काठमाडौं । नेपाली राजनीतिमा पार्टी निर्माण हुने र भत्कने प्रक्रिया नौलो होइन । दश वटा समूह मिलेर बनेको माओवादी केन्द्र अहिले नेकपा एमालेसँग एकताको अन्तिम चरणमा छ । दुई पार्टीबीच ०७५ वैशाख ९ गते एकताको घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।
गत फागुन ७ मा एमालेसँग एकताका लागि सात बुँदे सहमति गर्दा माओवादी केन्द्रभित्रकै झण्डै ३ दर्जन नेताले असहमति जनाए । उनीहरुको असहमति असोज १७ मा चुनावी सहकार्य गर्ने घोषणा भएदेखि नै रहँदै आएको थियो । फागुन ७ मा ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएपछि भने उनीहरु खुलेरै विरोधमा उत्रिए ।
पार्टीले मान्दै आएको माओवाद प्रष्टरुपमा छाडेको भन्दै गोपाल किराँती, विश्वभक्त दुलाललगायत ३ दर्जनभन्दा बढी केन्द्रीय नेताहरु अहिले पार्टी पुनर्गठनमा लागेका छन् । माओवादी केन्द्र ब्युँताउने अभियानमा लागेका नेताहरु अहिले देशव्यापी रुपमा संगठन विस्तारको लागि सम्पर्क तथा सम्बन्ध बनाउनमा व्यस्त छन् । झापा, मोरङ, सुनसरी, धनकुटा, धनुषा, र मकवानपुरमा संगठन विस्तार भइसकेको नेताहरुले बताएका छन् । फागुन २८ मा दमक र ३० मा हेडौंडामा पाँच जिल्लाको भेला भएको थियो । भेलामा थवाङ महाधिवेशनबाट नेत्रविक्रम चन्द विप्लवसँग असहमत भएका पूर्वजनमुक्ति सेनाहरुको पनि सहभागिता रहेको बताइएको छ ।
माओवादी पुनर्गठनमा लागेका नेताहरु एमाले र माओवादी केन्द्रको एकता घोषणालगत्तै राष्ट्रिय भेला गर्ने तयारीमा छन् । राष्ट्रिय भेलाबाट आठौं राष्ट्रिय महाधिवेशनको मिति तथा स्थान तोक्ने, राष्ट्रिय महाधिवेशन समितिलाई पुनर्गठन गर्ने र नयाँ समिति बनाउने तयारी उनीहरुको छ ।
पार्टी पुनर्गठन अभियानमा लागेका केन्द्रीय सदस्य गोपाल किराँती भन्छन्, “प्रचण्डजीहरुले माओवाद छाड्नुभएको हो । उहाँहरुले छाड्दै जानुहुन्छ, हामी सम्हाल्दै जान्छौं ।”
मोहन वैद्यको लाइनमा पुनर्गठित माओवादी
आफ्ना पूर्वसहयात्री मोहन वैद्य किरणले प्रचण्डले क्रान्ति छोड्दैछन् भनेको कुरा अहिले पुष्टि हुन लागेको किराँती बताउँछन् । “वैद्यजीले सर्वहारा वर्गको क्रान्ति छाड्यो प्रचण्डले भन्नुभएको थियो । वैद्यजीले भन्नुभएको कुरा सही रहेछ । उहाँहरुभन्दा पछि माओवादी भएका हामी, वैद्यले जसरी प्रचण्ड चिन्न सक्नुहुन्छ, हामी सक्दैनौं ।”
संविधान निर्माण नगरी पार्टी छोड्दा विप्लव र वैद्यलाई माथि उठ्न गाह्रो
२०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनमार्फत् तत्कालिन माओवादीले संविधानसभाबाट संविधान बनाउने निर्णय गरेको थियो । संविधानसभाबाट संविधान निर्माण नगरी मोहन वैद्य र विप्लवलगायतको समूह माओवादी केन्द्रबाट बाहिरियो । संविधान निर्माण नगरी माओवादी परित्याग गरेका कारण पार्टी माथि उठ्न नसकेको पुनर्गठित माओवादीहरुको ठम्याइ छ ।
