विशेष
काठमाडौं । अमेरिका पठाइदिने भन्दै ठगी, पार्टीको नेता बन्न नेताहरूको अपहरण, कमिसन नदिएको भन्दै नेपाल आयल निगमका निर्देशकलाई बन्धक, मन्त्री हुँदाको घूस नदिएको भन्दै अपरहण, ५० लाख माग गर्दै ललितपुरकी व्यापारीलाई अपहरणको धम्की ।
पूर्व आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ताका आपराधिक क्रियाकलापमध्येका केहीमात्रै हुन् यी । प्रहरीले अनुसन्धान गरिरहेको गुप्ताको फाइल पल्टाउने हो भने यस्ता कर्तुतको संख्या दर्जन नाघ्छ ।
०६८ पुस ७ गते
आफू मन्त्री हुँदा कबोल गरेको रकम नदिएको भन्दै त्यो रकम असुल्न गुप्ताले व्यापारी पवन संघाईलाई अपहरण गरे ।
अपहरणको योजना बनाउनेदेखि अपहरितलाई काठमाडौंबाट धुलिखेल पुर्याउने अनि फिरौती रकम लिने सबै काम गुप्ताकै निर्देशनमा भएको प्रहरीले सार्वजनिक गरेको प्रमाणहरूबाट पुष्टि हुन्छ । संघाई काठमाडौंको कमलादी गणेशथानबाट अपहरणमा परेका थिए । त्यसपछि गुप्ता आफैंले स्कर्टिङ गरेर उनलाई धुलिखेल पुर्याए । प्रहरीले अपहरितका परिवार र अपहरणकारीबीच फिरौतीका लागि भएको कुराकानीको रेकर्डसमेत सार्वजनिक गरेको थियो ।
फिरौती रकम लिएको २० दिनपछि महानगरीय अपराध महाशाखाको टोलीले गुप्तालाई भैरहवाको घरबाट पक्राउ गरी मध्यरातमा काठमाडौं ल्याएको थियो । प्रहरीका अनुसार गुप्ताले आफू आपूर्तिमन्त्री हुँदा संघाईलाई पेट्रोल पम्प खोल्ने लाइसेन्स मिलाइदिएका थिए र जग्गा किन्न पनि सहयोग गरेका थिए । त्यसबापत पैसा दिन्छु भनेर कबोल गरे पनि नदिएपछि गुप्ताले संघाईलाई अपहरण गरी पैसा असुलेको प्रहरीको दाबी छ । गुप्ताले आफ्ना निजी चालक अमिर आचार्यलगायत आकाश लामा, विकास भन्ने जितबहादुर गोले र किशोर पाण्डेको सहयोगमा संघाईको अपहरण गरी ८० लाख रुयैयाँ फिरौती लिएका थिए ।
यसरी बनेको थियो अपहरणको योजना
अपहरणको एक साताअघि नै संघाईको दैनिक गतिविधि संकलन गर्न गरुड सेक्युरिटीमा काम गर्ने किशोर पाण्डेलाई परिचालन गरिएको थियो । संघाई दिनहुँ कमलादी गणेशथान आउने गरेको पत्ता लागेपछि त्यहीँबाट अपहरण गर्ने योजना बनाइएको थियो । यसको संयोजन गुप्ताका निजी चालक अमिरले गरे । अपहरणको अघिल्लो दिन कुसुन्तीमा रहेको गुप्ताको घरमै कामको भागबन्डा गरिएको थियो । इन्द्र गुरुङलगायत अन्य दुईजनाले कमलादीबाट संघाईलाई अपहरण गर्ने जिम्मेवारी पाएका थिए । आकाश र विकासले काभ्रे पुर्याउने र मिलन, प्रेम र हरिले संघाईलाई राखेको घर कुर्ने जिम्मेवारी थियो । अपहरितको परिवारलाई धम्क्याउने र पैसा माग्ने जिम्मेवारी श्याम गिरी र अमर थापाको थियो । गिरी गुप्ताकै तत्कालीन पार्टीका सचिव हुन् । उनीहरुले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसेर आफूलाई तराई आर्मीका पदाधिकारी भन्दै हिन्दी भाषामा २५ करोड रुपैयाँ फिरौती मागेका थिए । श्यामले आफूलाई तराई रेड आर्मीका विक्रान्त र अमरले लामाजी भएको बताएका थिए ।
अपहरण गरेको दोस्रो दिन श्यामसुन्दर आफैंले संघाई परिवारलाई फोन गरी पार्टीका लागि हतियार किन्न पैसा चाहिएकाले अपहरण गरेको भन्दै २५ करोड रुपैयाँ फिरौती मागे । उनले संघाईको आवाज रेकर्ड गराएर परिवारका सदस्यलाई सुनाएका थिए ।
यो अपराधमा गुप्ता ०६८ माघ दुई गते पक्राउ परी तीन वर्ष जेल बसेर गत वर्ष साउन दुई गते जेलमुक्त भएका थिए । तीन वर्षको जेल बसाइपछि रिहा भएका गुप्ताले ‘सद्भावना पार्टी युनाइटेड दल’ गरेका छन् ।
०७३ भदौ २० गते
तीन वर्ष जेल सजाय काटेर बाहिर निस्केका गुप्ता फेरि फिरौतीकै काण्डमा पक्राउ परे । गुप्ताले ललितपुरकी एक व्यवसायीलाई धम्क्याएर ५० लाख रुपैयाँ माग गरेको तथ्य भेटिएपछि ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
गुप्ताले ती व्यवसायीलाई बारम्बार टेलिफोन गरेर रकम नदिए अपरहण गरी बेपत्ता बनाइदिने धम्की दिने गरेको प्रहरीले जनाएको छ ।
ललितपुर प्रहरी प्रवक्ता डीएसपी इश्वर कार्कीले बाह्रखरीसँग भने, “पूर्वमन्त्री गुप्ताले बारम्बार टेलिफोनमार्फत रकम माग गरेको खुलेको छ । रकम नदिए जे पनि हुन सक्छ भन्दै धम्क्याएको तथ्य फेला परेपछि हामीले फक्राउ गरी अनुसन्धान अघि बढाएका छौं ।” पीडित व्यवसायीको नाम भने प्रहरीले खुलाएको छैन ।
विदेश पठाउने प्रलोभनमा ठगी
गुप्ताले यसअघि सभासद् राजकुमार नाल्वोसँग मिलेर अमेरिका पठाइदिने भन्दै ८० लाख रुपैयाँभन्दा बढी रकम असुलेको प्रहरीले जनाएको छ । गुप्ताले ‘अमेरिकाको क्यालिफोर्निया राज्यमा पार्टीको सेमिनार हुँदैछ । पार्टीको कार्यकर्ता वा स्वकीय सचिव बनाएर पठाइदिन्छु’ भन्दै पासाङ लामा, महेश राना, नारद राई र नन्दु राईसँग ८० लाखभन्दा बढी रुपैयाँ असुलेका थिए । त्यस्तै, गुप्ताले पार्टीको अध्यक्ष बन्न आफ्नै दलका नेतालाई पनि अपहरण गरेको प्रहरी रेकर्डमा छ ।
गुप्ताले नेपाल आयल निगमका तत्कालीन निर्देशक दिगम्बर झालाई पनि कमिसनको रकम नदिएको भन्दै केही दिन बन्धक बनाएका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७३ १४:१८
प्रतिक्रिया दिनुहोस्