site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । भदौ २० गते राति ११ बजे महानगरीय प्रहरी अपराध महाशाखाको हटलाइन ०१–४२६९७४१ नम्बरमा साउदी अरबबाट समीर लिम्बूले फोन गरे । “कम्पनीले १४ सय साउदी रियाल तलब दिने भनेर लगेको थियो, तर मैले चार सयमात्र पाएँ । अनि ८ घण्टा काम गर्ने सर्त थियो जाँदा, तर अहिले १२ घण्टा ड्यटी गर्दैछु । चोरी गरेको आरोप लगाउँदै मालिकले तलब पनि दिँदैन, कुटपिट पनि गर्छ,” समीरले फोन उठाउने प्रहरी अधिकारीसँग गुनासो गरे । 
भदौ १४ गते राति साढे १० बजे सराजुल नामका युवासहित ७ जनाले साउदीबाट रुँदै फोन गरे । उनीहरूको गुनासो थियो, ‘साउदी आएको दुई महिना भयो । ७ जनालाई एउटै कोठामा राखेको छ । खाने व्यवस्था छैन, धेरै दिनदेखि भोकै छौं । हामीलाई काम पनि दिइएको छैन । लौ न, हामीलाई नेपाल फर्काइदिनुपर्यो ।’
साउन अन्तिमदेखि सिरियाबाट माया तामाङ बारम्बार फोन गर्दैछिन् । उनको फोन पनि कहिले राति १० बजे आउँछ, अनि कहिले ११÷१२ बजे पनि “दलालले दुबईमा रोजगारी दिने भन्दै सिरिया पुर्याएर घरेलु काममा लगायो । यहाँ मैले यौनहिंसा सहनुपरेको छ । दिनहुँ कुटाइ खानुपर्छ । लौ न सर, उद्धार गरिदिनुपर्र्यो,” तामाङ रुँदै फोनमा भन्छिन् । प्रहरीले उनको उद्धारका लागि आवशयक पहल थालेको छ । उनी केही दिनमा नेपाल फर्कनेछिन् । 
साउन २० गते राति एक बजे कुवेतबाट सुनमाया लामाले फोन गरिन् । दुबई भन्दै कुवेत पुर्याएर घरेलु काममा लगाएको र आफू तीन वर्षदेखि नेपाल आउन खोजे पनि घरबाट छुट्कारा नपाएको उनको गुनासो थियो । उनलाई पनि नेपाल फर्काउने तयारी हुँदैछ । 
महानगरीय अपराध महाशाखाले नेपालका लागि ११७७ र विदेशका लागि ०१–४२६९७४१ हटलाइन नम्बर तोकेको छ । एक वर्षको अवधिमा यी दुई नम्बरमार्फत विदेशमा अलपत्र परेका धेरै नेपालीको उद्धार भएको छ । कतिपयलाई त नयाँ जीवन नै पाएका छन् । 
महानगरीय अपराध महाशाखाको प्रमुख भएर आएपछि एसएसपी सर्वेन्द्र खनालले वैदेशिक रोजगारीमा देखिएका बेथिति हटाउन हटलाइनको सुरुवात गरेका थिए । वैदेशिक रोजगारीका समस्या हटाउन लागिपरेका खनाललाई नै हटाउन केही म्यानपावर व्यवसायीहरू लागेका थिए । आफ्नो व्यवसाय धरापमा पारेको भन्दै व्यवसायीले प्रहरीको अभियानविरुद्ध एक महिनासम्म नै आन्दोलन गरे । 
व्यवसायीको विरोधका बाबजुद प्रहरीले गत वर्ष असोज एक गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको सहयोगका लागि ११७७ र ०१–४२६९७४१ नम्बर सार्वजनिक गर्यो । दुवै नम्बर २४ सै घण्टा चल्छन् । प्रहरीले अभियान थालेयता उजुरी गर्नेहरूको संख्या बढेको छ । असोजयता ३१ वटा देशबाट १५ सयभन्दा बढीले टेलिफोनमार्फत आफ्ना समस्या राखेका छन् । दुई हटलाइन नम्बरसँगै एसएसपी खनालले आफ्नो मोबाइल नम्बर पनि सार्वजनिक गरेका थिए । 
खनाल भन्छन्, “वैदेशिक रोजगारीका बेथिति देख्दा कहाली लाग्छ । यो बेथिति हटाउन हामीले अभियान नै चलायौं । एक वर्षको अवधिमा धेरै सुधार त भयो, निमिट्यान्न हुन भने सकेको छैन ।” 
