विश्व भूमण्डलीकरणसँगै संसारभर फिँजिएका नेपालीलाई अन्तर्राष्ट्रिय भाषामा आफ्नो उपस्थिति देखाउन अंग्रेजी बोल्नु अनिवार्यजस्तै भइसकेको छ । त्यसैले त पछिल्लो समय अग्रेजी भाषाप्रति मोह बढेको छ ।
तर, विदेशीहरूमा भने नेपाली भाषाप्रति आकर्षण छ ।
मंगलबार मध्याह्न शान्त थियो प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस । कोठा नम्बर ८ मा गुरूङ सुशान्त नेपाली भाषा पढाउँदै थिए विदेशीहरुलाई । उनको कोठा पार गरेर भर्याङतिर अघि बढ्नेबित्तिकै पिठ्युँमा झोला बोकेका विदेशी अनुहारका दुई युवतीसँग जम्काभेट भयो । उनीहरू छिँडीतिर ओर्लंदै रहेछन् । मुसुक्क हाँस्दै हात जोडे र चिनियाँ लवजमा बोले– “नमस्ते ! सञ्चै हुनुहुन्छ ?”
अर्को सिँढी पुगेर बायाँतर्फ मोडिँदै गर्दा पुस्तकालयको आडैमा भेटिए, दक्षिण कोरियाका स्योङ्गबोक ली ।
झन्डै एक वर्षअघिदेखि काठमाडौँमा बसेका उनको एकमात्र ध्येय रहेछ– नेपाली सिक्ने ।
तर, उनी विश्वभाषा क्याम्पसमा भर्ना भएका छैनन् ।
“उसो भए किन आएको त ?”
“श्रीमतीलाई सहयोग गर्न, मेरी श्रीमती भित्र कक्षामा पढ्दै हुनुहुन्छ,” मज्जाले पो नेपाली बोले उनले ।
म्याकमा आँखा दौडाउँदै नेपाली शब्द खोजिरहेका थिए उनी । कुनै शब्द नबुझे गुगल ट्रान्सलेटको सहयोग पनि लिँदा रहेछन् ।
बारम्बार प्रयोग हुने र दैनन्दिन चाहिने कोरियन भाषाको नेपाली अनुवादको पीडिएफ फाइल नै राखेका रहेछन् मोबाइलमा । त्यसलाई पन्छाए कुरा गर्न थाले ।
शुद्ध उच्चारणको कडी बातचित नै हो । समय किन खेर फाल्थे र उनी !
दक्षिण कोरियाको राजधानी सोलका उनीहरू एक वर्षदेखि काठमाडौँमा छन्, नेपाली सिक्नकै लागि । श्रीमतीकै सान्निध्यताले होला, स्योङ्गबोकले नेपाली भाषा लेख्न, बोल्न र पढ्नसमेत जानेछन् ।
बिहान साढे ११ बजेदेखि १ बजेसम्मको कक्षा । श्रीमतीलाई पर्खिरहेका रहेछन् उनी । तर, उनी फुर्सदमा थिएनन् । इन्टरनेटको माध्यमबाट नेपाली भाषा खोजिरहेका थिए र नयाँ शब्द फेला परे कापीमा लेखिहाल्थे । बोल्नजस्तो सजिलो कहाँ हुन्थ्यो लेख्न । “नेपाली लेख्न गाह्रो । सकिँदो रहेनछ,” शिशु बालकको झैँ लाग्ने तोते लवज थियो उनको ।
नेपालीको दुःखले भाषा सिक्न कर लगायो
६० को दशकदेखि नेपालीहरु रोजगारीको सिलसिलामा कोरिया जाने क्रम बढ्यो । त्यही बेलादेखि स्योङ्गबोक लीको परिवारसँग नेपालीको बसउठ बाक्लियो । जस्तै विपद्मा मुस्कुराइ रहने र सङ्लो मनका नेपाली देखेर सुरूमा त अचम्मित भए । सुरूसुरूमा एकाध त्यस्ता होलान् लागेको थियो तर जतिसँग सङ्गत बढ्यो, ती सबै समान प्रकृतिका भेटिएपछि नेपालै घुम्न आएका रहेछन्, स्योङ्गबोकको दम्पत्ति ।
“नेपाली सफा मनका छन्, कोरियन यस्ता छैनन्, खुसी भए पनि बताउन जान्दैनन्,” एकएक गरी भाषा मुखारु बनाएका, निकै गाह्रो गरी बोले तिनले ।
नेपालबाट बर्सेनि हजारौँको संख्यामा काम गर्न जान्छन् । भाषा नबुझ्दा निकै मर्कामा परेका छन् नेपाली कामदार । नेपाल आएको बेला भाषा सिक्न पाइयो भने आफ्नो देश फर्किएर आपत्विपद्मा परेका नेपालीलाई मद्दत गर्न पाइन्छ । भाषा सिक्नुको उद्देश्य यही रहेछ उनीहरूको । र त आफू जन्मे–हुर्केको परिवशभन्दा माइलौँ टाढाको लिपी सिक्न मरिहत्ते गर्दैछन् उनीहरू ।
कसरी हाँस्न सक्छन् नेपाली ?
