site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१०७ वर्षको उमेरमा धुर्मुसले थमाएको खुसी
SkywellSkywell

सन्तपुर (रौतहट) । १०७ वर्षीया रामकली हजारा पासवानले सपनामा पनि चिताएकी थिइनन्, जीवनकालमा उनको पक्की घर बन्नेछ र अनुहारमा पूर्णचन्द्रको उज्यालो छाउने छ ।

तर, मंगलबार हास्य कलाकार दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले उमेरले शतक पार गरेकी वयोवृद्ध रामकलीको अनुहारमा जूनको आभा छाइदिए । दुःखको विम्ब बनेको चेहरामा अपूर्व खुसी थमाइदिए ।

पूर्व–पश्चिम राजमार्ग ४ किलोमिटरको दूरीमा थियो उनको दुःखी झुप्रो । चन्द्रनिगाहपुर–गौर सडक खण्डबाट एक किलोमिटर पनि पर पुग्नुनपर्ने ।
तर, भौतिक सुख–सुविधाबाट भने कोसौँ टाढा ।

KFC Island Ad
NIC Asia

मंगलबार वाग्मतीको पश्चिम नहरको तटमा पुग्दा बामे सर्दै थिइन् उनी, हातमा माला बोकेर । “हाम्रो गाउँमा त भगवान आए नि, यो उमेरमा पक्की घर बनाइदिए, तिनैलाई लगाइदिन बोकेको हुँ,” उनले आफ्नै लवजमा भनिन् र सीतारामक कट्टेलप्रति ऋणी देखिइन् ।

विसं. १९९० को महाभूकम्प, २०४५को उदयपुर केन्द्र गरी आएको भूकम्प र ०७२ को बारपाक भूकम्प गरी तीन ठूला भुइँचालोको जीवित साक्षी रामकलीका जीवनले धेरै बाढी र शीतलहर झेले ।

Royal Enfield Island Ad

तराई कहर प्रकोपको जिउँदो इतिहास बनेकी रामकलीको जीवनमा एउटा टेलिभिजनमा हास्य प्रस्तुति देखाउने सामान्य कलाकारले असामान्य खुसी ल्याइदिए ।
सय शीत याम छिचोलिसकेकी रामकलीले आँखा उतिसाह्रो देख्दिनन् । ठिंग अगाडि उभिएको मानिस हो कि छाया हो ठम्याउन हम्मेहम्मे पर्छ । हिँड्डुल गर्न त परै जाओस्, उठबस गर्न पनि अरूको सहारा चाहिन्छ । “कति बाँचुला र बाबु तर मर्ने बेलामा पक्की घर देख्न पाएँ,” आँखामा अचानक हर्षाश्रु छाए । माछाको शरीरजस्ता हत्केलाले आसुँ पुछ्दै भनिन्, “यस्तो परमेश्वरलाई के आशिष दिनु, मेरोजस्तै सय वर्ष आयु होस् ।”

रामकलीकी बुहारी विजुलीवती नै वृद्धभत्ता खाने उमेर (७०) वर्षकी छन् । नातिनीबुहारी सुगन्धी पासवानसहित उनको परिवार बुधबारबाट नयाँघरमा सर्नेछ ।

० ० ० 
बस्तीमा २०० जनसंख्या छन् । ९० जना बालबालिका । तर, बाढीअघि कोही पनि बालबालिका विद्यालय जाँदैनथे । पछिल्लो समय धुर्मुुस सुन्तली परिवर्तनको समेत मानक बनेका छन् । र, बालबालिका विद्यालय जान थालेका छन् । शैक्षिक चेतना अङ्कुरणसमेत नभएको त्यस बस्तीमा शिक्षा झ्यांगिन थालेको छ ।
बस्तीमा ‘मदिरा छोडो अभियान’ सुरू भएको छ । बस्तीका पुरुष कोही पनि मदिरा–लती छैनन् अहिले । 

बस्ती हस्तान्तरण समारोहमै धुर्मुसले भने, “अचेल बस्तीका युवा–प्रौढ कोही पनि मदिरामा लट्ठ हुँदैनन् । बरु भन्न थालेका छन्– धुर्मुस दाजु हामीले जाँड रक्सी छाड्यौँ ।”

किशोरीहरू बालविवाहको चपेटामा छन् । कलिला केटी नपाए दुलहा पक्षले बिहे नै गर्न नमान्ने र बूढीकन्या बस्नुपर्ने भयले उमेर नै नपुगी विवाह गर्न अभिशप्त छन् किशोरीहरू । त्यस्तै भनेजति दाइजो नपाए र नभए विवाह नगर्ने पीडाले पनि गाँजेको छ त्यस विपन्न बस्तीलाई । तर, धुर्मुसको आगमनपश्चात भने यी समस्या विस्तारै दूर हुँदैछन् ।

