काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवा हदका कारण दुवै संगठनका आईजीपीले २८ चैतमा अनिवार्य अवकाश पाउँदैछन् । आईजीपी रिक्त हुने मिति नजिकिएसँगै दुवै संगठनको नेतृत्वका लागि दौडधुप सुरु भएको छ ।
नेपाल प्रहरीको ऐन– नियमवालीअनुसार ३० वर्षे सेवा हदका कारण चैत २८ गते आईजीपी प्रकाश अर्यालसहित १५ जना एआईजीले अनिवार्य अवकाश पाउँदैछन् । यतिमात्रै होइन, वरियतामा अगाडि रहेका डीआईजीहरु गोविन्द निरौला, रोमेन्द्रसिंह देउजा, सुदीप आचार्य, गणेश केसी, केदारमानसिंह भण्डारी, रमेश भट्टराई, पुष्पचन्द्र रञ्जित र एसएसपी विष्णुहरि गौतमले पनि ३० वर्षे सेवा हदका कारण अवकाश पाउनेछन् । चैत २९ गतेबाटै लागु हुनेगरी सरकारले नेपाल प्रहरीको २६ औं आईजीपी अर्थात् नयाँ नेतृत्व नियुक्त गर्नुपर्ने हुन्छ ।
नेपाल प्रहरीमा खनाल, खरेल र कार्की दाबेदार
नेपाल प्रहरीको २६ औं आईजीपीमा डीआईजीमध्येबाट नै एकजना नियुक्त हुनेछन् । सामान्यतयाः वरियताक्रममा एक नम्बरमा रहेका डीआईजी नै आईजीपी हुने गर्छन् । तर, आईजी नियुक्ति मन्त्रिपरिषदको अधिकारको विषय हो ।
नयाँ आईजीपीका लागि प्रहरीमा ३ अनुहारको चर्चा छ । डीआईजीत्रय सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्येबाट नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने निश्चित छ । खनाल, खरेल र कार्की तीनैजना २०४६ का व्याजी हुन् । नेपाल प्रहरीमा तीनजनाकै आफ्नै क्षमता र काम गर्ने पृथक शैली छ ।
हाल डीआईजीको वरियतामा सर्वेन्द्र खनाल एक नम्बरमा छन् भने खरेल दुई र कार्की तीन नम्बरमा छन् । खनालले एसएसपीसम्म आइपुग्दा तराईदेखि अन्य विभिन्न जिल्लाको कमाण्ड गरिसकेका छन् । खनालले यसअघि धनुषा, तत्कालीन अञ्चल प्रहरी कार्यालय नारायणी, काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्व गरिसकेका छन् । कुख्यात भारतीय अपराधी बब्लु दुवेको पक्राउदेखि कुमार घैंटेको इन्काउन्टरसम्मको अपरेसन गरेका खनालले नेपाली फुटबलको म्याच फिक्सिङको पर्दाफास गरेर पनि चर्चा बटुलेका थिए । खनाल अहिले ट्राफिक प्रहरी महाशाखाको प्रमुख छन् ।
यस्तै रमेश खरेल पनि चर्चित प्रहरी अधिकारी हुन् । भ्रष्टाचार र अपराधविरुद्ध खुलेरै नेताहरुकै अगाडि बोल्ने उनको शैलीले उनी चर्चित भए । खरेलले २ पटक काठमाडौं प्रहरी परिसरको नेतृत्व समेत सम्हाले । काठमाडौंमा गुण्डागर्दी नियन्त्रणदेखि पर्साको तस्करी सञ्जाल तोडेपछि उनको चर्चा चुलिएको थियो । प्रहरी संगठनभित्र उनी खरो अधिकृतका रुपमा चिनिन्छन् । एमाले नेता वामदेव गौतमसँग एक कार्यक्रममा ‘सुटकेश बोकेर तपाईंकोमा हाकिमहरु आउलान्’ भनेपछि उनी केही विवादमा पनि मुछिएका थिए । खरेललाई तराईका जिल्ला र फिल्डमा काम गरेको अनुभव कम छ । खरेल अहिले सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।
आईजीका अर्का दाबेदार हुन् डीआईजी पुष्कर कार्की । कार्कीले काठमाडौं प्रहरी परिसर, अपराध महाशाखा, गोरखा र कास्कीलगायत जिल्लाको कमाण्ड गरिसकेका छन् । राष्ट्रसंघीय मिसनमा सबैभन्दा उच्च तहमा बसेर काम गरेका प्रहरी अधिकारी कार्की प्रहरी सुधार र व्यवस्थापनमा चासो राख्छन् । हाल केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख रहेका कार्कीको नेतृत्वमा अपराधी मनोज पुन ग्याङ समातिएको छ भने काठमाडौंमा छात्रामाथि एसिड प्रहार गर्ने तथा टेकु, ठमेल र न्युरोडमा गोली हान्ने समूहको पहिचान भएको छ । त्यस्तै, नक्कली चिनियाँ डाक्टर समातिएका छन् । यस्तै, दोलखामा रहेको विटक्वाइटनको अपरेसनदखि वन्यजन्तुको हाडछाला तस्करी र सामूहिक अपराधका कैयौं मुद्दाहरुमा उनले चर्चा कमाएका छन् ।
कसले सम्हाल्ला सशस्त्रको कमाण्ड ?
सीमा सुरक्षा तथा अर्धसैनिक बल भनिने सशस्त्र प्रहरीमा पनि आईजीपी सिंहबहादुर श्रेष्ठले २८ चैतमा अनिवार्य अवकाश पाउने भएपछि नयाँ नेतृत्व कसले सम्हाल्छ भन्ने चासो बढेको छ । सिंहसँगै एआईजी प्रेमकुमार शाही र प्रकाश ओझाले पनि २८ चैतमै अवकाश पाउनेछन् । सशस्त्र प्रहरीमा भावी नेतृत्वका लागि एआईजीहरु शैलेन्द्र खनाल, पुष्पराम केसी र नारायाणबाबु थापाको चर्चा छ । २०४९ वैशाख १९ गते नेपाल प्रहरीमा निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गरेका उनीहरु सशस्त्र प्रहरी बल गठन हुँदा एक तह बढुवा भएका थिए ।
आईजीपीका दाबेदार खनाल व्यावसायिक र इमान्दार एआइजी भनेर चिनिन्छन। सशस्त्र प्रहरीमा प्रायः वरियतामा पहिलो नम्बरमै रहेका आईजीपी बन्ने प्रचलन हुँदा नेपाल प्रहरीमा जस्तो दौडधुप र चलखेल कम हुने भएकाले खनालकै सम्भावना बढि रहेको स्रोत बताउँछ । वरियतामा खनालनै एक नम्बरमा रहेको हुँदा नेपाल प्रहरीमा जस्तो अवस्था सशस्त्र प्रहरीमा नरहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार सिंहबहादुर श्रेष्ठपछि खनालले नै नेतृत्व सम्हाल्ने पक्का छ ।
आईजीपीको दौडमा रहेका एआईजी पुष्पराम केसी व्यावसायिक प्रहरी अधिकृतको रुपमा चिनिए पनि खनालभन्दा उनी वरीयतामा पछि छन् । मिडियामा उनी खासै आउँदैनन् । सशस्त्र प्रहरीको व्यावसायिक सुधारका लागि भने उनले बोल्दै आएका छन् ।