रौतहट । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरणका लागि तयार भएको छ । कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि बस्ती निर्माण गरिएको हो । सुविधासम्पन्न ४७ वटा घर आज राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गरेकी छन् । राष्ट्रपतिले बस्तीका सत्यनारायण माझीलाई चावी हस्तान्तरण गरेकी थिइन् ।
गत असोज ४ गते शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन् । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैँ खटेर काम गर्दै आएका थिए ।
यो एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मसले बताए । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो ।