काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयरलाई आक्रमण गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । उनीहरु तीनै जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको बताइएको छ ।
घटनाकै विरोधमा नेकपा एमालेको युवासंघले कैलालीको सुख्खड बजार बन्दको आह्वान गरेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मेयर चौधरीमाथि गोली प्रहार गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । रिजालका अनुसार चौधरीलाई आजै नेपालगञ्ज मेडिकल कलेजबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ ।
चौधरीलाई उनकै निवासमा सोमबार साँझ गोली र खुकुरी प्रहार भएको थियो । चौधरीको टाउकोमा खुकुरी र कम्मरमुनी गोलीको छर्रा लागेको थियो । प्रहरीले घटनास्थलबाट से २ प ३६७१ नम्बरको मोटरसाईकल पनि बरामद गरेको थियो ।
गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीले दुर्व्यवहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको भन्दै उनी विवादित भएका थिए ।
मेयर चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीहरुलाई प्रहरीबाट छुटाउन समेत खोजेको आरोप छ ।
त्यही विषयलाई लिएर उनीमाथी विप्लवको नेकपाका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी नेकपाले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।