site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्लाहीमा बसले भ्यानलाई ठक्कर दिँदा एकजनाको मृत्यु, आठ घाइते
प्रतीकात्मक तस्बिर ।

बरहथवा (सर्लाही) । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको रानीगञ्जमा सोमबार बसले ठक्कर दिँदा भ्यानमा सवार एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

लालबन्दी बजार आउँदै गरेको ना ६ ख ७२२७ नम्बरको यात्रुवाहक भ्यानलाई लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा विपरीत दिशाबाट आएको ना १ ज २६४५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट भ्यानमा सवार लालबन्दी नगरपालिका–१७ ठेगाना भएकी २२ वर्षीया सोना पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगतै उद्धार गरी उपचारका लागि लालबन्दी मोडेल अस्पताल पुर्‍याए पनि युवतीलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । भ्यानमा सवार थप आठजना घाइते भएका छन् । उनीहरूको लालबन्दीको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

दुर्घटनालगत्तै बस चालक फरार रहेको र खोजी भइरहेको प्रनाउ राईले बताए । दुर्घटनामा संलग्न दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्