा चुनौति र खतरा यस्ता छन् ।
१.गृहमन्त्री थापाका अनुसार मुलुकमा जातीय र धार्मिक युद्धको तयारी गर्न केहि स्वदेशी तथा विदेशी तत्व सक्रिय छ । धर्मका विरुद्ध धर्म, जातका विरुद्ध जात र समुदायका विरुद्ध समुदाय भिडाउन केही समुह सक्रिय रहेको उनको भनाई छ । सीके राउत लगायतको समुहले तराईमा त्यो अभ्यास गरिरहेको र पूर्वी र पश्चिमी नेपालमा पनि विखण्डनको प्रयास भइरहेको उनले बताए । थापाले कतिपय समुहले इसाइकरण गर्ने नाममा सन् २०२५ सम्म सबै मठ–मन्दिर सरकारले भत्काउँछ भन्नेसम्मको प्रचार गरिरहेको बताए । नेपालीबीचको एकता तोड्ने काममा पनि केही शक्तिहरु सक्रिय रहेको थापाको दाबी छ ।
२.सुन र मानव तस्करी पनि ठुलो चुनौति रहेको गृहमन्त्रीको भनाई छ । खासगरि भारततर्फको खुला सीमानाबाट अर्बौको कर छली गरेर समान भित्र्याउँदै मुलुकलाई आर्थिकरुपमा डामाडोल पार्ने खेल भइरहेको उनको भनाई छ । उत्तरी नाकाबाट सुन तस्करी तोलामा होइन टनका टन भइरहेको उनले बताए । गृहमन्त्री थापाले हवाई रुटबाट अर्बौको सुन तस्करी र मानव तस्करी भइरहेको बताए । यो कार्यमा अध्यागमन विभागका उच्च कर्मचारीको मिलेमतो रहेको थापाको आरोप छ । उनले तस्करको जालो तलदेखि माथिसम्म रहेको बताउँदै यस्तो कार्यमा राजनीतिक दलका नेताको पनि संग्लनता रहेको बताए । सडक, सदन र सरकारबाट यस्ता गिरोहविरुद्ध आक्रमण गर्नुपर्ने थापाको तर्क छ ।
३.थापाका अनुसार सरकारको ढुकुटी खाली छ । यसअघि सरकार चलाउनेहरुले देशलाई कंगाल बनाएका कारण मुलुकको खर्च धान्न सरकारलाई गाह्रो छ । सरकारका काम कारवाही पनि प्रभावकारी छैनन् । नागरिकमा सरकारप्रतिको विश्वास नरहेको उनको भनाई छ । आफुले अर्थमन्त्रीसँग नेपालमा कति कालोधन छ ? भन्ने विषयमा कुरा गरेको चर्चा गर्दै थापाले नेपालमा ५० प्रतिशत कालोधन रहेको खुलासा गरे । हुण्डीवाजहरुले मुलुकको अर्थतन्त्र चौपट पारेको र काठमाडौंका गोदामहरुमा कालो धन रहेको सूचना आफुलाई भएको थापाले बताए ।
४.गृहमन्त्री थापाका अनुसार पछिल्लो समय लागुऔषध प्रयोग र यातायत क्षेत्रमा सिण्डिकेट डरलाग्दो रुपमा अगाडि बढेको छ ।
थापाले उपत्यकाको ट्राफिम जाममा पनि यातायात क्षेत्रका माफिया र तस्करको हात रहेको खुलासा गरे । “देख्दा सामान्य लागेपनि उपत्यकाको जामको भित्रि कुरा अर्कै छ,” गृहमन्त्री थापाले भने । यातायात क्षेत्रका हुने एकाधिकारको अन्त्यका लागि सरकार कसैसँग नझुक्ने गृहमन्त्रीको अडान छ । थापाका अनुसार पछिल्लो समय लागुऔषध प्रयोगकर्ता ११ प्रतिशतसम्म पुगेका छन् । यो निकै ठुलो चिन्ताको विषय भएको उनको भनाई छ । लागुऔषध र मदिरापानकै प्रयोगबाट बलात्कार, गुण्डागर्दी, चन्दा फिरौती आतंक बढेको थापाले औल्याए ।