० ० ०
गएको २७ साउनदेखि ३० साउनसम्म आएको विनासकारी बाढीले तराई–मधेस क्षतविक्षत बनायो । ३० जना भन्दा बढीले ज्यान गुमाए । अर्बौं धनजनको क्षति भयो । रौतहट चन्द्रपुुर नगरपालिका वडा नम्बर ८ स्थित सन्तपुरको मुसहर–विपन्न बस्ती पनि बाढीले खण्डहर बनाइदियो । फुसले ओताएका र काँसका डाँठ (टाटी) ले बारेका घर भग्न बने । 

पुस्तौंपुस्तादेखि बनिबुतो गरेर जेनतेन चुल्होमा दाउरा जोडेका ४७ माझी, हजारा, ठाकुरहरूको बस्ती बगरमा परिणत भयो । “५० सालमा पनि गाउँमा यसैगरी पानी पसेको थियो, तर यसरी क्षति निम्त्याएको थिएन,” स्थानीय हरि ठाकुर दुुःखेसो पोख्दै थिए, “यसपटक आएको बाढीले जनमात्रै बाँकी राख्यो, अलिअलि भएको धन सबै माटो बनाइदियो ।”

वाग्मतीको पश्चिम नहरमा भरिएको पानीले वितण्डा मच्चाएको हो त्यहाँ । त्यसका अतिरिक्त चन्द्रपुरको पानी ढलोसमेत रहेको सन्तपुर सदियौँदेखिको डुबान क्षेत्रसमेत हो । वर्षेनी विनास निम्त्याउँछ । यसपटक भने धेरैको थातथलो नै उखेल्यो ।

बाढीले बस्ती वालुवास्थलमा परिणत गरिदिएपछि सहानुभूतिको पोका पन्तुरा बोकेर एकाध संघसंस्था पनि नआएका होइनन् । तिनले थमाएका राहतले केही दिनमात्रै पेट भरियो ।

तर, हास्य कलाकार दम्पत्ति धुर्मुस सुन्तलीले शीतयाममै उनीहरूलाई ओत प्रदान गरे । धुर्मुस त यो बस्तीको ‘शोखा शम्भुनाथ’ हुन् । शोखा शम्भुनाथलाई उनीहरूले मूल देवता, कूल देवता मान्छन् र पूजा आजा गर्छन् । हरि ठाकुर सुनाउँछन्, “शम्भुनाथ मानेर धुर्मुसकै तस्बिरमा पूजा गर्छौं हामी ।”
बस्तीको बाटो भएर थुप्रै नेता आए, गए । साहूमहाजनसमेत हिँड्दा भए । तर, उनीहरूको दुःख सबैको खिसिट्युरीको माध्यम बन्यो । गरिबीको टिठलाग्दो उपमा बने ।

“हाम्रो नेता भने पनि सरकार भने पनि धुर्मुस सुन्तली नै हुन् । एउटा घर बनाउन नसक्ने हाम्रो समुदायलाई एकैसाथ ४७ वटा घर बनाएर हस्तान्तरण गर्नु चानचुने कुरा होइन । हामीले सपनामा पनि देखेका थिएनौँ, यो खुसी,” पुुलकित हुुँदै सुनाए उनले ।

०  ० ०
मध्यअसारको वर्षाले तराई डुबानको चपेटा परेपछि, बालबालिका पानीमा तैरिएका, वयोवृद्धाहरूको दुःखद् निधन भएको समाचार सुनेपछि उद्विघ्न भएर तराई झरेका हुन् धुर्मुस्, २८ साउनमै । पूर्वदेखि पश्चिम तराईसम्म पुगेर १ करोड २ लाख ९३ हजार ६३४ को राहतसमेत वितरण गरे । तिनताका उनीहरूले २ करोड २६ लाख ७५ हजार १६५ रुपैयाँ संकलन गरेका थिए ।