नेपाली भाषा सिक्ने हुटहुटी छ तर सिक्न सजिलो छैन । त्यस्तै गाह्रो पर्यो बुझ्न नेपालीको स्वभाव ।
जताजतै फोहोर छ । टुकुचाको दुर्गन्धले विश्वभाषा क्याम्पसमा समेत नाक नथुनी बस्न सकिँदैन । धुवाँधुलो उस्तै । कसरी हाँस्न सकेका होलान् नेपाली ? उनलाई आश्चर्य लागेको यही हो ।
“नेपाली त हिमालको देशका मान्छे तर मरुभूमिबासीजस्तै पानी किनेर तिर्खा मेटाउँदा रहेछन्,” हाँस्न पो थाले स्योङ्गबोक ।
“नेपालीको दुःख सम्झिएर मलाई नै पीर लाग्यो,” उद्विग्न देखिए उनी ।
जस्तै दुःखमा नेपाली हाँस्छन् भन्ने सोलमै अनुभूत गरेका रहेछन् उनले । दश–बाह्र घन्टा फार्ममा काम गर्नेको पनि कहिल्यै मुख अँध्यारो हुँदैनथ्यो ।
“यहाँ त ठुल्ठूला हिमाल रहेछन् । त्यही हिमालले हास्न सिकायो कि ?,” रोकिई रोकिई बोले पनि लखसमेत काट्छन् उनी ।
यहाँका धनी बाँड्न जान्दा रहेनछन्
कोरियामा नेपाली गरिब छैनन्, दुःख पनि छैन । फोहोर र दुर्गन्ध पनि भेटिँदैन तर कोरिया र नेपालमा एउटा कुराको अचम्मको समानता रहेछ । नेपालका धनी बाँड्न जान्दा रहेनछन् । तिनै गरिबको रकम निचोरेर धनी भएकाहरू गरिबलाई बाँड्दा रहेनछन् । कोरियामा पनि ठीक यस्तै समस्या छ । त्यहाँका धनी पनि आफैँमात्र कुम्ल्याउन पाए हुन्थ्यो ठान्छन् । स्योङ्गबोकले पहिल्याएको कुरा हो यो ।
“धनीले कमाएको रकम समाजलाई नदिने, गरिबलाई नदिने हो भने देश कहाँ उँभो लाग्छ र ?,” अलिअलि अंग्रेजी, केही कोरियन र अधिकांश नेपाली शब्दको सहायतामा प्रश्न गर्छन् उनी ।
“यही अव्यवस्थाले होला कोरियामा मेरा थुप्रै नेपाली साथी छन्, प्रदीप, दिनेश आदि । तर, ती नेपाल आउनै मान्दैनन् । बिहान ८ बजेदेखि राति दश बजेसम्म १४ घन्टा खट्न तयार छन्, दुःख गर्न खुसी हुन्छन् । तर नेपाल जाऊँ भन्दा हुँदैन भन्छन्,” उनले दुखेसो पोखे ।
त्यसको कारण पनि नेपालै आएर पत्ता लगाए उनले– यहाँ त रोजगारी नै नपाइने रहेछ । बन्द हड्तालमात्रै भइरहँदो रहेछ ।
“कोरियामा कार्यरत नेपालीको परिवारको के हाल होला,” आफैँ तरङ्गित हुँदा रहेछन् उनी ।
नेपालमा बसेर उनले भाषामात्रै सिकेका छैनन् । मसिनोसँग समाजसमेत पढेका छन् । कोरियामा दश–बीस वर्ष काम गर्यो भने जीवनको सुरक्षा हुन्छ । मजाले जिन्दगी निर्वाह गर्न सकिन्छ । तर, नेपालमा ३० औँ वर्ष काम गर्यो, काम छाडेको भोलिपल्ट भोकै पर्न सकिन्छ । यहाँको रोजगारीको अवस्थाबारे स्योङ्गबोकले गरेको अध्ययन हो ।
० ० ०
