चन्द्रपुर (रौतहट) । सोमबार मुसहरहरूको महत्त्वपूर्ण पर्व माघी हो । तर, रौतहट देवाही गोनाही तथा गुजरा नगरपालिकामा माघीको कुनै उत्साह छैन । वर्षायाममा बाढीको कहर र शिशिरयाममा शीतललहर झेलेका मुसहर समुदायमा कुनै उत्साह नदेखिएको हो ।
आइतबार स्थलगत रिपोर्टिङ गर्न देवाही गोनाही–२ लक्ष्मिनिया पुग्दा हरिन्द्र माझी पिल्पिलाउँदो मुख पारेर बसेका थिए । “बस्तीका बूढाबूढीलाई चिसोबाट जोगाउन सकिएलाजस्तो छैन, बालबालिकाको अवस्था पनि त्यस्तै छ । घाम नलागेको १५ दिनभन्दा बढी भयसक्यो । साह्रै समस्यामा छौँ,” उनले पीडा सुनाए ।
७९ घर रहेका बस्तीमा अहिलेसम्म सरकारको तर्फबाट कुनै राहत नआएको उनले दुखेसो पोखे । “एउटा संस्था आएर कम्बल बाँडेको थियो । सरकारले दाउरा र लुगा दिँदैछ भन्ने हल्ला सुनेका हौँ तर यहाँ आइपुगेको छैन,” उनले थपे ।
बस्तीमा चिसो बढेपछि पराल बालेर सुत्न थालेको उनले जानकारी दिए । वर्षायाममा लाल बकैयाको बाढी पसेर क्षतविक्षत बनाएको बस्ती शीतलहरबाट पनि उस्तै प्रताडित बनेको उनले बताए ।
करिब ३०० जनसंख्या रहेको टोल अत्यन्त पिछडिएको र बस्तीका मुसहरको आम्दानीको राम्रो स्रोत नभएकाले न्यानोको जोहो गर्न नससिकएको उनको भनाइ छ । चिसोले प्रसूति, वृद्धवृद्धा र बालबालिका बढी समस्यामा रहेको र उनीहरूलाई तत्कालै राहत चाहिएको उनको भनाइ थियो ।
चिसोका कारण मानिसमात्र होइन, पशु चौपायासमेत मर्कामा परेका छन् । बाख्रा, गाईभैँसीमा पनि समस्या देखिन थालेको र कतिपय पशुचौपाया चिसोले कठ्यांगिएर मर्नसमेत थालेको माझीको भनाइ छ ।
त्यस्तै समस्या छ, गुजरामा पनि । वर्षामा बाढीको चपेटामा परेका बस्तीहरू चिसोको उच्च जोखिममा परेको राष्ट्रिय मुसहर उत्थान समाजका केन्द्रीय उपाध्यक्ष नथुनी माझी बताउँछन् । हालसम्म चिसोका कारण हालसम्म तीन जना मुसहरको निधन भइसकेको उनले बताए । गुजरा नगरपालिकामा हालसम्म दुई जना मुसहरको निधन भइसकेको छ ।
“चिसोकै कारण मुसहरले ज्यान गुमाउँदा पनि प्रशासनले सनाखत पर्खिइरहेको छ । हामीले नाम टिपाइसकेको छौँ,” उनले भने । उनका अनुसार रौतहटमा सबैभन्दा प्रताडित मुसहर समुदाय छन् । रौतहट जिल्लाभरि ५८ वटा मुसहरको गाउँ छ । ती सबै गाउँमा मुसहरको अवस्था दयनीय रहेको छ । ज्याला गरेर गृहस्थी धानेका मुसहर समुदायका वृद्धवृद्धा र बालबालिका उच्च जोखिममा रहेको उनको भनाइ छ ।
प्रशासन भन्छ– ‘न्यानोको प्रवन्ध भएको छ’
चिसोको अत्यधिक चपेटामा परेको रौतहटमा आइतबारसम्म चिसोकै कारण १९ जनाको ज्यान गएको सरकारी तथ्याङ्क छ । “आइतबारसम्ममा ७ पुरुष र १२ महिला गरी १९ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना एक वर्ष मुनिकी बालिका छिन् । निधन भएका वृद्धवृद्धा ५० वर्षभन्दा माथिका छन्,” प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बाह्रखरीलाई जानकारी दिए ।
