विशेष
काठमाडौं । शरीर बन्धक तथा अपहरण मुद्दामा प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाकी कान्छी श्रीमती तारा रेग्मीलाई ५० लाख दिए अदालतबाटै मुद्दा मिलाइदिने र नदिए प्रहरीलाई जिम्मा लगाइदिने भन्दै दुई महिनादेखि टेलिफोन र भेटबाट ब्ल्याकमेल गर्ने गरेको प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्बर अधिकारीले बताएका छन् ।
उनका अनुसार गुप्ताले लगातार दुई महिनादेखि रकम नदिए भित्रको कुरा खोलिदिने भन्दै रेग्मीलाई तनाव दिने गरेका थिए ।
गुप्ता जेल बस्दा रञ्जनसँग मिल्ने भएका कारण रञ्जनले उनीहरुको केही गोप्य कुरा पनि फुत्काएको र त्यही कुरालाई हतियार बनाएर गुप्ताले ५० लाख रकम माग गरेको अनुसन्धान अधिकारी बताउँछन् ।
गुप्ताको अनुसन्धानमा खटिएका एक प्रहरीले बाहखरीसँग भने, “गुप्ता तीन वर्ष जेल बस्दा उनका अत्यन्तै मिल्ने साथी रञ्जन बनेका थिए, त्यो बीचमा गुप्ताले रञ्जन र ताराबीचको धेरै कुराको हेक्का राखेका रहेछन् । अहिले बाहिर आएपछि त्यसैलाई बार्गेनिङको मुद्दा बनाए ।” उनले थपे, “रञ्जनको कुरा नोट गरेका रहेछन्, त्यही कुरा तारालाई सुनाएर उनलाई कमजोर बनाए ।”
तारा म्यानपावर व्यवसायी हुन् । उनको मुद्दा पुनरावेदन अदालतमा विचाराधीन छ । उनी प्रायः नेपाल बस्दैनन् । उनी नेपाल आएको मौका छोपी गुप्ताले रकम माग गरेको एसएसपी अधिकारीले बताए ।
गुप्ताले ताराको घरपरिवारलाई समेत डरत्रास देखाएर रकम माग गरेको प्रहरीले जनाएको छ । प्रहरीले तारालाई पनि पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा बुझाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७३ १४:३१
प्रतिक्रिया दिनुहोस्