किराँती भन्छन्, “त्यस निर्णयमा हामी थिएनौं । वैचारिक कारणले ज–जसले पार्टी विभाजन गर्नुभयो, उहाँहरु सबै हुनुहुन्थ्यो । संविधानसभाबाट संविधान निर्माण गर्न मणि थापा, रवीन्द्र श्रेष्ठ, मातृका यादवले जनयुद्धकै बेलामा माओवाद परित्याद गर्नुभयो । मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापा, देव गुरुङ र नेतविक्रम चन्दले पनि पार्टी छोड्नुभयो, गलत गर्नुभयो । संविधानसभाबाट संविधान निर्माण गर्ने निर्णयमा उहाँहरुभन्दा बाबुराम भट्टराई धेरै इमान्दार देखिनुहुन्छ । भट्टराईले जस्तोसुकै अवस्थामा पनि गणतन्त्र नेपालको संविधान बनेपछि माओवादी परित्याग गर्नुभयो ।”
माओवादी केन्द्रको विधान र प्रतिवेदनलाई नै निरन्तरता दिने
पुनर्गठनमा लागेका माओवादी केन्द्रका सदस्यहरुले अहिलेकै पार्टीको विधान र प्रतिवेदनलाई मान्ने बताएका छन् । क्रान्तिकारी र प्रगतिशिल समाजवाद तथा सर्वहारा अधिनायवादी शासनमात्र नेपालको राजनीतिमा स्थिर रहने उनीहरुको बुझाइ छ । “पहिला सामन्ती अधिनायकत्व नेपालमा स्थिर देखियो । १०४ वर्षीय राणा शासन थियो, पछि ३० वर्षीय पञ्चायती काल आयो । त्यो पनि राजाको सामन्ती व्यवस्था हो, त्यो पनि स्थिर देखियो,” पुनर्गठनमा लागेका एक पोलिटव्यूरो सदस्य भन्छन् ।
पेरिसडाँडाको पार्टी कार्यालय के हुन्छ ?
पुनर्गठनमा लागेका माओवादी केन्द्रका असन्तुष्ट नेताहरुले केन्द्रका भौतिक स्रोतसाधनमाथि भने हस्तक्षेप नगर्ने भएका छन् । उनीहरु पार्टी सञ्चालनको लागि सबै नयाँ स्रोतसाधन जुटाउने मनस्थितिमा छन् । वैचारिक, राजनीतिक र संगठनका हिसाबले पार्टी पुनर्गठन गरिए पनि पार्टी कार्यालय प्रचण्डको नाममा दर्ता भएकाले हस्तक्षेप नगरिने एक नेताले बताए ।
सडकबाट पार्टी चलाउने
शुभचिन्तकबाट पार्टी चलाउने योजनामा पूर्वमाओवादीहरु छन् । उनीहरुले आफ्नो शुभचिन्तकहरुबाट महिनामा सकेको सहयोग लिनेछन् । “प्रचण्डले महलबाट पार्टी चलाउन खोज्नुभयो, अन्तिममा सक्नुभएन । हामी सडकबाट पार्टी चलाउँछौं, किनकि सडकमा जनता हुन्छन्,” किराँती भन्छन् ।
पुनर्गठित माओवादी केन्द्रका नेताहरुले अहिलेको सरकारले स्थिरता र समाजवाद नल्याउने ठोकुवा पनि गरेका छन् । “ओली र प्रचण्डले मुलुकमा समृद्धि र समाजवाद ल्याउने भन्नुभएको छ, तर उहाँहरुबाट सम्भव छैन,” एक नेता भन्छन्, “२–४ वर्षपछि नेपाली जनताले ओली–प्रचण्डको समाजवाद र स्थिरता पनि देखियो बोलको गीत गाउनुपर्छ ।”