करिब ३० मिनेटपछि स्योङ्गबोककी पत्नी उन्सुक आइन् । खररर्र बोल्दिरहिछन् नेपाली । कहिलेकाहीँ नेपाली नै भन्ठानेर सुस्मिता नेपाल शिक्षिकासमेत झुक्किनुहुन्छ । मंगोलिन बोली, प्रष्ट उच्चारण । कोरियन महिला हो भनेर धेरैलाई पत्याउनै मुस्किल पर्छ ।
“नेपाली जनजीवन र संस्कृति मन पर्छ । अझ हिमालहरूले त लोभ्याउँछन् मलाई,” नेपाली सिक्नुको तात्पर्य बताइन् ।
तर, नेपाली भाषा सिक्न सजिलो छैन । कोरियन र चाइनिजहरूलाई कखरा सिक्नसमेत वर्षौं लाग्न सक्छ । कोरियन लिपीमा आधा र संयुक्त अक्षरको प्रयोग नै हुँदैन । अक्षरको होइन, जीवनकै नयाँ नियम सिकेको आभास पो भइरहेको छ उनलाई ।
यही फेब्रुअरीमा विश्वभाषामा भर्ना भएकी हुन्, पहिलो सेमेस्टरमा । तर, उनी राम्रैसँग बोल्न, लेख्न जान्दछिन् ।
कसरी ?
“भूकम्पअघि पनि हामी नेपाल आएको थियौँ । र, कीर्तिपुर क्याम्पस बसेर ८ महिना नेपाली भाषा लेखपढ गर्न सिकेकी हुँ,” सुनाउँछिन् उनी ।
अब तीन वर्ष नेपाल बसेर छैटौँ सेमेस्टर पूरा गर्ने र कोरिया नै फर्किएर त्यहाँ काम गर्ने नेपालीलाई मद्दत गर्ने ध्येय उनको पनि छ ।
१३६ जना छन् यो सिजनमा
माघदेखि जेठसम्म पढाइ हुने यो सिजनमा १३६ जना विदेशी नेपाली भाषामा भर्ना भएका छन् । त्यसमध्ये अधिकांश कोरियन नागरिक छन् । “त्यस्तै ७० प्रतिशतको हाराहारीमा होलान्, विश्वभाषा क्याम्पस, वैदेशिक विभाग हेर्ने शाखा अधिकृत रीतादेवी निरौला बताउँछिन् । त्यसबाहेक नेवारीमा ८, संस्कृतमा २ र पाली भाषामा ४ जना भर्ना भएका छन् । तुलनात्मक रूपमा यो सिजनमा विदेशी कम भर्ना हुन्छन् । जुलाइ महिनामा भने बढी विद्यार्थी भर्ना हुन्छन् । गत वर्षको जुलाइमा २६३ जना भर्ना भएका थिए ।
एउटा मातृभाषा बोलि, लेखिरहेकालाई अर्को मातृभाषा लेखपढ गर्न गाह्रो हुने भइहाल्यो । तर, पढ्न निधो गरेर आएका विदेशी तीन वर्ष आनन्दपूर्वक पढ्छन् । र, निकै कम ड्रपआउट (कक्षा छाड्ने) हुन्छन् । पहिलो सेमेस्टरमा पढाइ, लेखाइ, सुनाइ, बोलाइ र दोस्रो सेमेस्टरदेखि भने श्रव्यदृष्यमाध्यमको समेत प्रयोग गरिने क्याम्पस प्रशासन बताउँछ ।
विश्वभाषाले एक सेमेस्टको ५०० डलर शुल्क लिने गरेको छ । भर्ना हुन विद्यार्थी स्वयम् उपस्थित हुनुपर्छ भने प्रत्येक सेमेस्टरमा १५ सय डलरको बैंक स्टेटमेन्ट देखाउनुपर्छ । त्यसपछि भर्ना प्रक्रिया सुरू हुन्छ र भिजा प्रक्रिया पनि क्याम्पसले नै गर्छ ।
सन् १९६१ मा स्थापना भएको हो, विश्वभाषा र १३ भन्दा बढी भाषा पठनपाठन हुन्छ ।