
काठमाडौं । हवाई उद्यमी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित ‘बाइ द बुक’ सार्वजनिक भएको छ । शनिबार ललितपुरमा एक कार्यक्रमका बीच पुस्तक सार्वजनिक भएको हो ।
कार्यक्रममा कर्मचारी सञ्चयकोषका पूर्वप्रमुख प्रशासक संसारभक्त श्रेष्ठ, हिमालयन बैंकका सीईओ अशोक शमशेर जबरा र श्रीमती सुनिता बस्नेतले संयुक्तरुपमा विमोचन गरेका हुन् । कार्यक्रममा लेखक बस्नेतले आमा आशारानीबाट पुस्तक र आशीर्वाद ग्रहण गरेका थिए ।
“यो अनुशासनसँग जोडिएको पुस्तक हो, यहाँ आफ्नोभन्दा पनि बुद्ध एयरलाई केन्द्रमा राखिएको छ । आज २८ वर्षदेखि अनवरत अगाडि बढिरहेको छ,” बस्नेतले भने, “किताब लेखिनुको कारण व्यवस्थापन नै हो । हामीले नव उद्यमी, व्यवस्थापनका विद्यार्थी लक्षित किताब निकालेका हौँ ।”
उनले वायुसेवा उद्योग एकदमै जोखिमपूर्ण उद्योग भएको बताउँदै यसमा धेरै नियमका कुरा आउने बताए । सन् १९९७ मा चार जनाबाट सुरु भएको वायुसेवा अहिले १५–१६ सय कर्मचारी रहेको बताए । बुद्ध एयरसँग अहिले १८ वटा एटीआर र देशका ४० भन्दा बढी हवाइ गन्तव्यमा उडान गरिरहेको छ ।
पुस्तक विमोचन समारोहमा पत्रकार बसन्त बस्नेतले लेखक बस्नेतसँग कुराकानी गरेका थिए ।
कुराकानीका क्रममा लेखक बस्नेतले बुद्ध एयर एउटा नियमसंगत तरिकाले चलिरहेको कम्पनी भएको बताउँदै त्यसैले पुस्तकको नाम नै ‘बाइ द बुक’ राखिएको बताएका थिए ।
पत्रकार विजयकुमार पाण्डेले पुस्तकका बारेमा बोल्दै प्रश्न गरे– व्यक्तिले संस्था बनाउँछ कि संस्थाले व्यक्ति बनाउँछ ?” उनले यसको सम्बन्ध बडा रोचक रहेको बताए । उनले भने, “तपाईंले बुद्ध एयर बनाएको कि बुद्ध एयरले तपाईंलाई ?”
उनले संस्था साच्चिकै संस्था भएपछि अटो पाइलटमा चल्ने बताए ।