खनालका अनुसार दलाल र विभिन्न म्यानपावर कम्पनीबाट विदेश पुगेका नेपालीको पीडा सुनिसक्नु छैन । “अवैध मार्गबाट विभिन्न देश पुगेकाहरू राति फोन गरेर धुरुधुरु रुन्छन् । उनीहरुको पीडा सुन्दा सहन गाह्रो हुन्छ । त्यसमा पनि महिलाको पीडा ठूलो हुन्छ । उनीहरूको कुरा सुन्दा मन चसक्क दुख्छ,” एसएसपी खनालले बाह्रखरीसँग भने । प्रहरीले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नेपालीको उद्धारका लागि छुट्टै युनिट खडा गरेको छ । 
युनिटका इन्चार्ज डीएसपी हुमेन्द्र बोगटीका अनुसार असोजयता महाशाखामा ४९० वटा लिखित उजुरी परेका छन् । तीमध्ये २७० उजुरीको छानबिन गरी समस्या समाधान भएको छ भने २१९ वटा उजुरीको अनुसन्धान भइरहेको छ । 
एक वर्षको अवधिमा विभिन्न देशमा अलपत्र परी नेपाल आउन नसकेका २६५ जनालाई प्रहरीको पहलमा नेपाल ल्याइएको छ । कतिपय देशमा भने नेपाली दूतावाससँग समन्वय गरी उनीहरूका समस्या समाधान गरिएको छ । 
डीएसपी बोगटीका अनुसार यो अवधिमा महाशाखाले १९६ वटा म्यानपावर कम्पनी र ९४ जना विदेश पठाउने एजेन्टलाई पक्राउ गरी सचेत गराई उनीहरुबाट पीडित भएकालाई न्याय दिलाइएको छ । महाशाखाले विभिन्न देश पठाएर अलपत्र पार्ने १८ जना एजेन्टविरुद्ध मुद्दासमेत चलाएको छ । 
यसरी पुर्याइन्छ प्रतिबन्धित देशमा महिला
दलालहरुले नेपाली महिलालाई भिजिट भिसामा नेपाल र भारतका विभिन्न विमानस्थल हँदै दुबई पुर्याउने गर्छन् ।  दलालहरुको सञ्जाल हुन्छ, जुन सञ्जालमार्फत उनीहरु ‘सेटिङ’ मिलाएर एयरपोर्टबाट महिलाहरूलाई पास गराउँछन् । 
त्रिभुवन विमानस्थल स्रोतका अनुसार त्यो सञ्जालमा प्रहरी, अध्यागमन, र एयरलाइन्सका कर्मचारीहरुको मिलोमतो हुन्छ । सेटिङमार्फत दुवई पुगेका महिला तथा पुरुषलाई सरकारले प्रतिबन्ध गरेका देशहरुमा विभिन्न माध्यमद्वारा पठाइन्छ । 
विशेषगरी महिलाहरूलाई कुवेत, सिरिया, इजरायल, श्रीलंकालगायत मुलुकमा पुर्याइन्छ । 
फोन प्रयोग गर्न दिइँदैन
दलालको माध्यमबाट अवैध बाटो हँुदै प्रतिबन्ध लागेको देशमा पुगेका नेपालीलाई नेपाल फोन गर्न पनि सजिलो छैन । प्रहरीले पक्राउ गर्न थालेपछि दलाल र एजेन्टले फोन प्रयोगमा कडाइ गरेका छन् । “महिलालाई ती देश पठाउने दलालहरूले सुरुमै टेलिफोन प्रयोग गर्न नपाइने बताएका हुन्छन्,” अनुसन्धान अधिकारीहरू भन्छन्, “उनीहरूलाई फोन चलाउन दिइँदैन, जसका कारण उजुरी आउँदा पनि छानबिन गर्न मुस्किल हुने गर्छ ।” 
घरेलु कामदारका रूपमा विदेश पुर्याइएका महिलालाई झन् गाह्रो हुन्छ । उनीहरूले कसैको फोन मागेर प्रहरीलाई कल गरेका हुन्छन् । अनि प्रहरीले उनीहरू बसेको ठेगाना खोजेर उद्धारको पहल गर्छ । 
 
घरबाट भाग्दा चोरीको अभियोग !
अवैध मार्ग हुँदै सरकारले प्रतिबन्ध लगाएका देश पुगेका महिलालाई घरेलु कामदारका रूपमा काममा लगाइन्छ । उनीहरू केही गरी भागेर नेपाली दूतावास वा उद्धार गर्ने संघ–संस्थासम्म पुगे भने पनि मालिकले चोरी गरेर भागेको अभियोग लगाउँछन् र प्रहरीमा उजुरी गर्छन् । मालिकले दाबी गरेको रकम नदिएसम्म देश छाड्न त्यहाँको प्रहरीले दिँदैन, अनि उनीहरू थप पीडित हुन्छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७३  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro