विशेष
काठमाडौं । भूकम्प पीडितका नाममा करोडौं रकम उठाएर हिनामिना गरेको भेटिएपछि प्रहरीले एक गैर सरकारी संस्थाका संचालकलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । २०७० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा दर्ता भएको बुद्धिष्ट जनअधिकार मन्चले भूकम्प पीडितका नाममा उठाएको रकम संस्थाका केही पदाधिकारीले हिनामिना गरेको उजुरी परेपछि संस्थाका अध्यक्ष सकुन शेरचन र महासचिव अमरकान्त चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराले पक्राउ गरि अनुसन्धान अघि बढाएको हो । भूकम्प पीडितलाई राहत दिने भन्दै अमेरिकाको गो फाउण्ड मि नामक संस्था, दुवईको मेकात्री नामक गैर सरकारी संस्था र विभिन्न देशमा बसोबास गर्ने ब्यक्तिहरुबाट रकम संचालन गरी हिनामिना गरेको भेटिएपछि ब्यूरोले अनुसन्धान अघि बढाएको ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले बताए । उनीहरुले भूकम्प गए यता ३ करोड १७ लाख भन्दा बढी रकम उठाएर एक करोड मात्र पीडितलाई बाँडेर अरु सबै रकम हिनामिना गरेको उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनले बाहखरीसँग भने “पीडितका नाममा उठेको रकम संस्थाका पदाधिकारीले मिलेर खाएको भन्ने उजुरी परेका कारण ब्यूरोले अनुसन्धान अघि बढाएको हो ।”
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७३ १७:१७
प्रतिक्रिया दिनुहोस्