
अमित सङ्ग्रौला
तिमी त आमा हौ,
स्नेह र ममताको
छाया हौ
तिमीलाई देखेर
करोडौँको मन रमाउँछन्
तिमी त हरेक मौसममा
फुल्ने फूल हौ,
सुवास हौ,
जिन्दगीको रङ र
सुन्दरता हौ
हो,
तिमीलाई देखेर
सबै कुरा भुल्छु ।
आमाको माया
अटल छ
जिन्दगीका प्रेरणा
बनेर आउँछौ
जहाँ
तिमीलाई देखेर
सुरक्षित हुन्छु,
जसले गर्दा
म बाँचिरहेको छु
तिम्रो परिवेशमा रमाइरहेको छु
यी सबै
आमाको मायाले गर्दा हो ।
तिम्रो निःस्वार्थपन,
जिन्दगीका खुसीहरू हौ
प्रकृतिको रङहरू
बनेर आउँछौ
यी कुराहरू
आमाको माया हो,
जसले गर्दा आज म
वर्तमानमा छु
तिमी धर्ती बनेर आउँछौ
हरेक कुराहरू सहन सक्छौ
प्रसव पीडालाई
सजिलोसँग पचाउँछौ
अनि,
तिमी हरेक छोराछोरीहरूको
ढुकढुकी बनेर बस्छौ ।
आमाको मन,
यो आकाश
यो धर्ती
यो जनजीवन
कस्तो राम्रो लाग्छ
जब आमा मुस्कुराउँछिन्
आमाकै तारिफमा
कति कविले
कविता लेखे
गजल लेखे
संगीत भरे
तैपनि, आमाको सौन्दर्य
अझै सृष्टिमा घटेको छैन
हो, कति पवित्र छ
आमाको निःस्वार्थ प्रेम
कति अनुपम छ
आमा भन्छिन्–
आमा बन्न कठिन छ
कहिले उकालो चढनुपर्ने
कहिले ओरालो झर्नुपर्ने
धर्तीजस्तो सहनुपर्ने
त्यसैले उनी भन्छिन्–
आमा बन्न कहाँ सजिलो छ ?
जस्तोसुकै वेदना खेपे पनि
कष्ट गरे पनि
छोराछोरीको निमित्त
उनी मरिहत्ते गरिरहेकी हुन्छिन्
आमाको मन ठूलो हुन्छ ।
(बिर्तामोड)