एक त राहत रकम बच्यो । अर्को, राहतले तत्कालिन पीडामात्रै दूर हुन्थ्यो, ओत पाउँदैनथे । चुल्हो, चौकाको समस्या झन् पेचिलो बन्थ्यो । त्यसैले फाउन्डेसनले एकीकृत बस्ती नै बनाउने गरी क्षतिग्रस्त बस्ती र ठूलो चक्लायुक्त जग्गा खाजेको परियोजना व्यवस्थापक अर्जुन न्यौपाने बताउँछन् । सुरूमा उनीहरू दक्षिण तराईकै थुप्रै ठाउँ चहारेका थिए । तर, सडकबाटो, निर्माण सामग्रीको सहज उपलब्धता र विपन्न बस्तीलाई नै प्राथमिकतामा राख्दा सन्तपुर पुगेको न्यौपानेको भनाइ छ ।

गत असोज ४ गते, धुर्मुसको जन्मदिन पारेर बस्तीको शिलान्यास गरिएको थियो । तर, बीचमै दसैँ तिहारजस्ता ठूला चाड आएकाले असोज २८ गतेदेखि मात्रै बस्ती निर्माणले तीव्रता पायो । त्यसबीचमा मुलुक निर्वाचनको महायज्ञमा होमियो । कामदारसमेत अभाव भयो । तर, बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्मको मेहनतले ११५ दिनभित्र बस्ती निर्माण गरी हस्तान्तरण गर्न सफल भए उनीहरू ।

बाढीपीडितका लागि संकलन भएकोबाट बचेको १ करोड २३ लाख ८१ हजार ५३१ र बस्तीकै लागि भनेर संकलन गरेको ३ करोड ५० लाख ८३ हजार ३८४ गरी कुल ४ करोड ७४ लाख ६४ हजार ९१५ रुपैयाँ जम्मा भयो । तर, बस्ती बनाउन कुल ५ करोड ९४ लाख ८७ हजार ३९५ खर्च भएको छ । जसमध्ये नमुना नेपाल परियोजनाबाट रकमान्तर गरी ५० लाख २२ हजार ४८० र ७० लाख बक्यौता राखेर बस्ती हस्तान्तरण गरेको न्यौपानेले बताए ।

१३ कट्ठामा बनेको एकीकृत बस्तीमा ४७ आवासीय घर, एक सामुदायिक भवन, एक क्लब घर, एक आधारभूत विद्यालय, एक मन्दिर,  भ्यु टावर, बालमैत्री, अपांगतामैत्री, पर्यावरणमैत्रीसहितको संरचना छ भने प्रत्येक घरधुरीलाई साढे तीन धुर घडेरी परेको छ । बस्तीभित्र आठवटा ट्युवेल जडान गरिएको र पानीको आपूर्ति गरिएको छ ।

के गर्छन् त धुर्मुस सुन्तली ?
परियोजना हस्तान्तरण गर्दा सर्वाधिक खुसी थिए सीताराम कट्टेल । नाम र पदको तृष्णाभन्दा पनि आफूमा कामको तिर्सना रहेको उनको उद्घोष थियो । साथै रोग, भोक, शोक नभनी हुस्सुसँग व्युँझिएर काममा खटिनुको परिणाम थियो एकीकृत सन्तपुर बस्ती ।  

सँगै उनीमाथि सबैभन्दा बढी सोधिने प्रश्न हो– अब के गर्छन् त धुर्मुस सुन्तली ?

मंगलबारै उनले यो जिज्ञासा निमिट्यान्न बनाइदिए– नमुना नेपाल परियोजना पूरा गर्ने वाचा दोहोर्याए । “अब हामी नमुना नेपालको लक्ष्य पूरा गर्छौं । सरकाले समृद्ध नेपालको सपना पूरा गरोस्,” उनले भने ।

साथै उनले पुनर्निर्माण धीमा गतिमा भइरहेकोतर्फ संकेत गर्दै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई नै मञ्चमा राखेर प्रश्न गरे, “यो कछुवा गतिको पुनर्निर्माण कहिले सकिन्छ ? पीडितका छोरानाती पनि नयाँ घरमा बस्न पाउँदैनन्, हो ?”

धुर्मुसभन्दा अघि नै बोलेका सीईओ युवराज भुसालले रकम अभाव भएको बताउँदै पुनः दाता सम्मेलन आयोजना गर्नुपर्ने तर्क गरिसकेका थिए ।
पुनर्निर्माण प्राधिकरण गठन भएयता नै धुर्मुस सुन्तलीले तीन बस्तीसहित १७० घर निर्माण गरिसकेका छन् । त्यस्तै धुर्मुसले सरोकारवालाले दृढ इच्छाशक्ति देखाएको र आफ्नो कर्तव्य पूरा गरेको भए फाउन्डेशनले चार बस्ती बनाउनै नपर्ने भन्दै सरकारको कामकारवाहीबारे कटाक्षसमेत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro