काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रालय चित्तबुझ्दो नभएको भन्दै पुनर्विचारका लागि प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको शीर्ष नेताको बैठकले प्रधानमन्त्रीसँग मन्त्रालयको भागबण्डामा पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
पुनर्विचारका लागि आग्रह गर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
“हाम्रो भागमा परेका मन्त्रालयका बारेमा पुनर्विचार गर्नुपर्ने देखियो,” माओवादी केन्द्रका एक प्रभावशाली नेताले भने, “पुनर्विचारका लागि हामीले आग्रह गरेका छौं ।”
दुवैतर्फका नेतालाई सहभागी गराएर आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो ।
यसअघि एमाले र माओवादी केन्द्रबीच १८ मन्त्रालय राख्ने समझदारी भएको थियो । त्यसै मुताविक एमालेले प्रधानमन्त्री सहित ११ मन्त्रालय र माओवादी केन्द्रले ७ मन्त्रालय बाँडेका हुन् । एमालेले अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राख्ने भएको छ ।
त्यस्तै माओवादी केन्द्रले गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन, श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय लिने समझदारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार एमाओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग बिहान भेटवार्ता गरेका छन् ।
तर उनीहरुबीच भएको कुराकानीका बारेमा भने जानकारी नभएको उनको प्रतिक्रिया थियो ।