प्रचण्डले एमालेसँग पार्टी एकता गरेपछि माओवादको सिद्धान्त स्थापना गर्न खोजेमा अर्को दासढुङ्गा हुने असन्तुष्ट नेताहरु बताउँछन् । “प्रचण्डलाई २१ औं शताब्दिको लेनिन बनाउने भनेर हामी लाग्यौं । तर, अहिले आएर टाटस्पी पनि बन्ने नसक्ने अवस्थामा पुग्नुभयो । उहाँले एमालेसँग बहस गर्न जाने भन्दै हुनुहुन्थो । अब माओवाद छाडेपछि केमा बहस गर्ने ? त्यो बहसले के निकाल्ने ? आफ्नो महासचिव मदन भण्डारीलाई त लगेर त्रिशूलीमा खसाल्नेहरुले प्रचण्डलाई गरिखान देलान् र भनेर हामीले पत्याउन सकेनौं । त्यसकारण हामी गएनौं ।”
यसरी चुँडियो प्रचण्डसँग किराँतीको मन
२०७२ सालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादीको समर्थनमा प्रधानमन्त्री भए, जसमा माओवादी केन्द्रको भागमा ८ मन्त्री परेको थियो । गोपाल किराँतीले समावेशीताको आधारमा पार्टीबाट १ जना दलित र १ जना थारुलाई मन्त्री बनाउन प्रचण्डसँग आग्रह गरे । तर, प्रचण्डले सुनेनन् । ओलीलगत्तै कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भए । प्रचण्ड सरकारमा कुनै पनि महिलालाई क्याविनेट मन्त्री बनाइएन । त्यस बेलादेखि नै किराँती आफ्नो पार्टीका नेताप्रति असन्तुष्ट थिए ।
“दुईवटै सरकारमा महिला, दलित र थारुलाई मन्त्री नबनाएपछि नीति एउटा, व्यवहारमा अर्को गर्न थालियो । म महिला, थारु र दलित थिइनँ, तर पार्टीको जिम्मेवार स्थायी समितिको सदस्य हुनुका नाताले समावेशी बनाउँ न भन्दा भएन । १० महिनाको लागि महिला, थारु, दलितलाई मन्त्री बनाउन सक्दैन भने मेरो पार्टीले मुक्तिचाहिँ कसरी गर्छ त भन्ने प्रश्न उठिरहेको थियो । त्यसमाथि रेणु दाहालको थपियो । एमालेसँगको एकता त उत्कर्ष नै भयो,” उनले भने ।
कालान्तरमा वैद्य–विप्लवसँग एकता
पार्टी पुनर्गठनमा लागेका अहिलेका माओवादी नेताहरुले कालान्तरमा वैद्य र विप्लवसँग एकता गर्ने बताएका छन् । उनीहरुले गएको फागुन १ गते राष्ट्रिय सभागृहमा जनयुद्ध दिवस पनि सँगै मनाएका थिए । पछिल्ला कार्यक्रमहरुमा पनि एकअर्काको सहयोग छ ।
“ओली र प्रचण्डको दक्षिणपन्थी खेमा भइसकेपछि हामीले पनि माओवाद मान्नेहरुको एउटा क्रान्तिकारी खेमा बनाउँदैछौं,” किराँती थप्छन्, “माओवादी केन्द्रलाई कसरी निरन्तरता दिने र माओवाद मान्ने खेमाहरु एकजुट हुनेमात्र ध्यान छ हाम्रो अहिले ।” त्यसो त पार्टी एकताको लागि मोहन वैद्य र पूर्वमाओवादीहरुमा कार्यदिशामा भने प्रश्न खडा हुने देखिन्छ ।
पूर्वमाओवादीहरु समाजवाद मान्ने पक्षमा छन् भने मोहन वैद्य नयाँ जनवाद नछोड्ने पक्षमा छन् । त्यस्तैगरी संविधानलाई हेर्ने दृष्टिकोण पनि फरक छ । मोहन वैद्य र विप्लवहरु संविधान खारेज गर्ने पक्षमा छन् भने उपलब्धि र कमजोरीसहितको संविधान मानेर गणतन्त्रलगायत पक्षहरुलाई रक्षा गर्दै कमजोरी सच्चाएर अघि बढ्ने पक्षमा छन् माओवादी केन्द्र छाडेकाहरु ।
