काठमाडौं । काठमाडौंको जैसीदेवल र नागढुङ्गाबाट प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले काठमाडौं महानगरपालिका¬–२१ जैसीदेवलबाट १ भारतीय २ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत दरभङ्गाका मोहमद रुजाउद्दीन, नुवाकोटका सुनिल घिमिरे र बाराका विगु राइभर रहेका छन् । प्रहरी स्रोतका अनुसार यो संगठित गिरोह हो । उनीहरुबाट १९ सय पिस लागुऔषध एम्पुल सेट बरामद भएको छ । यो ५७ सय सेट हुन आउँछ । महानगरीय प्रहरी परिसर टेकुले यसबारे दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेको छ ।
यस्तै, महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले पनि ४ सय ९२ एम्पुल, फेनार्गन ५०० र डाइजाल्याव ५०० एम्पुलसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको शिवहर विहार बस्ने २४ वर्षिय भारतीय नागरिक अनुरुप कुमार महतो रहेका छन् । महतो रौतहटबाट काठमाडौं आउँदै गरेको बा ३ ख ४४६३ नम्बरको बसमा काठमाडौं भित्रिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।