उनले चिसोको जोखिमयुक्त ठाउँहरूको पहिचान गरी पहिलो चरणमा दाउरा वितरण गरिएको बताए । त्यस्तै गाउँनगरका प्रमुख, उपप्रमुखको नेतृत्वमा रहेको स्थानीय विपद् व्यवस्थापन समितिलाई सक्रिय गराएर न्यानो वितरणमा समन्वय गरिरहेका जानकारी दिए । त्यस्तै मृतक परिवारलाई राहत वितरण गरिरहेको भन्दै हालसम्म ७ जनाको परिवारलाई राहत पुर्याइसकेको जानकारी दिए । थप परिवारलाई पनि केही दिनभित्रै राहत उपलब्ध गराउने गरी संयन्त्र परिचाल गरिएको उनको प्रष्टोक्ति छ ।
मृतकमध्ये वृद्धवृद्धा र एकल पुरुष महिला
चिसोबाट ज्यान गुमाउनेमध्ये अधिकांश एकल (विदुर) पुरुष र एकल महिला रहेको बताउँदै चिसोबाट बच्न सावधानी अपनाउन र वृद्धवृद्धाको स्याहारमा जुट्न अनुरोधसमेत प्रजिअले गरे । “प्राकृतिक प्रकोपबाट बचाउने राज्यको दायित्व त हुन्छ नै, परिवारको पनि कर्तव्य हुन्छ । यसमा सबैले विचार पुर्याऔँ । वृद्धवृद्धालाई न्यानोमा राखौँ,” उनको आग्रह छ ।
उनले जिल्ला दैवी प्रकोप उद्धार समितिले विशेष गरेर वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट जोगाउने प्रयत्न गरिरहेको दाबीसमेत गरे ।
१ लाख जनसङ्ख्यालाई १५५ थान ज्याकेट
तराई–मधेसमा तत्काल राहत पुर्याउने सरकारले निर्णय गरे पनि सो बमोजिम सामग्री र रकम निकासा नभएको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले जानकारी दिए । “चन्द्रपुर नगरपालिकाका लागि १५५ थान ज्याकेट आएको छ । शीतलहर पीडितको संख्या झन्डै एक लाख छ, कतिलाई ज्याकेट दिनू, त्यसै थन्क्याएर राखेको छु,” उनले बाह्रखरीसँग भने ।
सरकारले दाउरा दिने बताए पनि वन विभागले दाउरा नदिएको गुनासो उनले गरे । “हामीले माग्न जाँदा छैन भन्छ, किन्न जाँदा भटाभट दिन्छ,” उनले भने ।
उनले पूर्वतयारी नहुँदा र नगरपालिकामा बजेट नहुँदा शीतलहरको चर्को मारमा पर्नुपरेको बताए । “भर्खर परिषद् बस्दैछ । चालु वर्षमा त्यसप्रकारको बजेटै छैन । पीडा हुँदाहुँदै पनि केही गर्न सकिएको छैन,” उनले लाचारी व्यक्त गरे ।
पहुँच हुनेले लगे दाउरा
नगरपालिकाले एक हप्ताअघि दाउरा बाँडेको भए पनि त्यो प्रभावकारी नभएको स्थानीय नथुनीको गुनासो छ । नगरपालिकाले पीडित बस्तीमा आफ्ना प्रतिनिधि लगाएर वितरण गर्नुपर्नेमा चोकमा थुपारिदिएको र त्यहीँबाट पहुँच हुनेले उठाएर लगेको भन्दै उनले दुःखेसो पोखे ।
“पीडित बस्तीसम्म दाउरा आएकै छैन । न्यानो कपडा त झन् कहिले आउने हो ?” उनको प्रश्न थियो । सरकारको पूर्वतयारी नहुँदा मुसहरलगायत गरिब बस्ती चपेटामा पर्ने गरेको उनले आक्रोश पोखे । यथाशीघ्र पीडितको बस्तीमा पुग्न पनि सरकारलाई उनले अनुरोध गरे ।
यो पनि