मोहन वैद्य, विप्लव र माओवादी केन्द्रका असन्तुष्ट नेताहरुको बीचमा आगामी दिनमा कसरी अगाडि बन्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । सरकारले राम्रो गरे समर्थन र नराम्रो गरे विरोधमा उत्रिने उनीहरुको योजना छ । अर्को चुनावसम्म विप्लव, वैद्य र पुनर्गठित माओवादी केन्द्रको सर्मूह सशस्त्र विद्रोहको संसदीय निर्वाचन उपयोगको नीति अवलम्बन गर्ने योजनामा छ । निर्वाचनमा सहभागी हुन किराँतीको समूहले विप्लव र वैद्यको समूहलाई सम्झाइरहेको बताइएको छ ।
“यो पाँच वर्षमा ओली र प्रचण्डले राम्रो काम गर्न सकेनन् भने मतदाताले विकल्प खोज्छन् । एमाले र माओवादीबाट रुष्ट भएका मतदाताले हामीलाई मत दिने पक्का छ । त्यसैले आउने निर्वाचनको लागि हामी चिन्तित छैनौं । नेपाली कांग्रेस जहाँको त्यही रहन्छ, आगामी निर्वाचनमा बहुमत ल्याउँछौं,” किराँती भन्छन् ।
सम्भव होला माओवादी केन्द्र पुनर्गठन ?
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा राजनीतिक विश्लेषक दीपक गजुरेल विगत ३० वर्षदेखि नेपालका सबै राजनीतिक दल विदेशीको इशारामा चल्ने गरेको बताउँछन् । “नेपालका राजनीतिक दल वा कुनै पनि संस्थाहरु गएको ३० वर्षयता आफ्नो तरिकाले चलेका छैनन् । विदेशीको स्वार्थमा सञ्चालित छन् सबै । सिद्धान्त भनेको सबै राजनीतिक दलको देखाउने दाँतमात्र हो । त्यसैले एउटा पार्टी फुटेर अर्को बन्ने, दुई–चारवटा मिलेर एउटा बन्ने यिनिहरुले कहिले गरेका थिएनन्, अहिले पनि गरेका छैनन् र भोलि पनि गर्ने छैनन् । कुनै शक्तिको लागि काम गर्छन् ।”
ठूलो विदेशी प्रोजेक्ट हात पारेमात्र माओवादी केन्द्रका असन्तुष्ट नेताहरुले पार्टी चलाउन सक्ने दाबी गजुरेल गर्छन् । “ठूलो प्रोजेक्ट हात पारे आगो बनाउँछन् । बाहिरी शक्तिले कुनै किसिमले सहयोग गरेन भने बिलाएर जान्छन्,” उनको दाबी छ । एमालेसँगको एकताबाट रुष्ट भएका माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई कुनै शक्तिले प्रयोग गर्न सक्ने उनको आशंका छ ।
भन्छन्, “जेको लागि लडियो, त्यो पाइएन भनेर ठूलो जमात निराश छ । तिनलाई कुनै शक्तिले आफ्नो स्वार्थको लागि प्रयोग गर्दिन सक्छ । २–४ जनाले भरुवा बन्दुकबाट सुरु गरेको जनयुद्ध आज यो स्थितिमा पुग्यो । त्यसैगरी भोलि अर्को आउँदैन भन्ने कुनै ग्यारेन्टी छैन । आफैंले गर्लान् भन्ने कुरामा चाहिँ म आशावादी छैन, कसैले प्रयोग गर्न सक्छ । यो खतरा सधैं रहन्छ नेपालमा, इतिहासले प्रमाणित गरेको छ ।”