काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच १५ दिनभित्र सबै प्रक्रिया पूरा गरेर पार्टी एकताको घोषणा गर्ने अनौपचारिक सहमति भएको छ ।
दुवै कार्यदललाई १५ दिनभित्रै प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै कार्यदलको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
राजनीतिक प्रतिवेदनका लागि बनाइएको समितिले विगतका सहमति, असोज १७ को निर्णय, सातबुँदे सहमति, दुवै पार्टीका चुनावी घोषणापत्र लगायतमा छलफल गरेर प्रतिवेदन तयार पार्नेछ ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार पहिले मन्त्रालयको संख्या कति बनाउने भन्ने बारेमा सरकारले निर्णय गरेपछि मात्रै कुन मन्त्रालय कुन पार्टीले लिने भन्ने विषयमा छलफल हुनेछ ।
त्यसका लागि शुक्रबार बस्ने मन्त्रिपरिषदले निर्णय गर्नेछ ।
“१५ दिनभित्र पार्टी एकता गर्नेगरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ,” श्रेष्ठले बैठकपछि भने, “आजको बैठकले मन्त्रालयको टुंगो लगाउन सकेन ।”
कार्यदलले प्रतिवेदन बुझाएलगत्तै एकता घोषणा हुनेछ ।
दुई पार्टीबीच हुने एकताका लागि तयार भएको ७ बुँदे आधारपत्रका आधारमा राजनीतिक प्रतिवेदन तयार पारेर पार्टी एकताको घोषणा गरिने उनले जानकारी दिए ।
नेकपा माओवादीकी प्रवक्ता पम्फा भुसालले पनि १५ दिनभित्र दुवै कार्यदलले प्रतिवेदन बुझाउने र पार्टी एकता घोषणा गरिने बताइन् ।